सदस्य सचिव बन्न एमालेमा दौडधुप

yubaraj_lamaकाठमाडौं, १५ फागुन । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी नेकपा एमालेको भागमा परेपछि एमालेमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बन्नका लागि दौडधुप शुरु भएको छ । बुधवारमात्रै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पुरुषोत्तम पौडेलले सम्हालेका छन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै अव राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव को बन्ने भन्ने चर्चा पनि शुरु भएको छ ।
हुन त राष्ट्रिय खेलकुद परिषदमा अहिले युवराज लामा सदस्य सचिवका रूपमा कार्यरत छन् । तर उनी एमाओवादीको तर्फबाट सदस्य सचिव भएकाले उनले सो पद छाड्नु पर्ने तर्क एमालेको छ । कार्यकालको हिसावले राखेप सदस्य सचिव लामाको अझै १६ महिना बाँकी छ ।
उनलाई पुष्प कमल दाहाल प्रधानमन्त्री भएको बेला चार बर्षका लागी तत्कालिन मन्त्री हितमान तामाङले सदस्य सचिवमा नियुक्त गरेका थिए । राखेप सदस्य सचिव युवराज लामाले आफनो कार्यकाल अवधि भर नछाड्ने अभिब्यक्ति दिइरहेका छन् । तर मन्त्रालय अर्कै पार्टीको जिम्मेवारीमा परिसकेकाले उनका लागी आगामी दिन त्यती सहज नहुने देखिन्छ । राखेप सदस्य सचिव लामाले खेलको स्थायीत्वको लागी पनि आफुले बाँकी कार्यकाल पुरा गर्ने बताए ।
राखेप सदस्य सचिव लामाले आफु राजनैतिक कार्यकर्ता पनि भएकाले र पार्टीले नियुक्त गरेका कारण आफनो दलको निर्णय अनुसार नै अघि बढ्ने बताए । पार्टीले छाड्ने आदेश दिएमा आफुले तत्काल पद छाड्ने पनि राखेप सदस्य सचिव लामाले बताए । कानुनी रूपले पनि आफनो कार्यकाल पुरा गर्न बाध्य भएकाले त्यसै अनुरूप अगाडी बढ्ने उनले बताए । आफनो कार्यकालमा सात जना मन्त्री परिवर्तन भइसकेकाले मन्त्री परिवर्तन पिच्छे सदस्य सचिव परिवर्तन हुने हो भने साँढे दुई बर्षको अवधिमा सात जना सदस्य सचिव बनिसक्ने तर्क पनि लामाको छ । यस्तो अस्थिरताले खेलकुदलाई थप अस्तब्यस्त बनाउने भएकाले पद्धतीका लागि पनि आफुले कार्यकाल पूरा गर्नु पर्ने उनको भनाई छ । राखेप सदस्य सचिव लामाले भने ‘एमालेका नेता तथा कार्यकर्ता साथीहरूलाई म बाँकी १६ महिना हतार नगर्न अनुरोध गर्दछु ।’ खेलकुदलाई ब्यवस्थित बनाउन मैले यो अवधिमा १२ वटा कार्यविधि बनाएर काम गरें । नेपाली खेल क्षेत्र स्थीर बन्ने प्रकृयामा भएका कारण पनि मेरो निरन्तरता जरुरी छ ।’ उनले अगाडी भने, ‘खेललाई राजीतिक अखडा बन्न दिनुहुन्न भन्ने मेरो धारणा शुरुमा पनि थियो र अहिले पनि छ ।’
