दुई सय टेस्टसँगै सचिनको सन्यास

Sachin-Tendulkar-copyमुम्बई : क्रिकेटका एक सफलतम खेलाडी भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरले सबैखाले सक्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । मुम्बई इन्डियन्सले गत साता मात्रै ट्वान्टी ट्वान्टी च्याम्पियन्स लिग–२०१३ जितेस‘गै सचिनले अर्का क्रिकेटर राहुल द्रविडसँगै ट्वान्टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए । उक्त खेल द्रविडको करियरकै अन्तिम खेल थियो ।
वेष्ट इन्डिज विरुद्ध हुने दुई टेष्टको शृङ्खलापछि ४० वर्षीय सचिनले ब्याट थन्काउने छन् । वेष्ट इन्डिजविरुद्धको शृङ्खलास‘गै सचिनले दुई सय टेष्ट म्याचको कोसेढुंगा समेत पूरा गर्नेछन् । यसअघि नै तेन्दुलकरले गत डिसेम्बरमा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
टेस्ट तथा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान सचिनको नाममा छ । उनले अहिलेसम्म १ सय ९८ टेस्ट खेल्दै १५ हजार ८ सय ३७ रन बटुलेका छन् । त्यस्तै डिसेम्बरमा सन्यास लिनुअघि ४ सय ६३ एकदिवसीय खेल खेल्दै उनले १८ हजार ४ सय २६ रन बनाएका थिए ।  १६ वर्षको उमेरमा सचिनले सन् १९८९ मा पाकिस्तानविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले गत वर्ष १ सय अन्तराष्ट्रिय शतक प्रहार गर्ने किर्तिमान समेत बनाएका थिए । सचिन मास्टर ब्लास्टर, लिटिल मास्टरलगायतका दर्जनौं उपनामबाट समेत परिचित छन् । (एजेन्सी)

प्रतिक्रिया