प्रहरी हिरासतबाटै डांका फरार

hatkadi

रोल्पा, २७ चैत २७ । रोल्पाको सुर्पाल अस्थायी प्रहरी पोष्टबाट डांकैती अभियोगमा पक्राउ परेका अभियुक्त गजेन्द्र सुनार हत्कडी सहित फरार भएका छन् ।
उनीसहित चार जनाले केही दिन अघि जौलीपोखरी–७ निवासी अर्जुन सुनारको घरमा हतियार देखाएर ५ लाख ८२ हजार ४ सय रुपियां लुटपाट गरेका थिए ।
मसिना–५ निवासी गजेन्द्र सोमबार विहान हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ । सुर्पाल बजारमा सुनचांदी व्यवसाय गरेर बसेका गजेन्द्रलाई अनुसन्धानका लागि सुर्पाल प्रहरी पोष्टमा राखिएको थियो ।
वान्ता गर्ने बहाना बनाएर ड्युटीमा रहेका प्रहरीलाई छक्याएर उनी भागेका हुन् । गजेन्द्रले प्रहरी चौकीदेखि करिब डेढ किलोमिटर टाढा हत्कडी र ज्याकेट फालेर भागेको प्रहरीले जनाएको छ ।
गत आइतवार उनलाई एक लाख ७१ हजार रुपियांसहित इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले दाङबाट पक्राउ गरेको थियो ।
अभियुक्त फरार भएपछि खोजी कार्यका लागि रोल्पा र प्यूठानका करिब आधा दर्जन प्रहरी युनिटबाट टोली परिचालन गरिएको रोल्पाका प्रहरी निरीक्षक सरोज पौडलले जानकारी दिए ।

प्रतिक्रिया