बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसद्वारा पुन: अपील

congress_officeकाठमाडौं, २२ असोज । नेपाली कांग्रेसले संविधानसभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध परेका सबै बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन औपचारिक आह्वान गरेको छ । शीर्ष नेताविरुद्ध नै बागी उम्मेदवार परेपछि अप्ठेरोमा परेको कांग्रेसले सबै बागी उम्मेदवारलाई फिर्ता लिन आग्रह गरेको छ ।

नेपाली कांग्रेसद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आदर्श र मर्यादा पालना गर्दै उम्मेदवारी दिएका साथीहरूलाई उम्मेदवारी तुरुन्त फिर्ता लिन र आधिकारिक उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण साथीहरूमा अपिल गर्दछौँ ।’ कांग्रेसले आन्तरिक असन्तुष्टि एवं गुनासाहरूलाई पार्टीको सम्वन्धित संयन्त्रमार्फत सम्बोधन गरिने आश्वासन पनि बागी उम्मेदवारहरूलाई दिएको छ ।
कांग्रेसले समानुपातिकको बन्दसूचीमा हुँदै नभएका नाम रहेको भनेर पत्रपत्रिकामा आएका समाचारको पनि विज्ञप्तिमार्फत खण्डन गरेको छ । समानुपातिकको बन्दसूचीमा बागी उम्मेदवारको नाम परेको समाचार प्रकाशित भएपछि कांग्रेसले यस्तो खण्डन गरेको हो । ‘निर्वाचन आयोगमा पार्टीका तर्फबाट पेस गरिएको बन्दसूचीमा हुँदै नभएका नामहरू केही पत्रपत्रिकामा प्रकाशित भएकाले भ्रम पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया