काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताएका थिए । उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुन सकोस् भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे । उनले भने, ‘यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।’
अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रियसभा सदस्यहरु उर्मिला अर्याल, पदमबहादुर परियार, गोपाल भट्टराई, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, तुलसा दहाल, गोपीबहादुर सार्की अछामी र सुमित्रा बिसीले धारणा व्यक्त गरेका थिए । सभाको अर्को बैठक यही असार १५ गते आइतबार अपरान्ह १२ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया