बाजुरामा दश पार्टीको मनोनयन

बाजुरा, १८ असोज । संविधानसभाको दोस्रो निर्वाचनका लागि जिल्लामा १० वटा पार्टीले आआफ्ना मनोनयन दर्ता गरेका छन् ।

जसमा नेकपा एमालेबाट कर्णबहादुर थापा नेपाली कांग्रेसबाट मानबहादुर रावल, एनेकपा माओवादीबाट सहदेव बोगटी, राप्रपाबाट चन्द्र शाह, राष्ट्रिय जनमोर्चाबाट देवेन्द्र शाह, राष्टिय प्रजातन्त्र पार्टी नेपालबाट जयबहादुर गिरी, संघीय समाजवादीबाट शेरबहादुर शाही, परिवार दलबाट हरिचन्द्र पाध्या, अखण्ड नेपालबाट लालबहादुर सिहं, स्वतन्त्रबाट देव गिरीले आ—आफ्नो मनोनयन दर्ता गरेका हुन् । बाजुरामा जिल्ला निर्वाचन कार्यालयबाट १२ दलले मनोनयन पत्र बुझेर लिए पनि दश पार्टीले मात्र आफ्ना उम्मेदारका नाम दर्ता गराएको मुख्य निर्वाचन कार्यालयका अधिकृत राजेन्द्रप्रसाद आचार्यले बताए ।
बिहीबार पार्टीले कार्यकर्तासहित नारा जुलुसका साथ बिहान १० बजेबाट मनोनयन दर्ता गराउँदै कोणसभा गरी पार्टीको प्रचार सुरु गरेका छन् ।
कोणसभामा बोल्दै नेता कर्णबहादुर थापाले बाजुरामा एमाले बाहेक अन्य पार्टीको विकल्प नभएको र आउँदो चुनावमा बाजुराबाट एमाले पहिलो पार्टी हुने दाबी गरे । यता नेपाली कांग्रेसले आयोजना गरेको कोणसभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला कार्यसमिति सभापति तथा उम्मेदवार मानबहादुर रावलले मन्तव्य दिएका थिए । मन्तव्य दिँदै रावलले एमोले आफ्ना हरेक कार्यक्रममा बाधक बन्दै आएकाले यसपालिको निर्वाचनमा आफूले नै चुनाव जित्ने दाबी गरे ।
त्यस्तै, एनेकपा माओवादीका प्रत्यक्षतर्फका उम्मेदार सहदेव बोगटीले आउँदो चुनावमा एमाओवादीले उल्लेख्य मत ल्याउने बताए । मनोनयन दर्ता गर्ने क्रममा जिल्लामा नाम नसुनिएका पार्टीका नेताले समेत आफ्नो नाम दर्ता गराएका छन् । सबै दलहरूले नाम दर्ता गराउने क्रममा यता नेकपा—माओवादीले भने चुनाव असंवैधानिक भएकाले चुनावको कुनै औचित्य नभएको भन्दै चार दलको पुत्लासमेत जलाएका छन् ।

प्रतिक्रिया