पहिला शान्ति प्रक्रियालाई टुङगाउने सहमति

काठमाडौँ, २८ चैत । नयाँ संविधानका बिवादित बिषयमा प्रवेश गर्नु अघि प्रमुख राजनीतिक दलका नेताहरु शान्ति प्रक्रियालाई टुङ्ग्याउन सहमत भएका छन् ।

सिंहदरबारस्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा आज बसेको मधेसी मोर्चासहित प्रमुख तीन राजनीतक दलका नेताहरुले सेना समायोजन विशेष समिति मार्फत समायोजनको कामलाई टुङ्ग्याउने सहमति गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसंग कुरागर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई जसरी भएपनि टुङ्ग्याउने विषयमा छलफल भएको बताए ।

उनले शान्ति प्रक्रियासँग जोडिएका विषयहरुलाई निष्कर्षमा पुराएर संविधान निर्माणमा केन्द्रित हुने भन्ने विषयमा सम्भवत आजै सेना समायोजन विशेष समितिले विवादित सबै विषयलाई हल गर्ने बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाको विषयमा छलफल भएको र त्यसलाई सम्मानजनक रुपमा अगाडि बढाउनका लागि राजनीतिक दलहरु केन्द्रित हुने छौं ।’

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सेना समायोजनलाई चैत मसान्तभित्रै टुङ्ग्याउने विषयमा सहमति भएको बताए । उनले शान्ति प्रक्रियालाई अगाडि बढाइसकेपछि संविधान निर्माणको विषयमा छलफल गर्ने र आगामी जेठ १४ गतेभित्रै संविधान निर्माणको कामलाई तार्किक निष्कर्षमा पुराउने सहमति भएको बताए ।

कांग्रेस नेता रामशरण महतले पनि सेना समायोजन विशेष समितिको बैठकबाट सेना समायोजनसँग जोडिएका सबै विषय टुङ्ग्याउने सहमति भएको बताए ।

एमाले नेता भीम रावलले सेना समायोजनको विषयमा विशेष समितिमा विवादित विषयहरुमा छलफल हुने बताए ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री विजय गच्छदारले आजको बैठक महत्वपूर्ण भएको बताए । उनले भने, ‘सेना समायोजनमा देखिएका विवादित विषयहरु आजै सम्पन्न गर्ने भन्ने विषयमा सबै दलहरु सहमत भएका छन ।’

मधेसी मोर्चा सहित प्रमुख तीन दलको बैठक आजदेखि काभ्रेको धुलिखेलमा बस्ने भनिएपनि बिभिन्न कारणले बैठक सिंहदरबारमै बसेको थियो ।

प्रतिक्रिया