चुनावचिह्नबारे अनभिज्ञ छन् मतदाता

Lucky-Chaudharyकाठमाडौं–३५, जडीबुटीनिवासी रघु श्रेष्ठलाई दुई दलबाहेक अन्य राजनीतिक दलको चुनावचिह्नबारे याद छैन । नेकपा (एमाले) को ‘सूर्य’ र नेपाली कांग्रेसको ‘रुख’ चुनावचिह्न उनले सजिलै सम्झे । तर एकीकृत नेकपा (माओवादी) को चुनावचिह्नबारे प्रष्ट्याउन सकेनन् । मंसिर ४ को निर्वाचन दौडेर आइरहँदासमेत मतदानगर्ने प्रक्रियाबारे जानकारी दिन र भोटमाग्न कोही दल, उम्मेदवार र निर्वाचन कार्यालयका कर्मचारी घरमा नआउँदा सोबारे जानकारी नभएको उनले भने ।
‘निर्वाचन कार्यालय र दलका उम्मेदवारले पनि हामीलाई चासो दिएनन्, हामी पनि राजनीतिप्रति खासै चासो राखेनौं । ०६४ सालको संविधानसभा निर्वाचनमा मतदिएर दलहरूलाई जितायौं परिणाम केही आएन । पुन: त्यस्तैहोला भनेर सोबारे जानकारीराख्ने जाँगर लागेको छैन” श्रेष्ठले प्रष्ट्याउन खोजे । यद्यपि मतदान गर्नजाने इच्छा उनले देखाए । “नयाँ संविधान त यी नेताहरूले के बनाउँथे ? मनमा झिनो आशाराखेर मतदान त गर्नैपर्ला” उनले इच्छा प्रकट गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा पर्ने जडिबुटी निवासी अर्का मतदाता मोहन गौतमलाई पनि नयाँ संविधान बन्नेबारे रत्तिभर विश्वास छैन । मन लागी–नलागी मतदातासूचीका लागि फोटो खिचाए पनि मतदान गर्नजाने नजानेमा उनी अन्यौलमै छन् । “आजसम्म कोही मतमाग्न र मतहाल्ने शिक्षादिन आएको छैन, मतदान गरेर के नै होला र † भोट दिनजानेबारे त्यति चासो छैन” उनले सुनाए । पुख्र्यौलीघर मादनपुडाँडी –९ काभ्रेमा रहेको गौतमलाई पनि प्रमुख तीनदल बाहेक कुनै दलको चुनाव चिह्न याद छैन । प्रत्यक्ष निर्वाचनमा कति दल चुनावी मैदानमा छन् भन्ने पनि उनलाई केही जानकारी छैन ।
‘काठमाडौंजस्तो ठाउँमा त मतदानबारे घरदैलो चुनावी प्रशिक्षण छैन, गाउँघरमा झन के हालत होला ?’ जिज्ञासा गर्दै गौतमले भने, “मतदान गरेर के गर्ने ? यी नेताहरूले आफ्नो भुँडीमात्र भर्छन् जनताको समस्या बुझ्दैनन् । फेरि मतदान गरेर जिताए नयाँ संविधान यिनीहरूले दिनेवाला छैनन् ।”
बलीरामपुर–६, बारा निवासी शिवशंकर ठाकुर ‘जडिबुटी’मै अरुको कपालकाटेर गुजारा गर्छन् । मतदातासूचीमा उनको नाम बाराको निर्वाचन क्षेत्र नं. ३ मै छ । उनी पूर्णत: असाक्षर छन् । उनलाई पनि एमाले–कांग्रेसको चुनावचिह्नबाहेक कुनै दलको चिह्न यादछैन । ‘गत निर्वाचनमा कांग्रेसलाई मतहालेर जिताइयो, आशालाग्दो काम गाउँमा भएन । त्यसैले अब रुखमा मत हाल्ने सोच छैन’ उनले अडान सुनाए ।
चुनावमा कति दल चुनाव लड्दैछन्, को–को लड्दैछन् मलाई केही थाहा छैन । “पढेलेखेको भए पत्रपत्रिका पढेर थाहा पाउँथे । पढ्नलेख्न आउँदैन, न त अहिलेसम्म कसैले सिकाउन नै आएको छ” उनले भने । “गाउँघरमा भएकोभए घरमै उम्मेदवारहरू भोटमाग्न आउँथे, चुनावचिह्नबारे जानकारी गराउँथे तर काठमाडौं त गाउँभन्दा पनि खतम पो रहेछ” उनले आशंका गरे । यद्यपि मतदान गर्नजाने उनले रहर सुनाए । ‘छठमा घरजान्छु त्यसपछि मतदान गरेरमात्र काठमाडौं फर्किन्छु’ उनले इच्छा देखाए ।
रौतहटको पटुहाहर्षाहा–८ मा पुख्र्यौली घरभएका राजवीर चौधरी पनि कोटेश्वर ‘जडिबुटी’मै स्टेशनरी पसलगरी गुजारा गर्छन् । उनले प्रमुख दुईदलको चुनावचिह्न ‘रुख’ र ‘सूर्य’ राम्रोसँग सम्झे । अन्य दलको चुनावचिह्न सम्झिन सकेनन् । निर्वाचनबारे पत्रपत्रिकामा र रेडियो टिभीमा प्रशस्त समाचार आउने गरेपनि खासै चासोनभएको उनले सुनाए । “यसपालि म मतदानगर्न गाउँ जाँदैन, घर आउन–जान धेरैखर्च हुन्छ, मतदान गरेपनि नेताहरूले नयाँ संविधान बनाउनेवाला छैनन्, बेकारमा खर्च गर्न को जान्छ ?” उनले निराशा प्रकट गरे ।
गाउँमै मतदाता नामावली रहेको सुनाउने चौधरी तिहारमा घरजाने योजना बनाएका छन् । तिहारपछि काठमाडौं फर्केर फेरि मंसिर ४ मा मतदान गर्न गाउँजाने अवस्था रहँदैन । “काठमाडौंमै मतदानगर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको भए निर्वाचनमा भाग लिन्थेहुँला, गाउँमै जाने वातावरण मिल्दैन” उनले भने । आजको मितिसम्म कुनै दल र उम्मेदवारले र निर्वाचन कार्यालयसमेत निर्वाचन शिक्षाबारे जानकारी दिन नआएको उनले गुनासो गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं २ स्थित जडिबुटी निवासी राजु श्रेष्ठलाई पनि एमाले र राप्रपा नेपालको चुनावचिह्न बाहेक अन्यको थाहा छैन । प्रत्यक्ष निर्वाचनतर्फ कति दल चुनाव लड्दैछन् भन्ने जिज्ञासामा उनले भने “३३ दल सुनेको छु, तर कुन–कुन दल हो थाहा छैन ।” चुनाव आउन एक महिना पनि बाँकी छैन तरपनि कोही भोटमाग्न र मतहाल्ने तरिका सिकाउन नआएको उनले गुनासो गरे । दलका नेता र उम्मेदवार घरमा भोटमाग्न आएको भए निर्वाचन चिह्नबारे पनि जानकारी हुन्थ्यौ, अहिलेसम्म कोही आएन के भएको हो ? उनले उल्टै जिज्ञासा गरे । चुनावचिह्नबारे जानकारी नभएपनि मतदान गर्न जाने इच्छा उनले देखाए ।
पढेलेखकालाई त मतपत्रमा पढेर पनि दलको चुनावचिह्नबारे जानकारी हुनसक्ला तर असाक्षर मतदाताले कसरी थाहा पाउने ? मननयोग्य विषय हो यो । मतदातालाई पर्याप्त मात्रामा निर्वाचन र मतदाता शिक्षाबारे जानकारी नहुनेहो भने अधिकांश मत बदरहुने सम्भावना रहन्छ । निर्वाचन आयोगले स्वयम् र विभिन्न संघ संस्थामार्फत् निर्वाचन र मतदाता शिक्षाका लागि अरबौं रुपिया खर्चे पनि त्यसको परिणाम मतदाता तहमा प्रभाकारी देखिएको छैन ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचन शिक्षाकाबारेमा सबै वडा र गाउँका अगुवा प्रतिनिधि तथा स्वयम्सेवकलाई प्रशिक्षण दिई गाउँ, वडा, टोलमा खटाइएको बताउनुहुन्छ । जडीबुटी–नरेफाँट चोकतिर घरदैलो कार्यक्रम कसरी छुट्न गयो त्यो विषयमा तत्काल निर्वाचन कार्यालय काठमाडौंलाई सचेत गराउने उहाँले प्रतिवद्धता जनाउनुभयो । “मतदातालाई मतहाल्ने, निर्वाचनबारे शिक्षादिने आयोगको देशव्यापी कार्यक्रम छ । त्यसका लागि करोडौं पर्चा, पम्पलेट र लाखौंलाई तालिम दिएर जिम्मेवारीसाथ क्षेत्रमा खटाइएको छ” राईले भन्नुभयो ।
