हत्या छानविनका लागि न्यायिक समिति गठन

simhadarbarकाठमाडौं, ९ जेठ । सरकारले पूर्वसभासद सदरुल मिया हकको हत्या छानविनका लागि एउटा न्यायिक समिति गठन गरेको छ । पीडित पक्षले छानविनका लागि न्यायिक समितिको माग गरेपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक महिनाको समय तोकिएको सरकारका प्रवक्ता माधव पौडेलले जनाए । समितिमा महान्यायाधीवक्ता सुर्य कोइराला र प्रहरीका एआइजी दिनकर शमशेर राणा सदस्य रहेका छन् ।
सरकारले योजना आयोगको उपाध्यक्षमा रबीन्द्रमान शाक्यलाई नियुक्त गरेको छ । यस्तै अघिल्लो सरकारले गठन गरेको सुकुम्बासी आयोगलाई सरकारले खारेज गरेको छ । सरकारका प्रवक्ता पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकले जर्मन सरकारले अनुदान स्वरुप प्रदान गर्न लागेको १ अरव ९८ करोड रुपियाँ स्वीकार गर्ने निर्णय गरेको छ । करिव आधा दर्जन भन्दा बढी निर्णय गरेको सरकारले सगरमाथा आरोहण गरेको ६० बर्ष पुगेको अवसरमा ज्येष्ठ आरोही मीनबहादुर शेरचनसहित ७ जनालाई पुनः आरोहणका लागि ७० लाख बराबरको आरोहण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया