काठमाडौं, २० असोज । प्रधानसेनापति गौरव शम्शेर राणाले आफ्नो भारत भ्रमणलाई लिएर आएका समाचार र टिकाटिप्पणीको खण्डन गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयबाट आज (आइतबार) विज्ञप्ति जारी गर्न लगाई राणाले आफ्ना सम्बन्धमा तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण भएको जनाएका हुन् ।
‘विगत केही दिनयता सञ्चारमाध्यमहरुमा नेपाल र छिमेकी मुलुकहरुको सुरक्षा र सो सँग सम्बन्धित विषयबस्तुहरुमा टिकाटिप्पणी गर्दै अन्तर्वाता दिएको भन्ने समाचार तथ्यहिन र भ्रामक भएको नेपाली सेना स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सप्ताहव्यापी भारत भ्रमणका दौरान प्रधानसेनापति राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारीक अन्तर्वाता नदिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति राणाले भारत चीनसँग युद्ध गर्न आफैमा सक्षम रहेको भन्ने समाचार प्रकाशित भएपछि नेपाली सेनाले सो समाचारको खण्डन गरिएको हो ।
प्रतिक्रिया