महोत्तरी । गौशाला नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद टुंगिएको छ । जिल्ला प्रमुख अधिकारी नारायण रिसालको संयोजकत्वमा बसेको सर्वदलीय छलफलले मेयर दीपेन्द्र महतोलाई दोषी देखाउँदै ३ बुँदे सहमति भएको छ । गत आइतबार उपमेयर रेणुकुमारी महतोले दर्ता चलानी फाइलमा खाली छाडेर दर्ता नै नगरेको भेटिएपछि उक्त फाइल नियन्त्रणमा लिएकी थिइन् । यही विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुगेपछि मेयर महतोले नगर प्रहरी लगाएर उपमेयरलाई कार्यालय प्रवेशमा रोग लगाएका थिए ।
उक्त विवादको विषयमा भएको सर्वदलीय छलफलले उपमेयरलाई कार्यालय प्रवेशमा अवरोध गर्ने सुरक्षाकर्मी र कर्मचारीमाथि छानबिन गर्न ३ सदस्य छानबिन समिति बनाउने सहमति गरेको छ । मेयर महतोले समेत हस्ताक्षर गरेको उक्त सहमतिमा उपमेयरलाई कार्यकक्षमा अवरोध नगर्ने, मर्यादित व्यवहार गर्ने लगायतको उल्लेख गरिएको छ ।
विवादका क्रममा दुवै पक्षबाट भएका गल्तीहरूलाई आत्मसमीक्षा गर्दै यस्तो कार्य नदोहोरिने वातावरण निर्माण गर्नुपर्नेमा दलहरूले जोड दिएका छन् । न्यूनतम कानुनको समेत ख्याल नगर्ने मेयर महतोको पछिल्लो प्रवृत्ति नयाँ भने होइन, यसअघि पनि उपमेयरको क्षेत्राधिकार अतिक्रमण गर्दा उनले कैयौँपटक अदालतको सहारा लिएकी थिइन् ।
अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा उपमेयरलाई सहभागी नै नगराई नगरसभाबाट बजेट पास गराएपछि अदालतले नगरसभाका निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । केहीसमय अगाडि मराहा खोला र बाके खोलामा ठेक्केदारहरूले मापदण्डविपरीत उत्खनन गरेको पाइएपछि जिल्लास्तरीय अनुगमन समितिले तत्काल रोक्न निर्देशन दिएको थियो ।
उपमेयर आफैँ अनुगमनमा संग्लन भएर समितिले त्रुटी भएको निष्कर्ष निकालेता पनि मेयरले बलमिच्याइपूर्वक ठेकेदारलाई पुनः उत्खनन गर्न प्रोत्साहन गरेका थिए । उनी संघीय सांसद लक्ष्मी महतो कोइरीका छोरा हुन् । सांसद कोइरी तिनै हुन्, जसलाई मधेस आन्दोलनको समयमा असई थमम विकको हत्या गरेको आरोपमा जिल्ला अदालतले सजाय सुनाएको थियो ।
फरार अभियुक्त रहेकै समयमा निर्वाचन जितेका कोइरीलाई झन्डै ६ महिना अगाडि मात्र उच्च अदालतले सफाइदिएको थियो । चुनावको अघिल्लो रात जसपाबाट एमाले प्रवेश गराएर जितेका कोइरीका छोरा मेयर भने जसपामा नै छन् । पछिल्लो समय मेयर महतोले गर्ने कतिपय निर्णय जसपाको नीति विपरीत हुने गरेको स्वयं नेताहरू बताउँछन् । परिणामस्वरूप उनले यही घटनामा पनि पार्टीको खासै साथ पाएनन् । पछिल्लो विवादको दर्ता चलानी फाइल भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उपमेयरले छानबिनका लागि पठाइसकेको बताइएको छ । उक्त फाइलको विषयमा नगरले नै आयोगसँग समन्वय गर्ने पनि सहमति भएको छ ।
गले मेयर महतो ?
गौशाला नगरपालिकाका मेयर र उपमेयर बीचको विवाद सामाधान गर्न बोलाइएको शनिबारको बैठक ११ बजे सुरु हुने बताइयता पनी सुरु हुँदा झण्डै १२ बजेको थियो । राजनीतिक दलका प्रमुख, समन्वय समितिका संयोजकसहित बस्ने तय भएको वैठक सुरु हुनुभन्दा अगावै मेयर महतोकै कारण रोकिने अवस्था सिर्जना भयो ।
उनले समन्वय समितिको संयोजक सुमनलाल कर्ण उपस्थित भएको बैठकमा नबस्ने भन्दै बाहिरिएपछि झण्डै आधा घण्टा बैठक रोकियो । स्रोतका अनुसार उनका बुबालाई बैठकमा सहभागी नेकपा एमालेका एक नेताले फोन गरेर सम्झाइदिन अनुरोध गरेपछि बुबाको आग्रहमा उनी बैठकमा फर्किए ।
मेयर, उपमेयरको झगडाका विषय उक्त बैठकमा छताछुल्ल भयो । तर, बैठकमा सहभागी दलका प्रतिनिधिहरूले मेयरले उपमेयरलाई कार्यकक्षमा रोक्ने कार्य स्वेच्छाचारी र निरंकुश भएको बताए । सबैको आग्रहमा मेयर महतोले उपमेयरको अडानको पक्षमा सहमति गर्नैपर्ने वातावरण सिर्जना भयो र उनले सहमतिमा हस्ताक्षर गरे ।
‘बैठकमा मेयरले जिद्दी गर्दे आफ्नै दलिल पेस गरेता पनि उपमेयर महतोले राखेका सबै विषयमा सहमति जनाउनै प¥यो ।’ बैठकमा सहभागी एक नेताले भने, ‘लोकतन्त्रमा स्वेच्छाचारी र निरंकुशताको कुनै ठाउँ नै छैन ।’
उनी आफ्नै व्यवहार र कार्या शैलीका कारण उपमेयर मात्रै होइन, कुनै पार्टीको नेताको सहयोग पाएनन् । अरू दल र नेताप्रति गर्ने उनको व्यवहारले पनि उनलाई सत्रै अफ्टारो पर्ने गरेको छ ।
प्रतिक्रिया