काठमाडौ: लिग च्याम्पियन थ्रीस्टार क्लब तेस्रो संस्करणको सफल पोखरा कप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा हङकङ नेप्लिज टिमलाई २–१ ले पराजित गर्दै थ्रीस्टारले फाइनलमा स्थान पक्का गरेको हो । जितसँगै थ्रीस्टार अघिल्लो संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हङकङसँग ब्यहोरेको हारको बदला लिन सफल भएको छ । उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गराउने क्रममा थ्रीस्टारका प्रकाश बुढाथोकी र डोडोजले गोल गरे । खेलमा हङकङले सुरुवाती अग्रता लियो । सरोज दाहालले डि–बक्सभित्र फाउल गरेपछि रेफ्री लव खत्रीले हङकङलाई पेनाल्टीको अवसर दिए । प्राप्त पेनाल्टीमा भिक्टरले गोल गर्दै हङकङलाई अग्रता दिलाए । ५८औं मिनेटमा थ्रीस्टारले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । विक्रम लामाले सिक्स यार्ड बक्समा उपलब्ध गराएको उत्कृष्ट पासमा प्रकाशले गोल गर्दै थ्रीस्टारलाई खेलमा फर्काए । ६८औं मिनेटमा थ्रीस्टारले अग्रता लियो । सविन्द्रको क्रसलाई डोडोजले जाली चुमाएपछि थ्रीस्टारले खेलमा २–१ को अग्रता लियो । त्यसपछि कुनै गोल हुन नसकेपछि खेल थ्रीस्टारले जित्दै फाइनलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको हो । (सौस)
प्रतिक्रिया