अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्यो : खनाल

झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्रलाई उल्लंघन गरेको गरेका बताएका छन्। विज्ञप्ति जारी गर्दै खनालले अमेरिकाले इरानमाथि आक्रमण गरेर २०२५ जुन २१ मा गरेको संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लंघन गरेको दाबी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघिदेखि इजरायली विस्तारवादीहरूले अमेरिकी उक्साहटकै आधारमा इरानमाथि हिंसक हमला गर्दै आइरहेका थिए । इरानी जनता त्यसको प्रतिरोध गर्दै आइरहेका थिए । यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धुरा पसेर इरानमाथि अत्यन्त क्रूर र फासिस्ट आक्रमण गरेका छन् र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरेका छन् । अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नाङ्गो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लङ्घन गरेको छ । अन्तर्राष्ट्रिय कानुनलाई उल्लङ्घन गरेको छ ।’

देश देश बीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरूलाई पनि उल्लङ्घन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘उसले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लंघन गरेको छ र विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उपस्थित गरेको छ । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट म यो फासिस्ट आक्रमणको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछु ।’

उनले इजरायली विस्तारवादी शासकहरूले युद्ध उन्मादका साथ इरानमाथि नै आक्रमण गरिरहेको बेला अमेरिकी सरकारले इरानमाथि गरेको उपरोक्त आक्रमणले सिङ्गो विश्वको र विशेषगरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बम वार्डिङले शान्ति होइन मध्यपूर्व भरि नै प्रतिरोधका ज्वालाहरू दन्किने सम्भावना देखिएका छन् । आजको विश्वमा संवाद, सहमति, सहकार्य र विकासको विकल्प छैन । तर यतिवेला अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वमा अशान्ति, युद्ध, आक्रमण र विनाशको मुख्य कारक रहेको छ । सम्पूर्ण मध्यपूर्वबाट अमेरिकी प्रभुत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना नै त्यस क्षेत्रमा शान्ति स्थापनाको मुख्य कडी हो ।’

खनालले भनेका छन्, ‘त्यसैले हामी सम्पूर्ण नेपाली जनता अमेरिका र इजरायलका आक्रमणकारी गतिविधिको विरोध र भत्सर्ना गछौं, इरानी जनता, अरबी जनता र इस्लामिक जनताको प्रतिरोध संघर्षलाई दृढ समर्थन गछौँ । मध्यपूर्वमा दिगो शान्ति स्थापनाका निम्ति संयुक्त राष्ट्रसंघ र विश्व जनताले गरिरहेका प्रयत्नहरुलाई समेत जोडदार सर्मर्थन गर्दछौं । साथै युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरुको जीवन अस्त व्यस्त हुन सक्छ । उनीहरुको संरक्षण र उद्धार गर्नका निम्ति तम्तयार रहन म नेपाल सरकारलाई पनि जोडदार आग्रह गर्दछु ।’

प्रतिक्रिया