पुष्प व्यापार मेला सुरु

काठमाडौं, १६ चैत । ‘स्वच्छ वातावरण् र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबारदेखि १५औं पुष्प प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसियसन अफ नेपाल -फ्यान) को आयोजनामा भृकुटीमण्डपमा सञ्चालन हुने मेला चार दिनसम्म चल्नेछ ।
मेलामा ५३ व्यावसायिक, पाँच सूचनामूलक र दुईवटा फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी कक्ष गरी ६० वटा प्रदर्शनी कक्ष रहेको आयोजकले जनाएको छ । मौसमी फूल, आलंकारिक बोटबिरुवा, कटफ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, कृषऔजार, प्याकेजिङका सामग्री र  विषादीका प्रदर्शनी तथा बिक्री मेलाका प्रमुख आकर्षण्ाका रूपमा रहनेछ ।
पुष्प व्यवसायमा सलंग्न उद्यमीका अनुसार फूल बजारको करिब ८५ प्रतिशत माग स्वदेशी उत्पादनले धानेको छ । बर्सेनि फूलको माग बढिरहेको बताइएको छ । नेपाली फूल विदेशमा समेत निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।
हालसम्म ३५ जिल्लामा ६ सय ३५  पुष्प र्फम तथा नर्सरी सञ्चालनमा रहेको र एक सय २० हेक्टर क्षेत्रफलमा फूल व्यवसाय भइरहेको एसोसिएसनले जनाएको छ । यो व्यवसायले ४० हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराइरहेको छ । आव २०६७/६८ मा ९० करोड रुपियाँभन्दा बढीको फूलको कारोबार भएको  छ ।
पुष्प व्यवसायको विकासका लागि सरकारले अध्ययनअनुसन्धानमा खर्च नगरेको व्यवसायीको गुनासो छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष अरुण क्षेत्रीले सानो लगानीका बाबजुद पुष्प व्यवसायले अपेक्षाकृत राम्रो प्रतिफल दिए पनि सरकारले बेवास्ता गरेको बताए । फूलको माग आन्तरिक र बाह्यरूपमा बढे पनि बैंक तथा वित्तीय संस्थाले लगानीका लागि विश्वास नगरेको उनको गुनासो छ । सन् २०१०/११ मा १९ करोड रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु  निर्यात भएकोे एसोसिएसनले जनाएको छ ।
मेला उद्घाटनका अवसरमा कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथुप्रसाद चौधरीले फूलको बहुउपयोगिता बढेको भन्दै यसले उद्योगको रूप लिन थालेको बताए । सार्वजनिक निजी साझेदारीको मोडलमा पुष्प व्यवसाय अगाडि बढाउन सकिने उनको भनाइ छ । मेलाको उद्घाटन उपराष्ट्रपति परमानन्द झाले गरेका थिए ।

प्रतिक्रिया