काठमाडौँ । यसअघि सर्वाधिक हिट ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलकै निर्देशनको ‘कोसेढुंगा’ १२ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र नेपालसहित ४० बढी मुलुकमा एकसाथ रिलिज निर्देशक पौडेलले बताए । ‘हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने फाइनल भइसकेको छ’, निर्देशक पौडेलले भने, ‘अन्य देशका लागि पनि कुराकानी भइरहेको छ । रिलिज समयसम्म थपिन सक्नेछ ।’
चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ । सेभेन सिजका अनुसार चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा एकसाथ प्रदर्शन गरिनेछ ।
स्याङ्जाको आँधीखोला, त्रिवेणी, सिरुवारी र काठमाडौँमा छायांकन भएको चलचित्र मौलिक कथामा बनेको बताइन्छ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काको सम्पादन रहेको चलचित्रमा आशिष अविरल र रिदम कँडेलको संगीत छ ।
प्रतिक्रिया