काठमाडौं : रेडियन्ट अन्तरस्कुल छात्र बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फको उपाधि शनिबार निम्सले जितेको छ । बाफलस्थित आयोजक रेडियन्ट स्कुलको घरेलु कोर्टमा निम्सले बिल्सनलाई ५४–३७ ले हरायो । निम्सबाट आकाश नकर्मीले सर्वाधिक २३ अंक स्कोर गरे । आकाश नै प्रतियोगिताको सिनियरतर्फ मोष्ट भ्यालुएवल प्लेयर घोषित भए । जुनियरतर्फको उपाधि जित्ने क्रममा माउन्ट गौरीशंकरले आयोजक रेडियन्टलाई स्तब्ध पार्यो । गौरीशंकरले रेडियन्टलाई ३७–२९ ले हरायो । गौरीशंकरलाई उपाधि जिताउने क्रममा फाइनलमा विनोद भुजेलले सर्वाधिक १६ अंक स्कोर गरे । विनोद नै प्रतियोगिताको जुनियरतर्फ मोस्ट भ्यालुएबल प्लेयर चुनिए । २१ भदौबाट सुरु भएको प्रतियोगितामा सिनियरतर्फ १४ तथा जुनियरतर्फ १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता टिमलाई आयोजक स्कुलका प्रिन्सिपल सूर्य केसी, काठमाडौं प्याब्सनका अध्यक्ष गोपाल आचार्यलगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया