मृत्युको खोजीमा नगरकोटी

Sagun_Shrestha‘मेरो जस्तो कथा नै किन लेख्नुपर्‍यो तिमीलाई ?’ चुरोटको सर्कोसँगै चियाप्रश्न थियो यो ।
‘हैन, महोदय, मेरो मस्तिष्क नै नगरकोटीमय भएको छ,’ उनको प्रश्नको छोटो उत्तर ।
अस्तिको दिन पाटन ढोकासँगै रहेको, सानो नभनाँै, मझौला होटलमा कथाकार नगरकोटीसँगको जम्काभेटसँगै भएको वार्ताको सानो अंश हो यो ।
‘हैन, यतिसारो मेरो कथा किन रुचाउँछस् हो ?’ फेरि उसले मलाई सोधेको थियो ।
‘तिम्रो कथा साह्रै एब्स्ट्रयाक्ट लाग्छ । म एब्स्ट्रयाक्ट चिज मन पराउँछु । यो हप्ता त म तिम्रोजस्तै कथा अवश्य लेख्छु । धरोधर्म †’ यत्तिभन्न भ्याएको थिएँ उसलाई । फेरि चुरोटको एक मुस्लो हावामा फुक्दै नगरकोटी मतिर फर्केर फिस्स हाँसेको थियो ।
३३३
आज बिहानै चेन गेटमा निकै धक्काले एकोहोरो हान्दै छ कोही । शनिबार भएकैले आज भने तीन चौथाइ बिहानको मीठो सुताइको योजना लिएर हिजो राति लडेको थिएँ । एकाबिहानै तर कुन मोरो हो कुन्नि, एकोहोरो चेन गेटमा हान्दै छ । लोडसेडिङ भएर होला घन्टी बजाउन नसकेको । आँखामिच्दै बाहिर निस्केँ । पर्दा उघारँे र चेन गेटबाट देखेँ– मोटो, गालामा मासु निकैटम्म भरिएको, कालो वर्णको– उही नगरकोटी । अचम्म लाग्यो । कसरी आएछन् बूढा घरको मेरो दैलोसम्म, मलाई विश्वास एक रती लागेन । दोस्रोपल्ट आँखा मिचेँ, कन्फर्मेसनकालागि । मेरा एक जोडी आँखा गल्ती हुन सकेनन् । ऊ नगरकोटी नै थियो ।
‘हेलो भाइ, तिमीलाई अचम्म लाग्यो होला म किन एकाबिहानै यसरी आएँ ।’ उनले चेनगेट बाहिर बसेर नै बोल्न थाले । मेरा लेखकलाई बाहिरै राखेर कुरा गर्नु मनासिब लागेन । गेट खोलेँ र उनीभित्र आए ।
३३३
‘भाइ, मैले आज तिमीलाई कतै लानु छ,’ उनी भन्दै छन् । मैले उनको कुरालाई त्यति वास्ता गरिनँ । खालि म एउटा कन्फर्मेसन पछाडि अर्को कन्फर्मेसनको तीव्रतर यात्रामा थिएँ । नगरकोटी भित्र आए । कोठामा भुइँभरि पुस्तकहरू पोखिएका थिए । संयोग के थियो भने नगरकोटीकै कथा संग्रह ‘मोक्षान्त : काठमान्डु फिभर’ त्यसको बीचमा थियो । हिजो राति हुनुपर्छ, उनको ‘मुर्कुट्टा’ कथा पुन: पढ्ने सोचले बुक सेल्फबाट झिकेको थिएँ । त्योभन्दा अगाडि कान्तिपुर दैनिकको कोसेलीमा नगरकोटीलाई पढेको थिएँ– उनको ‘द लास्ट स्टेसन’ सँगै । त्यतिखेर थाहा पाएको थिएँ, नगरकोटीले गोविन्द वर्तमानको दाहसंस्कारका लागि लिओ टोल्सटोयसँग गरेको यात्राको वर्णन रहेछ यो । तर, आज मलाई उनले कोरेको फिक्सनभन्दा उनी अकस्मात् देखापर्नु अझ बढी फिक्सन लागेको छ ।
३३३
‘भाइ, जाऔँ हिँड । खासमा म मृत्यु खोज्न बाहिर निस्केको आज,’ उनले भने ।
‘कुमार आज पनि बौलाए,’ मैले मनमनै भन्न थालेँ ।
‘साँच्चै हो भाइ । कति पात्रलाई मात्र बोकेर हिँड्ने आफैँसँग । वाक्क लाग्यो । त्यसैले आज बिहानै उठ्नेबित्तिकै निर्णयमा पुगेँ— आज भने मेरो एउटा फ्यानलाई लग्छु र आएँ तिमीलाई लिन ।’
‘अनि जाने चाहिँ कहाँ हो नि नगरकोटीजी ?’
‘पहिले बाहिर त निस्कौँ । आर्यघाटतिर जाऔँ कि जस्तो लागेको छ । लास सँगसँगै मृत्यु देख्ने रहर छ भाइ ।’
मैले बुझिनँ तर पनि स्वीकृतिमा टाउको हल्लाएँ ।
‘के हो भाइ, हिजो पनि फेरि मेरै कथा पढ्यौ कि क्या हो ? अब ‘वर्तमान’ कथाबाट निवृत्त भइहाले । कुन दिन हाम्रो पालो आउने हो ।’
‘के भन्दै छौ नगरकोटी महासय, मैले कुरो बुझिनँ नि ?’
‘वर्तमान भूत भए । उनले मृत्यु देख्न सके कि सायद नदेखेरै निर्वाण प्राप्त गरे त्यो भने थाहा भएन, तर म निर्वाण प्राप्त गर्नुपूर्व नै मृत्यु देख्न चाहन्छु । जे होस् यी कुरा छोड । जाऔं भाइ ।’
‘मैले हात–मुख धुएको छैन । फ्रेस पनि त भएको छैन,’ मैले भनेँ ।
‘मृत्यु फ्रीमा देखिन्छ, भाइ । फ्रेस हुनुपर्दैन,’ उनले यति भने र मेरो हात समाते ।
म पनि कालो लेनिनको ट्रयाक र कालै ज्याकेट लगाएर बाहिर निस्कन तयार भएँ । अघिअघि नगरकोटी, पछिपछि म । उनको आजको रूप देखेर सिँढीमा ओर्लंदै गर्दा उनको कथा ‘मुर्कुट्टा’ सम्झनपुगेँ । तर मैले धेरै सम्झन सकिनँ किनकि मेरा प्रिय कथाभन्दा कथाकार नै नजिक थिए ।
३३३
हामी तल्लो चाकुपाट भएर शफ्मूलको पुल निस्कियौँ । नगरकोटीले भनेझैँ प्रोलिटरियट मृत्युको दृश्य भेटिने ठाउँमा । आज पनि संयोग नै होला, एउटा प्रोलिटरियट मृत्यु खरानीमा परिणत हुँदै थियो । हामी पुलको बीचतिर छौँ सायद । टाढा उत्तरतिरबाट एउटा अलिक बूढोजस्तो, दाह्री झुस्स राखेका मान्छे आउँदै छन् । बिहानको नौ बजिसक्यो, घाम दुई बिहानमाथि उक्लिसक्दा पनि बूढो लालटिन बालेर केही खोजेसरी हामीतिर आउँदै छन्, अचम्म लाग्यो । जब उनी नगरकोटीको नजिकपुगे , लालटिन उनको मुखतिर नजिक लगेर भने, ‘गड इज डेड, नगरकोटी— गड रिमेन्स डेड, वी ह्याभ किल्ड हिम ।’
म छक्क परेँ, एउटा पागल जतिको मान्छेले केही दर्शन मिश्रित बोली बोल्दा, फेरि ठ्याक्कै नित्सेकै जस्तो बोली ।
‘ए नित्से ! अँ, आइपुगी सकेछौ ? म पनि यो बिहानै मेरो फ्यानससँग मृत्यु खोज्न निस्केको हुँ,’ मलाई देखाएर भने नगरकोटीले । म पनि यही अनुभव गर्न तिर लागेँ तर अचम्मचाहिँ नित्से शफ्मुलको पुलमा लालटिन लिएर एकाबिहानै आउनु नै थियो ।
‘नित्से, भगवान्को मृत्युको घोषणा गर्न सक्ने तिमीले मृत्यु पक्कै पनि देखेको हुनुपर्छ,’ उनले भने ।
‘नगरकोटी, मृत्यु देख्नु पर्दैन र जरुरत पनि छैन । तिम्रै देशको नागरिक बुद्धले देखे रे ! तर म त मृत्यु लेख्छु र बोल्छु । देख्न नसक्ने कुरा लेख्छु र बोल्छु । भगवान देख्न सकिनँ । चर्च डुलँे, मन्दिर डुलेँ , गुम्बा डुलेँ तर कतै देखिनँ । अनि लेखेँ– ईश्वरको मृत्युको घोषणा । कुनै दिन मृत्युको अदालतमा वादी र प्रतिवादी भएर पनि यही बोल्ने छु ।’
