‘पुरुषको इच्छा पुरा गर्न नसक्दा महिला हिंसा’

काठमाडौं, २१ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले महिलामाथि हुने हिंसाको जरो कारण पहिल्याएर त्यसको निराकरण नगरेसम्म जसले जतिसुकै ओठेभक्ति देखाएपनि समस्याको दीर्घकालीन समाधान नहुने बताएका छन् ।

राजधानीमा आज भएको लैगिक हिंसा निवारणः सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमनत्री भट्टराईले महिला माथि श्रृंखलाबद्ध रुपमा भइ रहेका हिंसाजन्य अपराधिक घटनाहरु कै कारण दैनिक महिलाले समस्या बेहोर्नुपरेको बताए ।

पितृसतात्मक सामाजिक सोचको रुपमा विकसित हुँदै महिला माथि पद्दतिगत विभिन्न किसिमले हिंसा र भेदभावका घटना हुँदै आएको भट्टराईले बताए । उनले लैंङ्गिक हिंसा खासगरी महिलामाथि हुने हिंसाले हाम्रो समाजलाई जरजर तुल्याएको स्वीकार गरे ।

उनले भने, ‘गरिवी, अशिक्षा र पुरातनवादी सामन्ती सोचका कारणबाट महिलामाथि हुने हिंसाले बढावा पाएको देखिन्छ ।’

महिला भएकै कारण हिंसा वा भेदभावको शिकार कोही पनि हुन नपरोस् भन्नेमा सरकार सजग रहेको भन्दै प्रधानमन्त्री भट्टराईले जुनसुकै लिङ्गका नागरिकले समान व्यवहार र समान सम्मान पाउनुपर्ने बताए ।

उनले महिलामाथि हुने भेदभाव र हिंसाले समाजमा व्यापकता पाएको भन्दै यसलाई अन्त गर्न राज्यको एक्लो प्रयास सार्थक हुन नसक्ने बताए ।

महिलामाथिको हिसा चाहे त्यो तथाकथित बोक्सीको नाममा भएको होस् वा छाउपडी, देउकी वा वादीका नाममा वा अन्य कुनै किसिमको नै किन नहोस्, त्यसको जति निन्दा गरे पनि कम हुने भन्दै प्रधानमन्त्री भट्टराईले आलोचना गरेका छन् ।

उनले महिलामाथि हुने हिंसा मध्ये मानसिक हिंसाको दर उच्च भए पनि शारीरिक र यौनजन्य हिंसाको दर कम नरहेको समेत बताए ।

हिसाका लागि मुख्यरुपमा पुरुषको व्यवहार जिम्मेवार रहने भन्दै प्रधानमन्त्री भट्टराईले बाबुले छोरीमाथि दाजुभाईले दिदीवहिनीमाथि, पतीले पत्नीमाथि गर्ने हिंसाजन्य कार्यहरु प्रमुख रहेको दाबी गरे ।

पुरुषको इच्छा वा चाहनालाई पुरा गर्न नसक्दा वा उनीहरुलाई खुसी तुल्याउन नसक्दा कतिपय महिलामाथि घरेलु हिंसाका घटना हुने गरेको प्रधानमन्त्रीको भनाई छ ।

प्रतिक्रिया