काठमाडौ, २९ चैत । भुँडीभित्र लुकाएर विदेश लैजाँदै गरेको झन्डै सवा किलो चरेससहित एक अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । टुकुचे–५, नुवाकोटका वीरमान तामाङलाई मंगलबार राति अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार तामाङबाट एक सय ३२ वटा चरेसका क्याप्सुल बरामद गरिएको छ । हङकङ जाने क्रममा रहेका तामाङले क्याप्सुल पेटभित्र लुकाएर राखेका थिए । लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी केदार साउदका अनुसार तामाङले चरेसलाई चिप्लो प्लास्टिकले बेरेर क्याप्सुल बनाएर निलेका थिए । ‘बरामद चरेस प्लास्टिकले बेरिएको अवस्थामा थियो, हामीले त्यसलाई पेटबाट निकालेका हौँ,’ डिआइजी साउदले भने ।
प्रहरीका अनुसार बरामद चरेस १ किलो १३ ग्राम छ । तामाङलाई पक्राउ गरेलगत्तै महाराजगन्जस्थित प्रहरी अस्पतालमा लगिएको थियो । डाक्टरले पखाला लाग्ने औषधि प्रयोग गरी पेटभित्र लुकाएर राखिएको चरेस बाहिर निकालेका थिए । ड्रयागन एयरको विमानबाट मंगलबार राति हङकङ जान लागेका तामाङको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पटक–पटक हङकङ जाने, आउने गरेपछि प्रहरीले उनको गतिविधिलाई निगरानी गरिरहेको थियो । प्रहरीका अनुसार उनी गएको केही वर्षमा सात पटकसम्म हङकङ गएको रेकर्डबाट देखिन्छ ।
‘हाम्रो टोली विमानस्थलमा तैनाथ छ । उनीहरूले प्रत्येक व्यक्तिको प्रोफाइलको निगरानी गर्छन् । यही क्रममा उनी पनि हाम्रो निगरानीमा थिए । निकै छोटो–छोटो समयमा उनी हङकङ जाने, आउने गरेको देखियो । शंका लागेपछि पक्राउ गरियो । नभन्दै उनी तस्कर रहेको खुल्यो,’ डिआइजी साउदले भने ।
तामाङले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार उनले एकपटक लागुऔषध लगेबापत २० देखि ३० हजार रुपियाँ पाउँछन् । नेपालमा उनलाई लागुऔषध दिने र हङकङमा बुझ्ने गिरोह प्रहरीले खुलाएको छैन । ‘हामीले प्रारम्भिक अनुसन्धान मात्रै गरेका छौँ । नेपालमा रहेका गिरोहबारे पत्ता लागिसकेको छैन । हङकङमा उसले कसलाई लगेर दिन्छ, त्यसबारे पनि खुलिसकेको छैन । अनुसन्धान अघि बढाएका छौँ, केही त भेटिएला नि,’ डिआइजी साउदले भने ।
प्रहरीका अनुसार पक्राउ परेका तामाङ तस्कर गिरोहका भरिया मात्रै हुन् । उनको पछि ठूलै गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । ‘तस्करी गर्ने प्रक्रिया, चरेस प्याकिङको तरिका, पक्राउ परेका अभियुक्तले दिने बयानलगायत विषयको विश्लेषणले यसलाई पुष्टि गर्छ,’ प्रहरी स्रोतले भन्यो । तामाङलाई भारतीय नागरिकले चरेस दिएको स्रोतले जनाएको छ । हङकङमा पनि उक्त लागुऔषध भारतीय नागरिकले नै लिने प्रारम्भिक बयानबाट खुलेको प्रहरी स्रोतले बतायो ।
प्रतिक्रिया