काठमाडौं, २२ असोज । एमाले अध्यक्ष झलनाथ खनालले उम्मेदवारको सुरक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका अध्यक्ष खनालले सोमबार अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी उम्मेदवारको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्षको सरकारी निवास बालुवाटारमा सोमबार खनालले बाराका एमाले उम्मेदवार महमुद आलममाथि गोली प्रहार भएपछि चुनावी सुरक्षामा प्रश्न उठेको बताएका थिए । खनालले भेटमा शान्तिसुरक्षाका कारण आगामी चुनाव सम्पन्न हुने या नहुनेमा शंका हुन थालेको टिप्पणीसमेत गरेको स्रोतले जनाएको छ ।
रेग्मीले जवाफमा आफू चुनावी सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जवाफ दिएका थिए । ‘संविधानसभा चुनावमा समग्र शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकार तयार छ,’ रेग्मीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारका लागि थप सुरक्षा प्रबन्ध मिलाउने व्यवस्था भइरहेको छ ।’
आलमलाई गोली प्रहार भएको घटनाबारे खनालले मन्त्रिपरिषद् अध्यक्षको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘अध्यक्ष खनालले निर्वाचनमा उम्मेदवारको सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गर्नुभयो ।’ रेग्मीले उम्मेदवारको सुरक्षाका लागि सरकारले प्रभावकारी सुरक्षा नीति अवलम्बन गर्ने आश्वासन दिएका थिए । उनले सम्पूर्ण उम्मेदवारहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी कार्य भइसकेको जानकारी दिए ।
‘शान्तिसुरक्षालाई प्रभावकारी बनाउने गरी सुरक्षा रणनीति तय भई लागू गरिएको छ,’ रेग्मीले भनेका थिए, ‘सुरक्षाको विषयमा सबैबाट संवेदनशील भई सहयोग प्राप्त हुनेमा आशावादी छु ।’
अध्यक्ष रेग्मीले विभिन्न कूटनीतिक नियोगमा रिक्त पद, राष्ट्रिय मानवअधिकार आयोगलगायत संवैधानिक निकायमा रिक्त पद पूर्ति गर्ने विषयमा पनि खनालसँग छलफल गरेका छन् । यथाशक्य छिटो रिक्त संवैधानिक र कूटनीतिक नियोगमा पदपूर्ति गर्ने तयारी सरकारले गरेको छ ।
चुनावमा एकीकृत सुरक्षा रणनीति
गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले सेना परिचालन गर्न लागेको बताएका छन् ।
कैलालीको धनगढीमा सोमबार घिमिरेले निर्धारित समय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सेनाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको एकीकृत सुरक्षा योजना बनाई परिचालन गरिने जानकारी दिएका हुन् । उनले एकीकृत सुरक्षा योजना कार्यान्वयन अन्तिम चरणमा रहेको उल्लेख गरेका थिए । बारामा एमालेका उम्मेदवारलाई अराजक तत्त्वले आक्रमण गरेर त्रास फैलाउन खोजेको उल्लेख गर्दै उनले उम्मेदवार, राजनीतिक दल तथा मतदाताको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका थिए ।
प्रतिक्रिया