उम्मेदवारको सुरक्षाप्रति सरकार संबेदनशील

Baluwatarकाठमाडौं, २१ असोज । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एमालेका अध्यक्ष झलनाथ खनालबीच उम्मेदवारहरुको सुरक्षाका विषयमा परामर्श भएको छ ।
रेग्मीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) भएको भेटबार्तामा आगामी चुनावको शान्ति सुरक्षा र तयारीका विषयमा छलफल भएको हो । ‘संविधानसभा सदस्य निर्वाचन सम्बन्धी विषयका साथै समग्र शान्ति सुरक्षा, निर्वाचनको वातावरणलगायत उम्मेदवारहरुको सुरक्षाका विषयमा छलफल भएको छ,’ अध्यक्ष रेग्मीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक समितिका संयोजक समेत रहेका खनालले केही दिनपूर्व गोली प्रहार भई गम्भीर घाइते भएका बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का एमालेका उम्मेदवार महम्मुद आलमलाई गोली प्रहार भएको घटनाका विषयमा जानकारी लिए ।
‘महम्मुद आलमलाई गोली प्रहार भएको घटनाका बारेमा मन्त्रिपरिषद् अध्यक्षको ध्यानाकर्षण गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष खनालले निर्वाचनमा उम्मेदवारहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गर्नुभयो ।’
अध्यक्ष रेग्मीले उम्मेदवारहरुको सुरक्षाका लागि सरकारले प्रभावकारी सुरक्षा नीति अवलम्बन गर्ने आश्वासन दिए । उनले सम्पूर्ण उम्मेदवारहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी कार्य भइसकेको जानकारी दिए ।
‘शान्तिसुरक्षालाई प्रभावकारी बनाउने गरी सुरक्षा रणनीति तय भई लागू गरिएको छ,’ रेग्मीले भने, ‘सुरक्षाको विषयमा सबैबाट संवेदनशील भई सहयोग प्राप्त हुने मा आशावादी छु ।’
यसैबीच, अध्यक्ष रेग्मीले विभिन्न कुटनीतिक नियोगहरुमा रिक्त पद, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक निकायहरुमा रिक्त पद पूर्ति गर्ने पनि जनाए ।

प्रतिक्रिया