नेता/कर्मचारी जनताका मालिक र सेवक ?

लोकतान्त्रिक व्यवस्थाका नेता कर्मचारी अलोकतान्त्रिक छन् । जनताको कर खाएर बाँचिरहेको हाकिम र कर्मचारीलाई जनताले शिर झुकाएर नमस्कार गर्नुपर्छ । सेवाग्राही थुरर कापेर उभिन्छ । कर्मचारी चिसो/तातो एसीमा बसेर चिया पानी खादै चस्मा निकाल्छ, समस्या सुन्नै समय लाउँछ । झुत्रे झाम्रे देखे त झनै फर्केर हेर्दैन ।

धनराज वास्तविक

नेता, अमुक राजनीतिक दलको सदस्यता बोकेको व्यक्तिलाई मात्रै बुझ्नु न्यायोचित हुँदैन । नेता/नेतृत्व एक व्यापक र बहुआयामिक शब्द हो । जसको दायरा र सन्देश निक्कै ठूलो छ । राजनीतिक दलमा रहेको मात्रै व्यक्ति मात्र नेता होइन । अन्य आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक लगायतका सबै क्षेत्रमा नेतृत्व गरिरहेको व्यक्ति नेता हो ।

गणतन्त्रका नेता/कर्मचारी

शीर्षकमा भनिएझैँ जनताको करबाट पालित पोसित र जीवन धानिरहेका राज्यका विभिन्न तहमा मान्छेहरू छन् र हुन्छन् । राजनीतिक क्षेत्रबाट सार्वजनिक पदमा पुगेका हुन् या विभिन्न प्रतिष्पर्धाका माध्ययमबाट सरकारका संरचनामा पुगेका कर्मचारी नै किन नहुन् । यस्ता व्यक्तिहरू जनताको प्रत्यक्ष करबाट सञ्चालित हुन्छन् । जसले जनता सेवाग्राही बनेर सरकारी संस्थान वा कार्यालयमा पुग्दा नमस्कार गरेर सोधपुध गर्छन् ? अहँ । आजका दिनसम्म सेवाग्राहीको रूपमा पुगेका जनतालाई नमस्कार गरेर सम्मानपूर्वक आवश्यक सेवा सुविधाको बारेमा सोधि खोजि गरेको देख्न पाइएको छैन । बरू, निजी क्षेत्रका स्कुल, अस्पतालहरूमा जनतालाई सम्मानपूर्वक स्वागत गरेको देखिन्छ । तर, सरकारी क्षेत्रमा यस्तो दृश्य देख्न वर्तमानमा पाइएको छैन । आगतमा पाइन्छ या पाइँदैन त्यो कुरा अहिले नै भन्न सकिँदैन ।

आजजनताले कस्तो कर्मचारी चाहान्छ ? एक वाक्यमा भन्दा सरकारी संस्थामा पुग्दा त्यहाँको कर्मचारीले मिठो बोलीले स्वागत गरोस्, नमस्कार गरोस् कि नगरोस् मतलव छैन । सेवाको बारेमा विस्तृत रूपमा बताइदेओस् । गुणस्तरीय र छरितो सेवा देओस् । तर, हामीले भोगिरहेको कर्मचारीतन्त्र निक्कै फरक छ । लोकतान्त्रिक व्यवस्थाका नेता कर्मचारी अलोकतान्त्रिक छन् । जनताको कर खाएर बाँचिरहेको हाकिम र कर्मचारीलाई जनताले शीर झुकाएर नमस्कार गर्नुपर्छ । सेवाग्राही थुरर कापेर उभिन्छ । कर्मचारी चिसो/तातो एसीमा बसेर चिया पानी खादै चस्मा निकाल्छ, समस्या सुन्नै समय लाउँछ । झुत्रे झाम्रे देखे त झनै फर्केर हेर्दैन ।

यता निजी क्षेत्रमा महँगो भए पनि केही राम्रो व्यवहार र सेवामा पारदर्शिता देखिन्छ । अनि जनताको ध्यान सरकारी स्कुलमा जन्छ कि निजी ? मान्छे सरकारी अस्पतालमाथि विश्वास गर्छ कि निजी अस्पताल ? सार्वजनिक सेवामा रहेका कर्मचारी र नेताहरूले यसको बारेमा समीक्षा गर्नुपर्छ कि पर्दैन ? नेता र कर्मचारीहरूले विश्वास यहाँ गुमाएका छन् । सुन्दा तितो लाग्नसक्छ, गणतन्त्रबाट नेता, कर्मचारी र ब्यापारीले लाभ लिएका छन् । यी सबैलाई मात दिनेगरी बिचौलियाले देश लुटिरहेका छन् । यसरी हेर्दा राज्य सेवा दिने माध्यम बन्नुपर्ने थियो । तर, जनतालाई शोषण गर्ने माध्ययम बन्यो ।

