काठमाडौँ । हेटौँडा र नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन् ।
हेटाँैडा उपमहानगरपालिकाको मंगलबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यस्तै प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ । हेटौँडाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा बेहोर्न अनुमान गरिएको छ ।
हेटौँडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यस्तै मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाइ, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटीसम्बन्धी तालिम सञ्चालन गर्न, कोशेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारीतर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ ।
यसैगरी आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अटोभिलेज पूर्वाधार निर्माण हेटौँडा–११, वाटर फन पार्क हेटौँडा–१४, गंगा आरती स्थल हेटौँडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।
नेपालगन्जलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले पनि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १७औँ नगर परिषद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्जलाई पर्यटकीय सहरका रूपमा विकास गर्न आसपासका पर्यटकीय क्षेत्रलाई ‘भिजिट वेस्टर्न’ नेपाल कार्यक्रममा आबद्ध गरिने जानकारी दिए । उनले सुन्दर, स्वच्छ र हरियाली सहर निर्माणका लागि नेपालगन्जमा ऐतिहासिक उद्यान निर्माण, तालतलैयाको संरक्षणमा जोड दिँदै मुस्लिम समुदायको जामा मस्जिद, शिख समुदायको गुरुद्वारा, हिन्दुको वागेश्वरी मन्दिर, १०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले ती क्षेत्रलाई समेटेर धार्मिक सद्भाव सर्किटका रूपमा विकास गरिने बताए ।
उपमहानगरपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल गरिने जानकारी दिँदै नगरप्रमुख विष्टले कृषि क्षेत्रलाई प्राथमिकताका साथ नीति कार्यक्रममा समावेश गरेको उल्लेख गरे । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा खाद्यान्न तथा तरकारीको उन्नत एवं गुणस्तरीय बिउको प्रयोगमार्फत तरकारी, च्याउ तथा अन्नबालीको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने तथा रासायनिक मल बिक्री वितरणको प्रभावकारी अनुगमन गरी कृषकलाई सरल र सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
यस्तै नगरक्षेत्रभित्र रहेका तालतलैया र पोखरीको संरक्षण गरी कृषिमा उपयोग गर्ने नीति अवलम्बन गरिनेमा जोड दिँदै पशु अधिकारको सुनिश्चताका लागि पशु एम्बुलेन्सको व्यवस्था आश्रयस्थलका लागि काञ्जिहाउसलाई व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको संरक्षण तथा संवद्र्धन गर्ने र आगामी आर्थिक वर्षदेखि उर्दू भाषालगायतका मातृभाषाको जगेर्ना र विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैबीच उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले प्रस्तावित १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ बराबरको आय तथा व्यय परिषद्मा प्रस्तुत गरेका छन् ।
हेटौँडाको उपमहानगरको प्राथमिकता
–तेस्रो सन्तान जन्मलाई प्रोत्साहन कोष
–नगरस्तरीय पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद, वातावरण संरक्षण र उद्योग विकासमा रकम विनियोजन गरिएको छ ।
–अस्पतालमा बाल तथा प्रसूति कक्षको निर्माण ।
–वन, वातावरण तथा विपद् व्यवस्थापन ।
–हरियाली, वृक्षरोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोरमैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइ ।
–अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङ सिल्ड, मेयर कप फुटबलजस्ता खेलकुद प्रतियोगिता ।
–मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाइ, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटीसम्बन्धी तालिम सञ्चालन गर्न, कोसेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी ।
–अटोभिलेज पूर्वाधार निर्माण हेटौँडा–११, वाटर फन पार्क हेटौँडा–१४, गड्डा आरती स्थल हेटौँडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको प्राथमिकता
–नेपालगन्जलाई पर्यटकीय सहरका रूपमा विकास गर्न आसपासका पर्यटकीय क्षेत्रलाई ‘भिजिट वेस्टर्न’ नेपाल कार्यक्रममा आबद्ध गरिने
–सुन्दर, स्वच्छ र हरियाली सहर निर्माणका लागि नेपालगन्जमा ऐतिहासिक उद्यान निर्माण
–तालतलैयाको संरक्षणमा जोड दिँदै मुस्लिम समुदायको जामा मस्जिद, शिख समुदायको गुरुद्वारा, हिन्दुको वागेश्वरी मन्दिर
–१०८ फिटे हनुमानगढी परिसरको धार्मिक तथा सांस्कृतिक महत्व भएकाले ती क्षेत्रलाई समेटेर धार्मिक सद्भाव सर्किटका रूपमा विकास गरिने ।
–उपमहानगरपालिकामा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल ।
–कृषि क्षेत्रलाई प्राथमिकता । कृषि क्षेत्रमा खाद्यान्न तथा तरकारीको उन्नत एवं गुणस्तरीय बिउको प्रयोगमार्फत तरकारी, च्याउ तथा अन्नबालीको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड ।
–रासायनिक मल बिक्री वितरणको प्रभावकारी अनुगमन गरी कृषकलाई सरल र सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिने ।
–पशु अधिकारको सुनिश्चताका लागि पशु एम्बुलेन्सको व्यवस्था आश्रयस्थलका लागि काञ्जिहाउसलाई व्यवस्थित गरिने ।
प्रतिक्रिया