पहिलोपटकको संविधानसभा निर्वाचन र संविधानसभा भाग–२ का विशेषताहरूमा आधारित भिन्नताहरू केलाउने हो भने पहिलो निर्वाचन प्राकृतिक थियो, एउटा आन्दोलनको, एउटा परिवर्तनपछिको, एउटा सहमतिपछिको नियमित निर्वाचन थियो भने यसपटकको निर्वाचनलाई अप्राकृतिक, अनियमित र बाध्यताको उपज मात्रै हो भन्न सकिन्छ ।
पहिलोपटकको निर्वाचन सम्पन्न गराउनका लागि एउटा दलीय मात्रै होइन, सर्वदलीय खालको शक्तिशाली सरकार थियो भने यसपटक गैरदलीय, अप्राकृतिक, अलोकतान्त्रिक तथा कमजोर सरकारले निर्वाचन सम्पन्न गराउने जिम्मा पाएको छ र यो सरकार सर्वसम्मतसम्म पनि छैन । परिणाम सबैका सामु छ, उमेदवारी दर्ता भएको भोलिपल्ट एमाले उम्मेदवारमाथि सांघातिक आक्रमणबाट जीवन गुमाएका छन् । यो घटनाबाट सबै उम्मेदवारको सुरक्षा प्रदान गर्ने कुरा निर्दलीय सरकारका लागि ठूलो चुनौती सिर्जना गरेकोछ ।
‘जीवनमा एक युग। एकपटक मात्रै आउँछ’ भन्ने भनाइलाई आत्मसात गर्दै ०६४ सालमा पहिलोपटक नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न हुँदाको समय र आउँदो ४ मंसिर ०७० मा सम्पन्न हुने संविधानसभा निर्वाचनको समयलाई अनुभूत गर्ने महसुस गर्ने प्रवृत्ति, प्रक्रिया, उत्साह, उमंग र औचित्यमा निकै ठूलो भिन्नता छ ।
०६४ सालको संविधानसभा निर्वाचन सम्पन्न हुँदा आमनेपाली जनतामा, आमराजनीतिक पार्टीहरूमा, आममतदाताहरूमा राजनीतिक परिवर्तनको राप र ताप दुवै थियो । नेपाली नागरिकहरूका नयाँ सपना र आकांक्षाहरू उच्च र मनोबल ज्यादै उच्च थियो । नयाँ नेपालको नाराले सबै नेपालीहरूलाई लोकतान्त्रिक गणतन्त्र नेपालको सजीव, गतिशील र अग्रगामी चित्र थियो, जसले हरेक नेपालीहरूको मनमा उत्साह, उमंग र उज्यालो सपनाले डोर्याएको थियो ।
आजको दिनमा पनि राजनीतिक पार्टीहरू, तिनका शिर्षस्थ नेताहरूको मनमा उत्साह, उमंग र सपना होला,जुन सपनाले उनीहरूको निर्वाचन अभियानतिर डोर्याएकोछ र आगामी निर्वाचनको परिणामसंगै नेपालको राज्यसत्तामा हालीमुहाली गर्न पाइएला भन्ने योजना पनि होला तर ‘अगुल्टोले हानेको कुकुर बिजुली देखि तर्सिन्छ’ भन्ने नेपाली उखान सुन्दै आएका र नेपालका राजनीतिक दलहरूको दैनिक ब्यवहार भोग्दै आएका नेपाली जनताहरू, आम मतदाताहरूमा यसपटकको निर्वाचनप्रतिको आकर्षण ज्यादै न्यून छ भन्दा हुन्छ ।
नेपाली नागरिकहरूलाई निर्वाचनमा सहभागिता हुनुपर्ने वाध्यता सृजना भएकोछ र त्यही वाध्यताको परिणाम स्वरूप निर्वाचनमा मत खसाल्नका लागि मतदाताको सहभागितामा शंका गर्नु आवश्यक छैन तर नयां नेपालको नारा के का लागि कसरी कस्ले किन अगाडी सारे र त्यो नाराभित्रको असली ‘गुदी’ के हो भन्ने कुरा थाहा पाएका नेपाली नागरिकहरूको मनोवल नराम्ररी खस्किएकोछ र यसले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा ठूलो हानी पुग्दछ ।
यसको अर्थ यस पटकको निर्वाचनमा सुरक्षा जोखिमहरू बढी छन । निर्वाचन सुरक्षामा प्रश्न खडा हुने वित्तिकै आम मतदाताले निर्भयका साथ मतदान गर्न पाउलान ? वा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न होला ? प्रश्न जीवित छ र केही राजनीतिक शक्ति तथा पार्टीहरू घोषित रूपमै यसपटकको संविधानसभा निर्वाचनको प्रकृयामाथि नै गम्भिर मतभेद राख्दै त्यसलाई कुनै हालतमा सम्पन्न हुन नदिने अभियानमा जुटेका छन । यो विमतीको आवाजले पनि निर्वाचन शान्तिपूर्ण हुन सक्ला ? भन्ने प्रश्नमाथि बल पुर्याएकोछ । एकजना उम्मेदवारले जीवन गुमाएका छन भने एकजना घाइते अवस्थामा अस्पतालमा रहेका छन । कैयौ उमेदवारहरूको चुनावी प्रचारसभा विथोलिएकोछ भने कैयौ उमेदवारहरूले प्रयोग गरिरहनु भएको सवारी साधन तोडफोड र आगजनी गरिएकोछ ।
पहिलो पटकको संविधानसभा निर्वाचनमा राजनीतिक दलहरूले चयन गरेका उमेदवारहरू सहज रूपमा प्रतिष्पर्धामा गएका थिए तर यस पटक संसदीय निर्वाचनमा जस्तै आफ्नै पार्टीका उमेदवार विरुद्धको विद्रोह, बागी उमेदवारी दर्ता गर्ने, दल बदल गरेर टिकट सुनिश्चित गर्ने, धम्काउने, तर्साउने र आफना असन्टुष्टीहरू सार्वजनिक गर्ने कुरामा ठूलो प्रगति भएकोछ । यसले दलीय अनुशासन, दलीय ब्यवस्था र लोकतन्त्रतान्त्रिक शासन प्रणालीलाई जवाफदेही बनाउन सक्दैन । यो एउटा आस्था विचार र निष्ठामा आउने स्लखन हो । यसले नेपाली राजनीतिलाई कमजोर मात्रै बनाउदैन भविष्यमा ठूलो समस्या सृजना गर्न सक्छ र मतदाताको विश्वासमाथि फेरी धोका हुने संकेत पनि हो यस्तो अनुशासनहीन ब्यवहार ।
पहिलो निर्वाचनमा विगतमा चार वर्ष लगाएर निर्माण गरिएको नयां सम्विधानका मस्यौदाहरूलाई आउने संविधानसभाले कसरी ग्रहण गर्छ वा गर्दैन भन्ने प्रश्न जीवित छ । राजनीतिक दलहरूका बीचमा चुलिएको अविश्वासमा कुनै परिवर्तन आएको छैन र आगामी संविधानसभाको निर्वाचनसम्म दलीय विश्वासको वातावरण अझ खुम्चिने स्थिति विद्यमान रहेकोछ । यस्तो अवस्थामा मंसिर ४ को निर्वाचन पछि गठन हुने संविधानसभाले नयां संविधान जारी गर्न सक्ने आधारहरू सामान्य नागरिकहरूले अझै पाउन सकीरहेका छैनन ।
यस पटकको निर्वाचनको प्रचार प्रसार गर्ने समय पनि रमाइलो परेकोछ । नेपालीहरूको महत्वपूर्ण चाडपर्वहरू दशै र तिहारको वीचमा प्रचार प्रसार अघि त्रढेकोछ । दशै तिहार मनाउन देश बाहिर रहेका र देशभित्रकै विभिन्न स्थानहरूवाट घर पुग्ने मानिसहरूका बीचमा सुखदुखका कुराकानी र अनुभव आदान प्रदान संगै नेपाली राजनीतिको चर्चा हुने निश्चित छ । यो चर्चा सरकारात्मक बन्न सके त ठीकै हो तर यो राजनीतिक चर्चा दुई कारणले नकारात्मक हुने अवस्था विद्यमान रहेकोछ ।
पहिलो नकारात्मक चर्चा विदेशमा रहेका सरकारी तथ्यांक अनुसार नै झण्डै ५० लाख भन्दा बढी मानिसहरूले फोटो सहितको मतदाता नामावली बनाउन नसकेका कारणले मतदान गर्न पाउने छैनन । यो उनीहरूका लागि ज्यादै कष्टदायी अनुभव हुन सक्छ । नेपालमा मतदाता नामावली बनाएका जम्माजम्मी मतदाताको झण्डै आधा भागमा रहेको मतदाता हुन योग्य जनसंख्या यो संविधानसभाको निर्वाचनमा सहभागितावाट बञ्चित बनेकोछ र यो तथ्यमाथि नेपालका राजनीतिक दलहरू र सरकार दुबैले ध्यान दिन सकेनन् ।
दोश्रो नकारात्मक चर्चा चाहि नेपालमा राजनीतिक परिवर्तन त भयो त्यो निश्चित राजनीतिक दलका नेता र तिनका सीमित कार्यकर्ताका लागि मात्रै भएको दुखद अनुभव विदेशवाट दशै तिहार मनाउन आउने नेपाली युवाहरूले महसुस गर्नेछन किनकी विदेशमा काम गर्दाको पीडावोधले नेपालमा किन रोजगार सृजना हुन सकेन, कसले सृजना गर्नुपथ्र्यौ त्यस्तो रोजगार ? जस्ता प्रश्नहरू उठ्ने मात्रै होइनन् ,विदेशमा गएर जोखिमपूर्ण काम गरेर जीविन गुमाएका ब्यक्तिका आफन्तहरू, अंगभंग भएका ब्यक्तिका आफन्तहरूको बीचमा यो दशै र तिहारमा झर्ने आशुले नेपालमा संविधानसभा निर्वाचन र त्यस्को औचित्यमाथि प्रश्नैप्रश्न खडा गर्नेछ र सोध्नेछ ? ए महाशयहरू , खै नेपालमा राजनीतिक परिवर्तनले हामीजस्ता विदेशमा गल्लीमा गएर जोखिमपूर्ण काम गर्न वाध्य बनाउने काम किन रोकिएन ? नयां नेपाल बनाउने कुरा गथ्र्यो खै तिम्रो नयां नेपाल ?