कानुनी रूपमा राखेप सदस्य सचिव युवराज लामा बलियो भएपनि राजनैतिक कारणले उनलाई अप्ठेरो पर्न सक्ने राखेपका एक जना पूर्व पदाधिकारी बताउछन् । राखेप सदस्य सचिव युवराज लामाले राजीनामा दिनु पर्ने माग खेलमा सक्रिय एमालेका नेताहरूले उठाउन थालिसकेका छन् । एकातिर उनले राजीनामा दिने वा नदिने प्रसङग चलिरहदा अर्कोतर्फ एमालेमा सदस्य सचिवका लागी भने ब्यापक दौडधुप शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिव बन्नका लागी दावेदारी गर्नेहरूमा नेपाल बास्केटवल संघका अध्यक्ष लामा टेण्डी शेर्पा देखी एमालेको युवा नेता हिक्मत कार्की, त्यस्तै गरी अर्का नेता रूप नारायण श्रेष्ठ देखी गोलडेनगेट कलेजका रमेश सिलवाल सम्मको नाम चर्चामा छ । राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्वर तिम्सिना पनि यो दौडमा आफु रहेको बताइरहेका छन् ।
वर्तमान मन्त्री पौडेल एमाले अध्यक्ष झलनाथ खनाल निकट भएका कारण ओली क्याम्पका तिम्सिनाहरूको मनोवल केही गिरेको चर्चा खेलकुदमा छ । तर पनि तिम्सिनाले खेलकुदको विगतको अनुभवका कारण पार्टीले मुल्याङकन गरेर आफुलाई जिम्मेवारी दिएमा आफु तयार भएको बताए ।
तर पनि तिम्सिनाले आफुले सदस्य सचिवको लागी दावी नछाड्ने बताइरहेका छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव जीवन राम श्रेष्ठको पनि नाम पुन: चर्चामा आएको छ । एमालेका केही नेताले उनी पनि सदस्य सचिव बन्न सक्ने दावी गरेका छन् ।
तर उनले यो विषयलाई ठाडै अस्वीकार गरे । नयाँ साथीहरूलाई अगाडी बढाउनु पर्ने भएकाले आफु सो पदमा पुन नबस्ने उनले बताए । खेलकुदलाई नजिकबाट बुझेको साथीले नै सदस्य सचिवको जिम्मेवारी पाउने पूर्व सदस्य सचिव श्रेष्ठले बताए । नेपाल खेलकुद महासंघले नै यो विषयमा छलफल गरेर ब्यक्ति चयन गर्ने पनि उनले जानकारी दिए ।
तर अहिले रेशमा देखिएका मध्ये नेपाल खेलकुद महासंघका महासचिव लामा टेण्डी शेर्पा सवैभन्दा अग्रपंक्तिमा छन् । एमालेको भातृ संगठनका रूपमा रहेको खेलकुद महासंघका अध्यक्ष नै मन्त्री भएका कारण पनि टेण्डीको संभावना बलियो देखिएको हो । नेपाल बास्केटवल संघका अध्यक्ष शेर्पाले आफु सदस्य सचिवको दौडमा भएको स्वीकार्दै सो विषयमा नेपाल खेलकुद महासंघले गर्ने निर्णय आफुलाई मान्य हुने बताए ।
२०४५ सालदेखी अखिलको राजनीतिमा निरन्तर सक्रिय शेर्पाले अखिलको केन्द्रिय सचिवालयमा सात बर्ष काम समेत गरिसकेका छन् । उनले अमृत साइन्स क्याम्पसमा दुई पटक स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन् । त्यती मात्र होइन स्ववियु काउन्सिलको समेत संयोजक भएर पनि भुमिका निर्वाह गरिसकेका छन् । खेलकुद क्षेत्रकै कुरा गर्ने होल भने शेर्पा बास्केटवलका पुराना खेलाडी पनि हुन् र उनले २०५५ साल देखी विभिन्न खेल संघमा आबद्ध भएर पनि काम गरिसकेका छन् । पार्टी राजनीतिमा पनि सक्रिय भएका कारण र खेल क्षेत्रमा पनि लामो अनुभव भएकाले आफु सदस्य सचिवको दौडमा भएको शेर्पाको दावी छ । तर एमालेका अन्य नेताहरूले पनि आफुलाई उत्तिकै बलियो उम्मेदवारका रूपमा दावी गरिरहेका छन् ।

प्रतिक्रिया