दुध, आँसु, पिसाब र रगत, स्रोत एउटै समवेदना अलग

रामहरी बाजे

ईश्वरको श्रृष्टि बिचित्रै छ । दोपाय या चौपाय सबै प्राणीहरूमा दुध र आँसु, पिसाब र रगत सुरक्षित हुन्छन् । तर यी पदार्थ एकअर्कासँग अलगै रहन्छन् । तर ती पदार्थ तरल रहेर पनि समय अनुकूल बहन्छन् । जस्तै खरले छाएको घरमाथि वर्षात भएअनुसार बलेसीमा खस्छ तर छानुको खरले केही रंग मात्र बदलेर झार्छ । पिसाबलाई यसैमा तुलना गर्न सकिन्छ । तर दुध, आँसु र रक्तलाई व्याख्या गर्ने साहस मसँग छैन । यो ज्यादै संवेदनशील विषय हुन सक्छ ।

दुधको धारो सहृदयको प्रेमले मात्र खोल्न सक्छ, जस्तै हातले भैँसी दुहुने तरिका । आँसुको धारोचाहिँ ज्यादै हर्षले पनि खुल्छ, ज्यादै हृदयस्पर्शी वेदनाबाट पनि खुल्छ । यी माथिका ३ वटै भन्दा फरक रक्तधारालाई क्रूरताले खोल्छ । जस्तै, राक्षसी प्रहार, अज्ञात दुर्घटना, बलत्कार, विक्षिप्ता । आमाले याद गरेर आफ्नो बच्चालाई प्यारबाटै चुसाएजस्तै गरी, मानव कल्याणार्थ रक्तदान गर्दा पनि रक्त दिइन्छ ।

यी बाहेक मानव शरीरमा रहेका तत्व गुणहरूको उत्पादन गर्ने अव्यक्त कलकारखानाहरू छन् । जस्तै एउटा शिशुलाई गर्भ अवस्थादेखि जन्मपछि समेत पालन र हृष्ठपुष्ठ पार्नलाई चाहिने रासायनिक पदार्थहरू उत्पादन गर्ने धेरै कलकारखानाहरूसमेत स्त्रीलिंगीको मात्र शरीरमा प्रकृति परमात्माबाटै जडित हुन्छ । एकडल्लो ढिँडो र गुन्द्रुकको झोलको रसबाट आमाको शरीरको अव्यक्त कारखानाले सबै किसिमका लवणयुक्त मिश्रित पदार्थ स्तनको माध्यमबाट शिशुले पाउँछ । यहाँ भन्नै, लेख्नै पर्छ कि पुरुष शरीर र नारी शरीरमा कति धेरै महत्वपूर्ण अन्तर रहेछ त ?

‘खुट्टा भए जुत्ताको के खाँचो’ भन्ने पुरुषहरूलाई पनि मैले निक्कै देखेको छु । मातृसंवेदना र अव्यक्त पदार्थ उत्पादनकी खानीलाई चिन्नुपर्छ । यस्ता संवेदनशील विषयहरूको खोज गरेर समाजका मानवलाई क्रूर र दानवीय कार्यबाट सुमार्ग र सतगुणी बनाउनकै लागि हाम्रा पूर्वज ऋषिमुनिहरूले नांगै भोकै बसेर तपस्या गरेर पाएका सत्ज्ञानहरू श्रुति र स्मृति शास्त्रहरूबाट मानव समाजलाई सुमार्गी बनाउने अनेक ग्रन्थहरू दिएर गएकै हुन् ।

सिंगै आर्यवर्तका संस्कृत, वेदपुराण लगेर जर्मनहरूले ठुलाठुला आविष्कार गरेर संसारलाई चकित पारे संस्कृतमा पिएचडी गर्न नेपाली जर्मन जाने गर्थे अरे भन्ने सुनेको थिएँ । २०१८ सालसम्म त्रिपुरेश्वरको एउटा भुइँछाप्रो टायल घरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई राजा महेन्द्रले सिंगै कीर्तिपुरको पाखै भरी ढलीमली गराएर राखेपछि शिक्षामा स्वावलम्बी हुनै लागेको नेपालमा अचानक बज्रपात आइलाग्यो ।

नयाँ शिक्षाको मुकुण्डोधारी रोग पसेको थाहा पाएर आदरणीय प्रवृद्ध शंकरदेवले एक्लै विरोध गरे, तर पनि छिरेको रोगले आज टियुलाई कवाडीखाना जस्तै बनाएर सिंगै त्रिवि कीर्तिपुरलाई तवाह बनाएको छ । सागुरा गल्ली भित्रका ४–५ तल्ले घरमा प्राइभेट कलेज खोलेर गरिब ग्रामीण जनताका सन्तानलाई शोषण गर्न पल्केकाहरू राज्यको नीति निर्माण तहमा हावी छन् । आज टियु अज्ञानी, अयोग्य नेता जन्माउने अखडा बनेको छ । गनेरै नभ्याइने, पार्टीका इसारामा चल्नेलाई मात्र टियुमा भरेर उच्च शिक्षालाई लथालिंग पारिएको छ । विदेशीको इशारामा महर्षि गुरुकुल शिक्षालाई बुर्जुवा भनेर जलाउनेहरूले सिंगो टियु कीर्तिपुरको बेइज्जत गरेका छन् । दासत्व स्वीकार गर्नेहरूका कारण आज नेपालीको इज्जतमा विश्वले हेर्ने दृष्टि नै बदलिएको छ ।

मिडियामा यस्तो अडियोसमेत छ्यालब्याल भयो कि, ‘तिमी समय मिलाएर फलानो होटेलको कोठामा मसँग एक्लै भेट्न आउ, तिमीले जाँच दिन आउनु पर्दैन, तिमीलाई उत्तीर्ण भएका सर्टिफिकेट घरमै पठाइदिन्छु ।’ प्रध्यापनको गरिमा यही हो त ? यो व्यक्तिको ‘साउन्ड’ चेक गरेर कारबाही भएको खबर किन ठुला मिडियाको हेडलाइनमा आएन ? हाम्रो बौद्धिक क्षेत्र सबै पैसाकै भरमा चलेकै हो त ? देशको प्रगति भनेको नेता र पार्टीको संख्या मात्र बढाएर रेमिटेन्सको पसिनाले सधैँ पालेरै राख्ने त ?

रामहरी बाजे

विदुर ४, नुवाकोट

०००

भ्रष्टाचार नियन्त्रणमा गम्भीरताको खाँचो

नेपाल यतिबेला एफएटिएफको ग्रेलिस्टमा भएकोले यसै पनि अन्तर्राष्ट्रिय जगतमा बद्नाम छ । भ्रष्टाचार बढ्दा देशको राजस्व संकलनमा समेत ठुलो समस्या आएको छ । राज्यको आम्दानीले कर्मचारी पाल्नसमेत नपुग्ने अवस्था सिर्जना भएको छ । तर सम्पत्ति शुद्धीकरणको महत्वपूर्ण निकायलाई सरकारमा रहनेहरूको कठपुतली बनाइएको छ ।

२०६८ सालमा स्थापना गरिएको सम्पत्ति शुद्धीकरण विभागमा यो १४ वर्षको अवधिमा १७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि संविधानमै व्यवस्था गरिएको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा घुस लिएर भ्रष्टाचारीलाई नियुक्ति गर्ने गरिएका समाचारहरू धेरै हदसम्म सत्य छन् ।
यही अवस्था रह्यो भने नेपाल अर्कोपटक एफएटिएफको ब्ल्याक लिस्टमा पर्ने सम्भावना बढ्छ । देशलाई ग्रे लिस्टबाट मुक्त गर्न हदैसम्मको प्रयास अघि बढाउने प्रतिवद्धता सरकारमा रहनेहरूबाट पटकपटक आउने गर्छ । यस्ता प्रतिवद्धता मुखले भनेर मात्रै हुँदैन, व्यवहारमा नै खरो उत्रेर पूरा गर्न सक्नुपर्छ । तर मुखले एउटा कुरा र व्यवहारमा अर्कै कुरा भएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित राज्यका अंग, सरकारी निकाय तथा संयन्त्रहरूमा उपयुक्त पात्रको नियुक्ति गर्नेतर्फ राष्ट्रिय सहमतिको प्रयास अघि बढ्नु पर्छ । यस्ता निकायलाई स्रोत र साधनको कमी हुन नदिई स्वतन्त्र रूपले काम गर्न दिने वातावरण तयार गर्नुपर्छ । कतैबाट पनि हस्तक्षेपको गन्ध आउन दिनुहुन्न । तर यस दिशामा मुलुकको राजनीति गएको छैन ।

राजबहादुर शाही, तुलसीपुर

प्रतिक्रिया