कला क्षेत्रको विकृति रोक्न लोक सञ्चारकर्मी नेपालले गरायो गृहमन्त्री लेखकको ध्यानाकर्षण

साइबर अपराध हेर्ने फोकल पर्सन तोक्ने प्रतिबद्धता

काठमाडौं । गीत संगीतमा भइरहेको छाडापन तथा विकृति रोक्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । बिहीबार लोक सञ्चारकर्मी नेपालले लोक तथा दोहोरी गीत, तिज गीतका नाममा फैलिइरहेको विकृति तथा विसंगति नियन्त्रण र नियमनको विषयमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएको हो ।

बिहीबार मन्त्रालयमा भएको भेटमा अध्यक्ष चन्द्रमणी गौतमको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले गृहमन्त्री लेखकलाई तिज गीतको नाममा सामाजिक मर्यादा, सांस्कृतिक मूल्य, नैतिकता र परम्पराविरुद्धका गतिविधिहरू भइरहेकाले त्यस्ता कार्यको नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्री लेखकलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष गौतमले यथाशिघ्र विकृति रोक्नका लागि प्रक्रिया अघि बढाउन आग्रह गरे । ध्यानाकर्षणमा अश्लील, भड्काउ, अपमानजनक तथा विकृत गीत–संगीतहरूको अनुगमन तथा रोकथामको लागि अधिकार सम्पन्न मौलिक कला संस्कृती संरक्षण तथा गीत संगीत विकास वोर्ड आवश्यक रहेकाले माग गरेका छन् ।

त्यस्तै, सामाजिक सञ्जाल र युट्युबजस्ता डिजिटल प्लेटफर्महरूबाट सार्वजनिक हुने गीतहरूमा पूर्व स्वीकृति प्रणालीको विकास, लोक संस्कृति, परम्परा र नारी सम्मान प्रतिकूल सामग्री उत्पादन तथा प्रसारण गर्ने सर्जक, गायकगायिका र निर्माता–निर्देशकलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न मागसमेत गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझेपछि गृहमन्त्री लेखकले डिजिटल प्लेट फर्ममा गीत संगीतको माध्यमबाट गलत गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणका लागि साइबर ब्यूरोअन्तर्गत फोकल पर्सन तोकेरै काम थाल्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याल समेत उपस्थित थिए । अर्यालले विद्युतीय कारोबार ऐनलाई टेकेर गीत संगीतको नाममा विकृति फैलाउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने बताए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कडेँलले महिलाहरुको स्वतन्त्रताको प्रतिक मानिदै आएको तीजमा समेत विकृती भित्रनुमा चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीले बुझाएको ध्यानाकर्षणका बुँदा कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

संस्थापक अध्यक्ष गोविन्द गिरीले मौलिक संस्कृति र रैथाने विउविजन लोप हुदैँ जानु राज्यकै साख घट्नु भएकाले त्यसको संरक्षणमा राज्यको उपस्थिति बलियो बन्नुपर्ने विचारु राखे । निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले गीत संगीत क्षेत्रको शुद्धिकरण र संस्कृति संरक्षणका लागि सेन्सर बोर्ड स्थापना गर्न माग राखे ।

अध्यक्ष गौतमले लोक सञ्चारकर्मीले आफ्नो दायित्व सम्झेर विगतका वर्ष देखि नै विकृतीन्मूख गीत संगीतको प्रकाशन र प्रसारणमा बन्देज लगाउदै आएको जानकारी गराउदै संस्कृति संरक्षणमा राज्यले मूर्त कदम चाल्न आग्रह गरे ।

गृहमन्त्रीसँगको भेटमा संस्थाका वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, सचिव कमल सरगम, प्रचार विभाग प्रमुख गोपिकृष्ण चापागाई, कोषाध्यक्ष शरण हुमागाई, सदस्य द्धय विनिता कुँवर, सिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया