बहुमत आए नयाँ संविधान : दाहाल

काठमाडौं, २३ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको बहमुत आएमा मात्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नयाँ संविधानका लागि एमाओवादीलाई बहुमत अनिवार्य रहेको बताए । ‘परिवर्तनकारी शक्ति एमाओवादी मात्रै हो,’ उनले भने, ‘हामीलाई बहुमत दिनुस् । हामी संविधान दिन्छौँ ।’
उनले विगतमा संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा आफूहरूबाटै कमजोरी भएको स्वीकार गरे । ‘अब त्यस्तो कमजोरी दोहोरिने छैन,’ उनले भने । अध्यक्ष दाहालले उपलब्धि रक्षा गर्न ४ मंसिरमा चुनाव आवश्यक रहेको बताए । ‘नयाँ संविधान जारी हुन नसके गणतन्त्र, संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धि गुम्ने खतरा छ,’ उनले भने, ‘संविधानका लागि एमाओवादीले जित्नुपर्छ ।’
४ मंसिरको निर्वाचन जनताको भाग्य र भविष्य निर्धारण गर्ने अन्तिम अवसर भएको उनले बताए ।

प्रतिक्रिया