घुन लागेको अन्नबाट विरुवा जन्मिँदैन । पहिलो पुस्ताको नेता यस्तै घुन लागेका अन्न हुन् । कर्मचारीतन्त्र पनि करिब घुन लागेकै अन्नसरह छन् । हरेक हिसाबले उनीहरू नयाँ प्रविधिको विकाससँग आफूलाई अपडेट गर्न र परिमार्जित गर्न सक्दैनन् भने सकिनको विकल्प छैन । मैले पछिल्लो समय धेरै वैचारिक र सैद्धान्तिकभन्दा पनि सामान्य विषयलाई लेखन र अध्ययनको विषय बनाएको छु । जहाँ जनताको सामान्य अवस्था र समस्याहरू सुन्न र देख्न पाइन्छ । सामान्य समस्या नै जनताका निम्ति पहाड बनिरहेका छन् । सार्वजनिक कार्यालयमा दिनभर लाइन बसेर एउटा काम सकियो भने सेवाग्राहीको अनुहारमा ठूलै युद्ध जितेको जस्तो खुसी देखिन्छ ।

व्यवस्था होइन, नेतामाथि प्रश्न

पछिल्लो समय व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन भनेर प्रतिगामी यथास्थितिवादीहरूले चर्को ढंगले आवाज उठाइरहेका छन् । त्यसमा जेन जी पुस्ता पनि संलग्न छ । यसलाई सामान्य रूपमा बुझ्दा व्यवस्था ठिक भए पनि अवस्था बदल्न सकेनन् भन्ने अर्थमा बुझ्न सकिन्छ । यस भाष्यका पछाडि अन्य राजनीतिक स्वार्थ र लोभ नलुकेको होला भन्न सकिन्न । तर, जनताको दैनिकीलाई महँगीले थिचिरहेको छ । विकास र समृद्धिका काममा भ्रष्टाचार भइरहेको छ । सुशासनको पाटो निक्कै कमजोर छ । रोजगारी छैन । उद्यमको विकास छैन । टुक्रे योजना र कनिके बजेट आउँछ । यस्ता केही महत्वपूर्ण आर्थिक पक्ष छन् । जसलाई हामीले आजका दिनमा सुध्रानै पर्ने काम हो ।

फर्केर हेर्दा पहिलो तहका नेताहरूको ठुलो योगदान, संघर्षबाट वर्तमान संघीय व्यवस्था आएको हो । तर, दोस्रो जनआन्दोलनपछि मुलुकले लिनुपर्ने बाटोको बारेमा नेतृत्व नमजाले चुक्यो । संविधान बनाउनै निक्कै धेरै समय र आर्थिक खर्चभयो । त्यसपछि २०७४ मा नेकपा (नेकपा) को दुईतिहाइ नजिकको सरकार बन्यो । उक्त सरकारले मुलुकलाई नौलो इतिहास रच्ने ठाउँमा पु¥याउन सक्थ्यो । तर, केपी ओली, प्रचण्ड र माधव नेपाल जस्तो शीर्ष नेताहरूको असफलताका कारण पार्टी विघटन भयो । सरकार ढल्यो । संसद् विघटन गर्ने काम भए । यस्ता यावत विषयलाई स्मरण गर्ने हो भने गणतन्त्रका नेताहरू जनतालाई नमस्कार गर्ने, जताको जीविकाप्रति सचेत रहने भन्दा पनि आफ्नो, आफ्ना वरिपरिका र गुटको भलाई केन्द्रित बनेको देखियो । जनता जतासुकै जाउन तर, आफू र आफ्नाले खाए पुग्यो भन्ने जस्तो स्वार्थपूर्ण राजनीतिमा सीमित बनेपछि मुलुक बनेन । मुलुकले लिनुपर्ने आकार लिएन ।

नयाँ पुस्ता (जेन जी) ले बुझ्नै पर्ने केही कुरा छन् । शासन व्यवस्था, इतिहास, राजनीति, विश्व राजनीति, हाम्रो वर्तमान अवस्था, मुलुकको अवस्थिति, विगत वर्तमान र आगतको बारेमा यो पुस्ताले अध्ययन गर्नैपर्छ । आज विश्व दुनियाँको कुनै पनि स्थानमा पुगेर जीवन जिउने स्वतन्त्रता त छदै छ । तर, आफ्नो मुलुक र जनताको बारेमा चिन्ता चासो राख्नु नयाँ पुस्ताको कर्तव्य र जिम्मेवारी हो । नयाँ पुस्ताले शासकीय स्वरुपलाई बुझ्नपर्छ । अरूले भनेको भरमा नभएर आफ्नो विवेक प्रयोग गरेर निर्णय लिनुपर्छ । जनतालाई राजनीतिक भाषामा जनार्दन भनिन्छ । जगणतन्त्रको शक्ति भनेका जनता हुन् । राजाशक्तिको स्रोत धर्म हो । गणतन्त्र र राजतन्त्रमा यही फरक छ । राष्ट्रपतिलाई जनताको छोरी/छोरा भनिन्छ भने राजाका सन्तानलाई विष्णुको अवतार भनिन्छ । यति अन्धविश्वासी कुरालाई आधुनिक जमनाका मान्छेहरूले राजाको दास हुन सक्छन् ? कदापि पनि सक्दैनन् ।

हामीले प्राप्त गरेको गणतन्त्र सीमित व्यक्ति, दल र नेताहरूको स्वार्थ पूरा गर्ने साधन बन्दाखेरी व्यवस्थामाथि नै प्रश्न उठेका हुन् । यसको गहिरो र गम्भीर समीक्षा हुनुपर्छ । साथै गणतन्त्रले उत्पीडित वर्ग, समुदाय र क्षेत्रसँग माफी माग्नुपर्छ । अनि मात्रै गणतन्त्र बलियो हुन्छ । गणतन्त्रवादीका गतिविधि नै गणतन्त्रका निम्ति खतरा बनिराखेका छन् । हामीले चाहेको गणतन्त्र भने रोजगारी, सुशासन, पारदर्शिता, जवाफदेहिता, विकास हो । सार्वजनिक सेवामा पारदर्शीता र प्रेमिल व्यवहार हो । स्वास्थ्य, शिक्षामा एकरूपता हो । स्वदेशमै पढ्दै कमाउँदै गर्ने सकिने वातावरण हो । यसर्थ वर्तमान समस्याहरू हेर्दा व्यवस्थामाथिको प्रश्न नभएर नेताहरूको अक्षमतामाथिको प्रश्न हो भन्ने प्रष्ट देखिन्छ ।

गणतन्त्रमा के भयो ?

गणन्त्रमा जे नहुनुपर्ने, त्यही भयो । नातावाद, दम्भ, घमण्ड, भ्रष्टचार, पक्षपात, निर्लज्जता, नालायकीपन, दलालीजस्ता अनुशासनहिनताले गर्दा मानिसहरू सयौँ, हजार राजाभन्दा एउटा राजा नै ठिक हो कि क्या हो ? भन्नेमा पुगे । तर, यो साँचो होइन । गणतन्त्र सुधार्न सकिने व्यवस्था हो । यसमा नेता, कर्मचारी, प्रशासक, प्रहरी, सेना, आदी सुध्रिनुपर्छ । गाण्तन्त्रका सामान्य मान्यतालाई पालना गर्नुपर्छ ।

संसद्मा जोडी बाँधेर हिँडेको दृश्य देखियो । सार्वजनिक संस्थानमा आफन्त, पार्टी र राज्य सत्तामा आफन्त, गुटका मान्छेहरूलाई भर्तिकेन्द्र जस्तो बनाउने काम भयो । नीतिगत निर्णयको नाममा बदमासी भए । राष्ट्रघात गर्ने काम भए । पहिलो पुस्ताका नेताहरूको नाम बेचेर तीनका सचिवालयका मान्छेहरू नवधनाढ्य बने । नेताहरूको विलासिता, खानपिन, उठबस, विचार र सिद्धान्तलाई गिज्याउने खालको देखियो । सुशासन, पारदर्शीता र जबाफदेहितालाई लात हान्ने काम नेताहरूबाटै भए । नेपालको राजनीति विकल्पहीन जस्तो देखिन पुग्यो । पहिलो पुस्ता नातावादी, भ्रष्टाचारी, दुराचारी र अक्षम पुष्टि हुँदा पनि अर्को बलियो विकल्प तयार भएन । दोस्रो तह (आम बुझाइमा दोस्रो पुस्ता) का नेताहरूले उठाउनुपर्ने कदम र बोल्नुपर्ने आवाज बोल्न सकेनन् । जसका कारण सडक खाली भयो । अराजताले सडक कब्जा ग¥यो । तेस्रो पुस्ता (४० मुनि) ले आफ्नो पार्टीभित्रको बेतिथिका विरुद्ध, नेतृत्वको नालायकीका विरूद्ध र पार्टी पंक्तिलाई क्रान्तिकारी धारमा उभ्याउने काममा आफूलाई क्रियाशील बनाउनुपर्ने बेला हो । तर, यो पुस्ताले पनि बिग्रेको राजनीतिलाई सही दिशा दिन सकेन भने मुलुकको भविष्य अन्धकार बन्ने छ ।

अर्कातर्फ जसरी नयाँ पुस्ता प्रविधिसँग परिचित छ, त्यसैगरी इतिहास, लोकतन्त्र, संघर्ष, आन्दोलन, मुलुकको विकास र समृद्धिको बारेमा पनि चिन्तन मनन गर्नुपर्छ । नयाँ प्रविधि डिभाइससँग निर्भर छ भन्ने कुरा नयाँ पुस्तालाई थाहा छ । मानवलाई डिभाइसले चेतना दिँदैन । सोच्न सक्ने तागत दिँदैन । विवेक दिँदैन । संस्कार सिकाउँदैन । अनुशासन सिकाउँदैन । त्यसैले अघिल्लो पुस्ताका राम्रा कामबाट नयाँ पुस्ताले सिक्नै पर्ने केही आधारभूत कुराहरू छन् । त्यसको अनुकरण नगरी नयाँ पुस्ता समृद्ध बन्दैन । मुलुकको बारेमा मात्र होइन, विश्व अवस्थाका बारेमा पनि नयाँ पुस्ता जानकार हुनुपर्छ ।

प्रतिक्रिया