‘नित्से, तिम्रो लाल्टिन म बोकिदिऊँ,’ कुमार नगरकोटीले उनको कुरा अन्यत्रै मोडिदियो ।
‘भो पर्दैन ।’
‘हैन तिमिलाई गाह्रो भयो जस्तो लाग्छ । नभए मेरो फ्यानलाई बोकाउँदा हुन्छ ।’
मैले हात बढाएँ । नित्सेले मलाई लाल्टिन दिए । खै किन दिए कुन्नि ? म पनि नित्सेका लागि लाल्टिन बोक्न पाएर खुसी भएँ ।
‘जाऔँ फ्रेडरिक अलि परसम्म ।’
नित्से निसंकोच हामीसँग हिँड्न थाले । बाटोमा सबैले मैले बोकेको लाल्टिन र मेरो मुख हेर्न थाले । यद्दपि हामी अघि बढिरह्यौँ । बानेश्वरको चोक पुग्नै लागेका थियौँ । अलिक अग्लो दाह्री सिनित्त खौरिएको खैरेसँग भेट भयो । नगरकोटीले टाढैबाट ग्रिट गरे ।
‘गुडमर्निङ ईम्यानुअल ।’
‘गुडमर्निङ नगरकोटी, ओ मर्निङ फ्रेडरिक ।’
‘अनि इम्यानुअल कता हो ? सौन्दर्यशास्त्रीज्यू के हो, सौन्दर्यकै अध्ययनहुँदै छ क्या हो ?’ नगरकोटीले सोधे ।
‘होइन, मर्निङ वाकमा निस्केको हो । अनि नगरकोटी तिमी नि?’
‘मैले सबै वाकहरू बिर्सेँ इम्यानुअल, अब खालि सम्झेको कुरा भनेको मृत्यु हो अनि यो यात्रा यसैको खोजीमा ।’
इम्यानुअलले एक चित्त लगाएर हेरिरहे । मैले यिनी को हुन् चिनेको नै थिइनँ । मैले केही बोलिनँ ।
‘इम्यानुअल, नित्सेले ईश्वरको मृत्यु घोषणा गर्‍यो । यी देखेनौ ईश्वर खोज्दै हिँडेका यिनी । बूढाले मेरो फ्यानलाई लाल्टिन बोकाउँदै छन् ।’ नगरकोटी बोले । बूढाले सुनेनछन् । सुनेका भए नगकोटीलाई झार्थे । अनि आफ्नो प्रिय लेखकको आलोचना सुन्नु पर्दा म पनि एक चौथाइ दु:खी हुन सक्थेँ ।
‘नगरकोटी, यू ह्याभ फ्रि चोइस अव् गड । यो नै मानवताको मोरल रिक्वाएरमेन्ट हो । तिमी मान वा नमान । यो तिम्रो कुरा हो । यो तिम्रो निजत्व हो । त्यसैगरी मृत्यु पनि देख्ने, नदेख्ने तिम्रो निजत्व हो,’ उनले यतिभने—उनले आफ्नो ज्ञानको क्षेत्रको सिन्थेटिक अप्रायोररीको कुरा गर्दै छन् । जे होस् धेरै बुझ्न नसके पनि छानेर सग्लो एकवटा भाव भने पक्कै बुझेँ ।
नगरकोटी फेरि टोलाए र भने ‘इम्यानुअल, तिमी गहिरो कुरा चाहिँ गर्छौ र थाहा छैन तिम्रो सिन्थेटिक अप्रायोरी सशक्त भएर यता आउला तर आजभने हिँड मसँग ।’
इम्यानुअल कान्ट पनि बिना रोक टोक हिँड्न थाले । बानेश्वर चोक भएर अलि अघि हिँड्दै थियौँ । पीपलको बोट नजिकैबाट अलि अग्लो सेतै दाह्री भएका एक पूर्वको सन्त फकिर देखापर्‍यो ।
‘हेलो फ्रेडरिक, इम्यानुअल, एन्ड हाई नगरकोटी,’ उनले भन्यो ।
‘हाई’ मैले पनि मनमनै भनेछु । तर मैले भन्दा अगाडि नै यी तिनै जनाले भनिसकेका थिए ।
‘हेलो रजनिश अनि कस्तो चल्दै छ आजकल ?,’ फ्रेडरिकले सोध्यो ।
‘ठीकै यार । यी घुम्दै छु ।’
‘अँ हामी पनि घुम्दै छौँ । नगरकोटीले हिँडाउँदै छन् आज हामीलाई, खै मृत्यु खोज्ने रे !’