दुईवर्षका लागि निर्वाचित संविधानसभामा ४ वर्ष जागिर खादा समेत नयां संविधान दिन सकेनौ र आज फेरी त्यही जम्वो ६ सय १ कै नयां संविधानसभाको निर्वाचन सम्पन्न गरेर नयां संविधान निर्माण गरी जारी गर्ने सुनिश्चित आधारहरू के के हुन ?? के फेरी ६ सय १ जनाले पांच वर्षका लागि रोजगारी सुजना गर्ने कारखानाकै रूपमा संविधानसभा निर्माण गरेर नेपाली जनतालाई फेरी एकपल्ट मुर्ख बनाउछौ ? निर्वाचन प्रचार प्रचारका क्रममा यस्ता थुप्रै प्रश्नहरूले दलका नेता र उमेदवारहरूको ब्लडप्रेसर बढाउने कामले दशै तिहार बित्ने अवस्था विद्यमान रहेकोछ ।
अहिले पार्टीहरूले घोषणापत्रहरू जारी गरिसकेका छन र ती घोषणापत्रहरू पनि खाश काम संविधाननिर्माण प्रकृया भन्दा पर विकास निर्माणका आश्वासनहरूले भरिएका छन । पार्टीका उमेदवारहरू खुल्ला रूपमा ‘हामीले संविधान लेख्ने होइन, संविधान त केही कानून ब्यवसायीहरूले निर्माण गर्ने हुन । हामीले त हस्ताक्षर मात्रै गर्ने हो । हाम्रो मूल काम भनेको विकास निर्माण गर्ने नै हो’ जस्ता अभिब्यक्तिहरू सार्वजनिक गरिरहनु भएकोछ । यसको अर्थ हो संविधान निर्माण गर्ने मूल कामको क्षेत्रमा फेरी पनि राजनीतिक दल र तीनका नेताहरूको ध्यान कम जाने खतरा विद्यमान रहेकोछ ।
हिजो संविधानसभा निर्वाचन हुदा ७३ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका थिए, अहिले १ सय २२ राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको सूची नै बुझाएका छन । हिजोको संविधानसभामा प्रारम्भमा २५ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व थियो भने यस पटक ५५/६० भन्दा बढी राजनीतिक दलहरूको उपस्थितिले संविधानसभाको आकार प्रकारमा ब्यापक परिवर्तन ल्याउने र त्यसको ब्यवस्थापन झन ठूलो चुनौती बन्ने स्थिति पनि सँगै देखिएका छ । यस्तो खालको समिकरणले सहमतिका साथ संविधान निर्माण गर्न मद्दत गर्ला ? आशंका जीवित छ । यसपटकको यो राजनीति मिश्रित दशै तिहारले नेपालीहरूलाई मेलमिलाप, आदरसम्मान र भाइचारापूर्ण सदभाव निर्माण गर्दै बाध्यतावस सृजना गरिएको निर्वाचन पार गरी देशमा फेरी एकपल्ट जनप्रतिनिधिमूलक सरकार र नयां संविधान निर्माण गरी जारी गर्नका लागि संविधानसभाको निर्माण प्रकृयामा सहभागिता सुनिश्चित हुन सकोस, निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न होस र स्वतन्त्र रूपमा मतदाताले आफनो मतको प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले पुरा गर्नु आवश्यक छ ।
प्रतिक्रिया