काठमाडौं, ३ असार । प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित गरी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार काठमाडौंबाहिर लागेपछि एमाले र कांग्रेसका शीर्षनेताहरू आइतबार दिनभर घरमै बसे । आइतबार बिहान ८ बजेका लागि तय भएको समितिको बैठक स्थगित गरी दाहाल र गच्छदार काठमाडौंबाहिर गएका हुन् ।
बैठक स्थगित गरी एमाओवादी अध्यक्ष दाहाल नेपालगन्ज हानिएका थिए भने समितिको संयोजक रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विराटनगर गएका थिए । चुनाव घोषणाप्रति असन्तुष्ट रहेका दलहरूलाई वार्तामा आह्वान गर्दै वार्तामार्फत उनीहरूलाई चुनावमा ल्याउने निर्णय ३१ जेठको बैठकले गरेको थियो । असन्तुष्टहरूलाई समेट्ने विषयमा छलफल गर्न आइतबार समितिको बैठक बस्ने तयारी उनीहरूले गरेका थिए ।
‘बैठक आइतबार बिहान ८ बजेका लागि तय भएको थियो, बिहानै स्थगित भएको खबर आयो,’ एमाले अध्यक्ष झलनाथ खनालको निजी सचिवालय स्रोतले भन्यो, ‘बैठक स्थगित भएको थाहा पाइनसक्दै एमाओवादी अध्यक्ष र गच्छदार राजधानीबाहिर पुगिसकेको खबर पाइएको थियो ।’ ३१ जेठसम्म उच्चस्तरीय समितिमा एमाले अध्यक्ष खनाल संयोजक थिए ।
पालैपालो नेतृत्व गर्ने पद्धतिअनुरूप असारमा समितिको संयोजकत्व मधेसी मोर्चाका तर्फबाट गच्छदारले गर्नेछन् । गच्छदारको संयोजकत्वमा आयोजित पहिलो बैठक नै स्थगित हुन पुगेको छ । एमाओवादी अध्यक्ष दाहाल संयोजक रहेका बेला सरकारले संवैधानिक निकायका प्रमुखहरू नियुक्त गर्ने सिफारिस गरेको थियो भने कांग्रेस सभापति सुशील कोइराला संयोजक रहेका बेला सरकारले समितिको सिफारिसबमोजिम संवैधानिक निकायका प्रमुखहरू नियुक्त गरेको थियो ।
त्यस्तै, एमाले अध्यक्ष खनाल संयोजक रहेका बेला एक महिनासम्मको लामो गलफत्तीपछि निर्वाचन अध्यादेश टुंग्याएर चुनाव घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । खनाल संयोजक रहेकै बेला सरकारले चुनावको मिति घोषणा गरी उच्चस्तरीय समितिको बैठकले असन्तुष्ट दलहरूलाई वार्तामा बोलाउने निर्णय गरेको थियो ।
बैठक स्थगित गरी एमाओवादी अध्यक्ष दाहाल यति एयरलाइन्सको विमान चढेर नेपालगन्ज पुगे र पार्टीले आयोजना गरेको आमसभामा जानका लागि हेलिकोप्टर प्रयोग गरेका थिए । गच्छदार र दाहाल बैठक स्थगित गरी बाहिरिएपछि एमाले अध्यक्ष खनाल र कांग्रेस सभापति कोइराला दिनभर निवासमै बसेका थिए ।
प्रतिक्रिया