आन्तरिक रूपले पर्यटकहरू लाई रुकुम जिल्लाले पहिचान गर्नु पर्ने स्थानहरू धेरै छन । ऐतिहासीक महत्त्व बोकेको स्यालापाखाको वराहा मन्दिर, नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेतजस्ता स्थानमा पनि रुकुम पुग्ने मानिसहरूलाई थप अध्यनको विषय हुन सक्छ । ओढार, ऐतिहासिक राजाहरूको दरवारका भग्नावशेष, झुलावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउँको तामा खानी, पोखराको तातोपानी, सानोभेरीले पनि पर्यटकहरूलाई नयाँ अनुभूति दिलाउन रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबीसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगंगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपंक्षीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरूको धनि रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउँ अथवा खाममगर जातीहरूको बस्तीमा पुग्ने मानिसहरू रुकुम जिल्ला पुगेपछि ढोपाटन जान रुचाउछन् । ढोरपाटन रुकुम, वाग्लुङ र म्याग्दी जिल्लाको साझा स्थल हो । स्वदेशिहरू कम पुगे पनि विदेशी पर्यटकहरू ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि जाने गर्दछन् । ढोरपाटनको महत्त्व विदेशीले बुझे पनि हामी नेपालीले बझ्न सकेको छैनौँ ।
समुन्द्रपारका युरोपियनहरू हाम्रो भूमिमा आएर ढोरपाटनजस्ता दर्जनौँ हिमाल र प्रकृतिका आनन्दमा रमाउछन् । यहाँको फोटो आफ्नो देशमा लगेर बेच्दछन् । यहाँको प्राकृतिक अध्ययनबाट कितावहरू लेख्दछन् । कयौ संसारमा नपाइने जडीबुटी र बन्यजन्तुका बारेमा अध्ययन गर्दछन् । ढोरापाटन बाग्लुङ, म्याग्दी र रुकुम जिल्ला गरी तीन जिल्लाको भूगोलमा फैलिएको छ । ढोरपाटन शिकार आरक्षणले कुल १ हजार ३ सय २५ वर्ग किलोमिटर भूभागको क्षेत्रफल ओगटेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक बर्ष हजारौ पर्यटकलाई आकर्षण गराएको छ । नेपाल भित्र रहेका कुल १५ आरक्षणमध्ये ढोरपाटन आरक्षणको प्राकृतिक बनावट र त्यसभित्र रहेका जैविक विविधता, ३२ जातिका स्तनधारी बन्यजन्तु, १ सय ३० जातिका चराचुरुंगीहरू, १ सय ८५ जातका दुर्लभ बनस्पति तथा नावर, झारल, हिमचितुवा, घोरल, बदेल, भालु, हिमलङगुर बादर, हिमालि कालो भालु, भुक्ने मृग आदि जनावरको दृश्यावलोकन गर्न सकिन्छ । ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको प्राकृतीक सुन्दरताको काखमा रहेको ढोरपाटन सामुन्द्रिक सतहबाट २ हजार ८ सय ५० मिटर देखी पाँच हजार पाँचसमय मिटरसम्मको उचाइमा फैलिएको छ ।
लालीगुरासको फुलले सजावट हुने चैत्र, बैशाख महिनामा गोव्रेसल्ला, भोजपत्र, ठिङग्रे सल्ला, सिदुर, धुपी सल्ला र देवदारका बनस्पतिले ढोरापाटन सजावट भएको छ । प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभूती लिन चाहनेका लागी ढोरपाटन एकमात्र आरक्ष मानीन्छ । त्यहाँ पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरूलाई त्यहाँको प्राकृतिक र सांस्कृतिक सजावटले जो कोहिलाई पनि मनमुग्ध बनाउछ । ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरूमा अमेरीकि, फ्रान्सेलि, स्पेनि, बेलायति र रुसी नागरिकहरू शिकार खेल्न जाने गर्दछन् । काठमान्डौबाट टुइनेटर अथवा हेलिकप्टरको हवाई उडान अथवा काठमान्डौ–वाग्लुङ मोटर मार्ग हुँदै बाग्लुङ जिल्लाको बुर्तीबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । ढोरपाटनमा बन्यजन्तुको शिकार खेल्न नेपाल सरकारले सशुल्क अनुमति दिने गरेको छ । विदेशी पर्यटकहरू लाई दुर्लभ मानीने निलो नाउर शिकार खेल्न ८० हजार र नेपाली नागरिकका लागि जनावर हेरी कम्तिमा ५ हजार रूपैया राजश्व तिर्नुपर्दछ ।
ढोरपाटनको दक्षिण पट्टी रहेको रुद्र तालको पानि म्याग्दीको बेनिमा आएर काली गण्डकीमा मिल्दछ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रवेश गरी टकसेरा, कोल, नाथिगार, माछिमी, सिम्ले हुदै भेरी नदिमा मिल्दछ । वरिपरि हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जंगल, जंगलमुनि मैदानी भाग अनि बस्ती र कञ्चन पानीका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनकै अर्को नाम हो बादलपारीको गाँउ । ढोरपाटनको उत्तरतर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छ्रे, निल गिरी, अन्नपूर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन् । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरूलाई मनमोहक बनाउछ । ढोरपाटन पुग्ने पर्यटकहरूले धेरै प्राकृतिक विविधताको अध्ययन गर्न पाउछन् ।
पहाडी जिल्लाको विकासको लागि अहिले सबै जिल्लामा पर्यटनको विकास हुनु पर्दछ भन्ने आवाज उठन लागेको छ । यो राम्रो पक्ष हो । तर, यसलाई मुर्तरूप दिन जिल्लामा गर्नुपर्ने धेरै विकासका पुर्वाधार पूरा गर्नु पर्ने हुन्छ । त्यसतर्फ कसैले पनि ख्याल नगरेको देखिन्छ । स्थानीय उत्पादन बढाउनु पर्दछ । जिल्लामा पुग्ने पर्यटकहरूले त्यहाँको कुनै नयाँ बस्तु लिएर जान सक्ने अवस्था जिल्लाले बनाउनु पर्दछ । परम्परागत ग्रामीण भेगमा उत्पादन भएका राडी पाखी र जाजिमका घरेलु उद्योग संरक्षण हुनु पर्दछ । रुकुम जिल्लामा पर्यटनको विकास गर्नको लागि प्रचार–प्रशारको कमी भएको छ । जिविस र गाविसले आफ्नो क्षेत्रभित्र पर्ने सवै ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलको बारेमा खोज, अनुसन्धान गरेर त्यसको महत्त्वको वारेमा प्रचारमा ल्याउन सक्नु पर्दछ । रुकुम जिल्ला प्रवेश गर्ने छिन्चु–चौरजहारी, सल्यान–मुसिकोट मोटर मार्ग र भालुवाङ रोल्पा लिवाङ् हुँदै थवाङ्को बाटो भएर जान रुचाउनेहरूका लागि बास बस्ने होटल र सुरक्षाको प्रवन्ध गर्नुपर्दछ । जिल्लामा भएका चौरजहारी र सल्लेका हवाई उडान नियमित गराएर तुलसिपुर– रुकुम, भैरवा–रुकुम र पोखरा–रुकुममा समेत उडान भर्न लगाउन पर्दछ । पैदल यात्रामा उपल्लो रुकुम तकसेरा, रन्मा मैकोट पुग्ने जो कोहि पर्यटकहर लाई पनि डोल्पा पुग्ने सडकको सुधार हुन जरुरी छ । सामान्यता यी कुराहरूको सुधार भयो भने रुकुमको पर्यटन विकासमा धेरै सुधार आउने आशा गर्न सकिन्छ ।
पर्यटन भन्ने बित्तिकै हामीहरू युरोप र अमेरिका बाट आउने कैला कपाल, गोरो शरीर भएका मानिसहरू लाई सम्झन्छौ । हुन पनि हो नेपालमा सुरुमा पर्यटकको रूपमा आउने विदेसीहरूमा अमेरिकन, वेलायती, जर्मनी जस्ता मुलुकका मानिसहरू आउने गर्दथे । यसरी आउने विदेशि पर्यटकहरू पनि काठमाण्डौ, पोखरा र सोलुखुम्वु, मनाङ्, मुस्ताङ् जस्ता हिमाली जिल्लाको प्राकृतीक दृष्यावलोकन गरेर फर्कने गर्दथिए । पछिल्ला दिनहरूमा पर्यटकहरूको भ्रमण उद्देश्य फराकिलो हुँदै गएको छ । वाह्य पर्यटकहरू मात्र नभएर आन्तरिक पर्यटकहरूको संख्या पनि प्रत्येक वर्ष वृद्धि हुँदै जान थालेको छ । प्रत्येक जिल्लामा पर्यटकहरूको विकास गर्नु पर्दछ भन्ने धारणा विकास भएको छ । कतिपय जिल्लामा पर्यटकहरूलाई बस्न, खानको सुविधा दिन होमस्टे सञ्चालन हुन थालेका छन् । यसलाई रुकुम जिल्लाले पनि सिक्न जरुरी छ । यसलाई राम्रो पक्ष मान्नु पर्दछ ।
सडक यातायातले राप्तीका सबै जिल्लाको सदर मुकाम र आसपासका गाउँहरूलाई छोएको हुँदा भ्रमणमा आउने पर्यटकहरूलाई सुविधा हुँदै गएको छ । जुन सुविधा रुकुम पुग्ने आन्तरिक एवं वाह्य पर्यटकहरूले पनि रुकुममा पाउने छन् । पर्यटकीय स्थलको लागि धनी मानिने जिल्ला रुकुमको दुर्गम मानिने तकसेरा गाउँमा समेत सडक यातायात पुगेको छ । तकसेराबाट ढोरपाटन, हुकाम, मैकोट जस्ता प्राकृतिक मनोरम स्थल, हिमश्रृखंला, ताल, हिमाली वन्यजन्तु, खाम मगर जातिको संस्कृति र उनीहरूको ग्रामीण जनजीवनसमेत त्यहाँ पुग्ने पर्यटकहरूले दृष्यावलोकन गर्न सक्ने छन् । ५२ पोखरी ५३ टाकुरी भनेर पनि चिनिने रुकुम जिल्लाको स्यार्पू ताल, रुकुमकोटको कमल दह, मैकोटको पुथा हिमाल, सामझाङ हिमचुली, सिस्ने हिमाल, र मुसिकोटको ऐतिहासिक डिग्रे साईकुमारीको अवलोकन, अध्ययन र अनुसन्धान गर्न सक्ने छन् । भू–गर्वविद् अर्थात खानीसम्बन्धी रुचि हुने मानिसका लागि रुकुम जिल्लाको भ्रमण लाभदायी मानिने छ । स्यानी भेरी किनारको बिरगुमको तामाखानी जुन आजभोली बन्द भएको अवस्थामा छ । त्यसको बारेमा अध्यन गर्न पनि सकिन्छ ।
प्रतिक्रिया