खस समावेशी पार्टीद्वारा उम्मेदवार सिफारिस

धरान, ८ असोज । आगामी संविधानसभा निर्वाचनका लागि खस समावेशी राष्ट्रिय पार्टीले पूर्वका विभिन्न जिल्लामा पार्टीको उम्मेदवारको नाम सिफारिसलाई तीव्रता दिएको छ ।

‘लोकतन्त्र, बहुल संस्कृतिवादी राष्ट्रियतासहित पूर्णसमावेशीकरण’को नारा लिएर यसैवर्ष ८ साउनमा दर्ता भई निर्वाचनमा होमिएको पार्टीका ५२ जिल्लामा संगठन विस्तार गरिसकेको पार्टीले दाबी गरेको छ । खस क्षेत्रीहरूलाई आदीवासी जनजातिमा सूचीकृत गर्ने अभियानले तीव्रता पाएपछि पार्टी स्थापनाको आधार तयार भएको पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी सचिव विरेशकुमार थापाले जानकारी गराए । निर्वाचनमा प्रत्यक्षतर्फ ७० सिट र समानुपातिकतर्फ पूरै तीन सय ३५ सिटमा उम्मेदवार घोषणा गर्ने तयारीमा पार्टी रहेकोसमेत उनले बताए ।
पार्टीले सुनसरीका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । यसमध्ये क्षेत्र नं. ५ र ३ बाहेक अन्य क्षेत्रको उम्मेदवार सिफारिस गरिसकेको छ । क्षेत्र नं. १ बाट प्रत्यक्षमा पार्टी केन्द्रीय सदस्य तिलकबहादुर बस्नेत र समानुपातिकमा केन्द्रीय सदस्य ज्ञानबहादुर कटुवाल र केन्द्रीय कोषाध्यक्ष सन्तोष कार्कीलाई सिफारिस गरेको छ । क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ प्रेमबहादुर बस्नेत र भुवनसिंह बस्नेत र समानुपातिकमा परशुराम बस्नेत र भीम पौडेल सिफारिसमा परेका छन् । क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ रोहित थापा, परशुराम बस्नेत र समानुपातिकमा शिव बस्नेत, परशुराम कटुवाल, खड्गसिंह चौहान, लक्ष्मी खड्का, जानुका कार्की र कल्याणी कटुवाललाई सिफारिस गरिएको छ । क्षेत्र नं. ६ बाट प्रत्यक्षमा केन्द्रीय सदस्यहरू शिवबहादुर बस्नेत, दलबहादुर खड्का, रत्नबहादुर कार्की र श्रीमती लक्ष्मी खड्कालाई सिफारिस गरेको छ भने समानुपातिकका लागि रमेश थापा, केन्द्रीय सचिव परशुराम बस्नेत र जानुकादेवी कार्कीलाई सिफारिस गरेको छ ।
मोरङको क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ जिल्ला सदस्य इन्द्र हमाल र समानुपातिकमा सुरेन्द्र कार्की, गजेन्द्र बस्नेतलाई सिफारिस गरिएको छ । क्षेत्र नं. २ बाट प्रत्यक्षमा धनराज बस्नेत र समानुपातिकमा वीरेशकुमार थापा, भरत कार्की र सनिता कार्कीलाई सिफारिस गरेको छ । क्षेत्र नं. ४ बाट प्रत्यक्षमा कृष्ण कार्की समानुपातिकमा लक्ष्मी कार्की, कर्ण थापा र धर्मबहादुर कार्की सिफारिसमा परेका छन् । क्षेत्र नं. ९ बाट समानुपातिकमा भुपाल थापाको नाम सिफारिस गरिएको छ ।
तेह्रथुम जिल्लाको एकमात्र क्षेत्रका लागि समानुपातिकतर्फ पार्टीले केन्द्रीय सचिव धर्मराज खँड्कालाई सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा ३५ र समानुपातिकमा ६० सिटभन्दा माथि जित्ने लक्ष्यका साथ पूर्वका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने योजना रहेको पार्टीले जनाएको छ ।
पार्टीले मोरङ जिल्लामा क्षेत्रीय संगठन विस्तारको कामलाई पनि तीव्रता दिएको छ । शुक्रबार सूर्यबहादुर थापाको अध्यक्षतामा नौ सदस्य २ नं. क्षेत्रीय कार्यसमिति गठन गरेको छ । समितिको संयोजकमा धनराज बस्नेत, उपसंयोजकद्वयमा ज्ञानेन्द्र बिष्ट र इन्द्रबहादुर खड्का, सचिव प्रेमराज बुढाथोकी, सदस्यहरूमा गणेशबहादुर खड्का, जगत भट्टराई, टिकाराम बस्नेत, टेकबहादुर कार्की र नरेश कटुवाल रहेका छन् । अन्य क्षेत्रमा यसअघि नै कार्यसमिति गठन भई क्रियाशील भइसकेका छन् । सुनसरी जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति क्रियाशील रहेको केन्द्रीय सदस्य थापाले जानकारी दिए ।

प्रतिक्रिया