काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तिज गीतदेखि विभिन्न लोकदोहोरी क्षेत्रका विभिन्न अश्लील तथा अपाच्य गीतहरुप्रति आपत्ति जनाउँदै त्यस्ता गीतहरुलाई प्रतिबन्ध लगाउनुका साथै यसमा संलग्न जोकोही कलाकारलाई कारवाहीको पहल थालेको छ ।
विशेष गरेर पछिल्लो समय तिजलाई लक्षित गरेर बजारमा सार्वजनिक भएका त्यस्ता गीतहरुलाई बन्द गर्न–गराउन र सम्बन्धित निकायमा पत्राचार गरिएको लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले बताए । तीजलाई लक्षित गरी सार्वजनिक भएका दुईवटा गीतलाई प्रतिबन्ध गरेको समेत उनले जानकारी दिए ।
एक प्रेस विज्ञप्ति जारी गर्दै मौलिक परम्परलाई प्रहार गरेको भन्दै दुई गीतलाई प्रतिबन्ध गरेको उनको भनाई छ । ‘गाई कालो, गाईको दुध सेतो’ र ‘सल्ला दमारमा’ बोलका यि दुई गितलाई प्रतिबन्ध लगाएको अध्यक्ष गौतमले बताए । प्रसारण तथा प्रकाशनमा प्रतिबन्ध लगाउने गरी लोक सञ्चारकर्मी नेपालले ध्रुव पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको गाई कालो र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको सल्ला दमारमा गितलाई रोक लगाएको उनले जानकारी दिए ।
‘यस्ता गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब, तथा सामाजिक सञ्जाल लगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई संस्थाले अनुरोध समेत गरेको छ’, अध्यक्ष गौतमले भने ।
अध्यक्ष गौतम र सचिव कमल सरगमको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘तिज पर्वमा विकृति र अश्लीलता फैलाउने गीतहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ, पवित्र नेपाली पर्वहरूमध्ये एक प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीतसंगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीहरूप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ ।’
छाडा र अश्लिल दुईवटा तीज गीत प्रतिबन्ध लगाइसकेपछि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको टिम गृहमन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकलाई भेट्न जाने तयारीमा रहेको र ध्यानाकर्षण गराउने प्रवक्ता शिखर श्रेष्ठ (गजरकोटे) ले बताए ।
उनले भने, ‘तीज मूलतः नारी सशक्तिकरण, धार्मिक आस्था, सामाजिक एकता र संस्कृतिक सम्मानको पर्व हो, यस पर्वको सांगीतिक प्रस्तुतिमा मौलिक लोकधुन, सन्देशमूलक भाव र समुचित भाषा–शैलीले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ, तर पछिल्ला वर्षहरूमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाहरूले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेका छन्, जुन अत्यन्त निन्दनीय छ ।’
प्रवक्ता श्रेष्ठले तिज मात्रै नभई अन्य समाजमा नपच्ने जुनसुकै गीतहरुविरुद्ध पनि राष्ट्रिय लोक सञ्चारकर्मी लागिपर्ने र कारवाहीको पहल गर्ने बताए ।
प्रतिक्रिया