गगन थापाविरुद्ध सुप्रभा

Suprabha-Ghimireकाठमाडौं, १७ असोज । कांग्रेसले संविधानसभाको दोस्रो चुनावमा उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेकी नेतृ सुप्रभा घिमिरेले कांग्रेसकै युवा नेता गगन थापाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै बुधबार पार्टी त्याग गरेकी घिमिरेले कांग्रेसकै उम्मेदवारलाई लक्षित गरी उम्मेदवारी दिन लागेकी हुन् । ‘स्वतन्त्रबाट उम्मेदवारी दिन्छु,’ उनले भनिन्, ‘मेरा समर्थकको आग्रह र मप्रति गरिएको पूर्वाग्रहविरुद्ध मेरो उम्मेदवारी हुनेछ ।’ कांग्रेस उम्मेदवारलाई लक्षित गर्दै घिमिरेले भनिन्, ‘मभन्दा कनिष्टलाई गुटबन्दीका कारण पार्टीले टिकट दियो, त्यो मैले स्वीकार गर्न सकिनँ ।’
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी घिमिरेले गुटबन्दी गरेर आफूलाई पीडित बनाएपछि पार्टी परित्याग गरेको जानकारी दिइन् । उनले तत्काल अर्काे पार्टीमा प्रवेश गर्ने या नयाँ पार्टी निर्माण गर्ने टुंगोमा भने पुगिनसकेको बताइन् । ‘तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना छैन तर नयाँ पार्टी खोल्ने सम्भावना जीवित छ,’ उनले भनिन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट अघिल्लो चुनाव जितेकी घिमिरेले यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, कांग्रेस संसदीय समितिले युवा नेता गगन थापालाई टिकट थमाएपछि उनको असन्तुष्टि चुलिएको हो । कांग्रेसले बिपी कोइरालाको आदर्श र मूल्य मान्यता छोड्दै गएको उल्लेख गर्दै उनले मूल्य र मान्यताविहीन पार्टीमा बस्न आत्माले नदिएका कारण परित्याग गरेको बताइन् ।
प्रतिमा गौतमप्रति असन्तुष्टि
काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी विद्यार्थी नेता प्रतिमा गौतमको पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विरोध गरेका छन् । क्षेत्र नम्बर दुईका नेताहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गौतमलाई असहयोग गर्ने चेतावनी दिएका छन् । क्षेत्रीय समिति सभापति उपेन्द्र कार्की, दीपक कुइँकेललगायतले गौतमलाई बहिष्कार गरेको जनाए ।

प्रतिक्रिया