काठमाडौं । आइसिसी क्रिकेटअन्तर्गत विश्वकप लिग टी–२० आई सिरिजको त्रिकोणात्मक श्रृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपाल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । उक्त खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । आज नेपाल नेदरल्याण्ड्सलाई हराउँदै अघिल्लो खेलको बदलासहित प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।
यसअघि सोमबार भएको पहिलो भेटमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । त्यसैगरी मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स दुई खेलमा जित हासिल गर्दै चार अंक साथ तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै यसअघिका दुईमध्ये एकमा जित र एकमा हार बेहोरेको नेपाल भने दुई अंकका साथ रन रेटको आधारमा अंक तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने अंक तालिकाको दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष स्थान हासिल गर्ने टोलीले उक्त प्रतियोगिताको उपाधि जित्नेछ ।
प्रतिक्रिया