चुनावमा नखट्न कर्मचारीलाई धम्की

पाँचथर, २१ असोज । नेकपा–माओवादीले कर्मचारीलाई ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावमा खटिए कारबाही गर्ने धम्की दिन थालेको छ ।

चुनाव बिथोल्ने रणनीतिमा रहेको माओवादीले चुनावमा खटिने कर्मचारीलाई कारबाही गर्ने धम्कीसहितको पत्र पाँचथरका सरकारी कार्यालयहरूमा पठाएको छ । कर्मचारीलाई चुनावमा नखटाउन दबाब दिँदै सम्बन्धित कार्यालय प्रमुखहरूलाई माओवादीको स्थानीय नेतृत्वले पत्र पठाएको पाइएको छ । ‘कर्मचारीहरूलाई चुनावमा खटाए जनकारबाही गरिनेछ,’ एक माओवादी नेताले सौर्यसँग भने ।
माओवादीले धम्कीसहितको पत्र पठाएपछि सरकारी कर्मचारीहरू त्रसित भएका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भने चुनाव प्रयोजनका लागि खटिने कर्मचारीलाई विशेष सुरक्षा दिइने जानकारी दिए । ‘कर्मचारीका साथै उम्मेदवार र चुनावी कार्यक्रमलाई कडा सुरक्षाको प्रबन्ध मिलाउछौँ,’ प्रजिअ निरौलाले भने ।
चुनाव बिथोल्न आमहड्तालसमेत घोषणा गरिसकेको दल माओवादीका कार्यकर्ताले पाचथरमा अन्य राजनीतिक दलले आयोजना गर्ने चुनावी कार्यक्रममा अवरोधसमेत गर्न थालेका छन् । विभिन्न दलका चुनावी कार्यक्रम बिथोल्न थालेको माओवादीले शनिबार राप्रपा नेपाललाई अवरोध पुर्‍याएको छ । पाँचथर क्षेत्र नम्बर–१ मा राप्रपा नेपालबाट प्रत्यक्षमा उम्मेदवार बनेका सगुन लावतीलाई माओवादी कार्यकर्ताले लुंगरूपा गाविसमा कार्यक्रम गर्न अवरोध पुर्‍याएका हुन् । शनिबार भएको चुनावी कार्यक्रममा पुगेका लावतीलाई माओवादी कार्यकर्ताले लखेटेको राप्रपा नेपालले जनाएको छ ।
‘संविधानसभाको दोस्रो चुनावका लागि उम्मेदवारी दिएका सबै दलका चुनावी कार्यक्रम बिथोल्छौँ,’ माओवादीका जिल्ला सचिव प्रकाश नेउपानेले भने ।

प्रतिक्रिया