काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्न आदेश लिएकाे हो । तर, दुई धरौटी माग गरिए पनि उनलाई फेरि पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभाग लगिएको छ ।
उनले धरौटी बुझाएर रिहा भए पनि सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएको भन्दै उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए । आज सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले रोक्कालाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट गत शुक्रबार पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको थियो । तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
२०८० भदौमा पहिलो चरणमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । २६ जना पक्राउ परेका थिए । तीन जना फरार थिए। ब्रेक–सुमा सुन लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले सुरुमा बरामद गरेको थियो । १९ दिन विभागले नै अनुसन्धान गरेपयछि ठूलो गिरोह रहेको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो ।
यो तस्करीका नाइके अमलाका श्रीमान् तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ रहेको प्रहरीको दाबी छ । अमलासँगै भोला साह, जीवन चलाउने पनि फरार थिए । त्यतिबेला अदालतमा पेस गरिएका मध्ये एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सीआईबीले मुद्दा पेस गरेको थियो । त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो ।
सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेकाहरू पनि छन् ।
उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ । भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको हो ।
२०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम राजस्व अनुसन्धान विभागले बरामद गरेपछि नेपालमा सबैभन्दा धेरै मात्रामा बरामद भएको सुन तस्करीको अनुसन्धान सुरु भएको थियो ।
प्रतिक्रिया