निर्वाचन आयोगमा प्रत्यक्ष निर्वाचनका लागि १२७ दल दर्ता भएपनि १२४ दलका ६ हजार १४७ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । निर्वाचन अयोगकाअनुसार नेपाली कांग्रेसको ‘रुख’, नेकपा (एमाले) को ‘सूर्य’, एमाओवादीको ‘गोलाकारभित्र हँसिया हथौडा’, राप्रपा नेपालको ‘गाई’, नेकपा (माले) को ‘हँसिया र तारा’, फोरम लोकतान्त्रिकको ‘नमस्कार गरेको हात’, सद्भावना पार्टीको ‘तीर’, तमलोपाको ‘जोडा गोरु’, फोरम नेपालको ‘हातले समातेको मसाल’, राष्ट्रिय जनमोर्चाको ‘गिलास’, नेपाल मजदुर किसान पार्टीको ‘मादल’, संघीय सद्भावना पार्टीको ‘राजहाँस’, संघीय समाजवादी पार्टी, नेपालको ‘गोलाकारभित्र छाता’ चिह्न रहेको छ ।
यसैगरी थरुहट तराई पार्टी, नेपालको ‘ढक्की’, नेपा: राष्ट्रिय पार्टीको ‘खड्ग’, फोरम (गणतान्त्रिक) को ‘रेल’, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) को ‘गाग्री’, नेपाल परिवार दलको ‘साँचो’, राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘हलो’, समाजवादी जनता पार्टीको ‘चन्द्रमा’, नेकपा (संयुक्त) को ‘हँसिया’, नेपाल लोकतान्त्रिक समाजवादी दलको ‘कलम’ आदि चुनावचिह्न कायम गरिएका छन् । मतदानका लागि २४० निर्वाचन क्षेत्रमा १० हजार मतदानस्थल र १८ हजार मतदान केन्द्र आयोगले कायम गरेको छ भने १ करोड २२ लाख मतदाताले मतदानमा भाग लिइरहेका छन् ।
मंसिर ४ को निर्वाचन आउन अव केहीदिन मात्र बाँकीरहेको अवस्थासम्म मतदातालाई मतदान शिक्षबारे जानकारी दिननसक्नु विडम्बनापूर्ण हो । जडिबुटीका मतदाताजस्तै अन्य जिल्लाका मतदातालाई समेत निर्वाचन चिह्नबारे ज्ञात नहुनसक्ला । अझ गाउँघरका असाक्षर मतदातामा त्यस्तोहुने बढी सम्भावना रहन्छ । ठूलो धनराशी खर्चेर पनि निर्वाचनबारे मतदाताहरू अनभिज्ञ रहनुले निर्वाचन निश्पक्ष, स्वतन्त्र र फलदायी हुनेमा आशंका हुनजान्छ ।
निर्वाचन आयोग काठमाडौंका निर्वाचन अधिकृत शम्भु चालिसेले सबै वडा र टोलमा स्वयम्सेवक तथा कर्मचारीलाई प्रशिक्षित गरेर खटाइसकिएकाले कोही मतदाता मतदानशिक्षाबाट छुट्ननहुने दावी गर्नुभयो । “वडा कर्यालयअन्तर्गतका कर्मचारी र स्वयम्सेवकलाई सबै ठाउँमा खटाइसकिएको छ, के–कति कारणले छुट्न गयो म तत्काल सोबारे जानकारी लिन्छु” चालिसे प्रतिवद्धता जनाउनुभयो । काठमाडौंको ३५ वटै वडाका कर्मचारी तथा स्वयम्सेवकलाई तालिम दिई क्षेत्रमा खटाइसकिएको पनि उहाँले प्रष्ट्याउनुभयो ।

प्रतिक्रिया