फ्रेडेरिक बोल्यो । रजनिश मुसुमुसु हाँस्न थाले ।
‘एस रजनिश, आई वान्ट टु सि डेथ,’ मेरो कथाकार बोल्यो ।
‘नगरकोटी, आइ थिंक तिमीले मृत्यु खोज्नु भनेको मृत्युसँग भयभित हुनु हो । जीवनसँग अपरिचित रहेर मृत्यु खोज्दै छौ तिमी ।’
ल बूढोले त मेरा प्रिय कथाकारलाई दर्शन पढाउन थाले । मेरा कथाकार भने निकै मजासँग सुनिरहेका छन् ।
‘तिम्रो प्रश्न जीवन र मृत्युको होइन, प्रश्न तिम्रो केवल जीवनको हो । मृत्यु त झुठ हो, नगरकोटी ।!’ उनले यति भने । मेरो कथाकार एकछिन ट्वाँ……।’
लालटिन निभ्न लागेछ ।
‘ए नगरकोटी फ्यान, हेर हेर, लालटिन निभ्न लागेछ ।’ नित्सेले मेरो हातमा भएको लालटिन समात्यो । ‘ब्रो लालटिन निभ्ला नि, अलि सम्हाल फेरि ईश्वरको खोजी त जारी नै राख्नु छ,’ नित्सेले लालटिन भित्र कपडाको बत्तीलाई अलिक माथि धकेलेर पुन: लालटिन मलाई थमायो ।
म भने मिस्टर नगरकोटीलाई हेर्दै छु ।
३३३
हामी हिँडेर पशुपति पुग्यौँ । अहिले हामी बाग्मती तिरको गुहेश्वरी पटिको किनारमा छौँ । मुत्यु हेर्न ल्याएका रे मेरा प्रिय कथाकारले तर म त मुर्दाहरू देख्दै छु केही जल्न बाँकी र केही जल्दै गरेका । मैले मृत्यु पटक्कै देख्न सकिनँ । सबैजना उतैतिर आँखा दौडाउँदै थिए ।
‘नगरकोटी मृत्यु देख्यौँ त ?,’ रजनीश बोले ।
‘अँ खोज्दै छु,’ मेरा कथाकारको आवाज ।
‘नो, डेथ इज अ कम्प्लिट फेक,’ ओशो रजनिश चिच्यायो ।
‘कथाकार, तिमी अहिले जे देख्दै छौ, त्यो मृत्यु होइन । त्यो त इन्द्रियहरूको भोगचलन गर्न नसक्ने अवस्था मात्र हो । यो इन्द्रियहरूको मृत्यु हो तर यो मृत्यु नै चाहिँ पक्कै होइन ।’
‘के भन्दै छौ रजनिश, तिमी ?’
‘हो, नगरकोटी, त्यो मृत्यु होइन, के तिमी सोच्दै छौ तिम्रो प्रिय कथाकार ‘वर्तमान’को मृत्यु भयो ? अनि यात्रीको ? धु स्वाँ शायमीको अनि अरू तिम्रा प्रिय साहित्यकारहरूको । अँह, म मान्दिन । बस मात्र इन्द्रियहरू उनीहरूको बसमा रहन सकेनन् । कुरा यति हो । त्यसैले मृत्यु एउटा कम्प्लिट झुट हो ।’
‘हामी चारैजना ट्वाँ …।’
रजनिश हामीतिरै हेर्दै छन् । म भने मिस्टर नगरकोटीलाई हेर्दै छु । उनी त ट्वाँ… । साँच्चै मृत्यु देखेको हो कि क्या हो मेरो नगरकोटीले, म चाहिँ नगरकोटी नै देखिरहेको थिएँ । डङग्रंग आवाज आयो । मैले धेरै कुरा देखिनँ । मेरा प्रिय कथाकार भुइँमा लडेको पक्कै पनि देखिनँ मैले । केही पनि देखिनँ । अनि म स्वयं देख्न सकिनँ । सायद मेरा प्रिय कथाकारको फ्यानलाई दर्शनको हृदयघात लागेको होला ।
३३३
म ब्युँझिँदा शिक्षण अस्पतालको बेड नं २०५ मा थिएँ अनि मेरा कथाकार मेरो सम्मुखको स्टुलमा । मैले बिस्तारै भने– डेथ इज अ कम्लिट फेक ।’ उनले सहानुभूतिपूर्वक स्विकारोक्तीमा टाउको हल्लाए ।

प्रतिक्रिया