काठमाडौं : नक्कली प्रमाणपत्र बनाएर भेटनरी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यापारी प्रहरीको फन्दामा परेका छन् ।
ग्रामीण पशु कार्यकर्ताको नक्कली प्रमाणपत्र बनाएर लामो समयदेखि भेटनरी व्यवसाय चलाउँदै आएका विराटनगरका नीरज घिमिरेलाई सोमबार महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको छ । प्रहरीले औषधि व्यवस्था विभागको सूचनाका आधारमा घिमिरेलाई महाराजगन्ज पानीपोखरीस्थित उनकै प्रभा भेट फर्माबाट पक्राउ गरेको हो । नक्कली प्रमाणपत्रका आधारमा व्यवसाय सञ्चालन गरेकाले उनलाई नक्कली प्रमाणपत्र बनाएर व्यवसाय सञ्चालन गरेको अभियोगमा कानुनी कारबाही चलाइने प्रहरीले जनाएको छ । विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा चलाइएका फर्मा खारेज गरिनेछ । ‘नक्कली प्रमाणपत्र बनाएको विषयमा उनलाई प्रहरीले सोहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनेछ,’ अधिकारीले भने, ‘हामीले औषधि पसललाई भने खारेज गर्ने निर्णय गरेका छौँ ।’
विभागका अनुसार घिमिरेले पशु तालिम केन्द्र दुहबीबाट तालिम लिएको नक्कली प्रमाणपत्र बनाएका थिए । दुहबीबाट तालिम लिएको नक्कली प्रमाणपत्र पेस गरी दर्ता गराई विराटनगरमै व्यवसाय गर्दै आएका घिमिरेले हालै काठमाडौंमा पसलको ठाउँसारी गरेका थिए । विराटगनरमै उनको व्यवसाय शंकापस्द देखिँदै आएपछि विभागको विराटनगर शाखाले पटक–पटक पसल निरीक्षण गरेको थियो ।
विभागले निरीक्षणलाई निरन्तरता दिएपछि काठमाडौंमा ठाउँसारी गरेपछि विराटनगर शाखाले पशु तालिम केन्द्र दुहबीलाई घिमिरेको प्रमाणपत्रका विषयमा जानकारी माग गरेको थियो । दुहबी केन्द्रले घिमिरेले कुनै तालिम नलिएको जनाएपछि विराटनगर शाखाले हालै मात्र काठमाडौंमा पसल सारेको घिमिरेको प्रमाणपत्र नक्कली भएको जानकारी विभागको केन्द्रीय कार्यालयमा गराएको अधिकारीले बताए । उनका अनुसार उक्त जानकारीलगत्तै विभागले प्रहरीलाई घिमिरेको पक्राउका लागि पत्राचार गरेको थियो । (सौस)
प्रतिक्रिया