‘जेन जी’ पुस्ता के चाहन्छ ?

१३ देखि २८ वर्ष उमेर समूहका मान्छेहरूको पुस्तालाई ‘जेन जी’ पुस्ता भनिएको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । यो पुस्ताको सोच, चिन्तन र बुझाइ यसअघिको पुस्ताको भन्दा निक्कै फरक छ । वास्तवमै यो पुस्ता हाम्रो मुलुक निर्माणका निम्ति अत्यन्तै आवश्यक पुस्ता हो ।

धनराज वास्तविक

समाज विकासको गति जहिल्यै पनि अगाडि बढ्छ । कसैले चाहेर समाजको गतिलाई पछाडि फर्काउन सक्दैन । किनकी समाज गतिशील छ । यो एकप्रकारको प्राकृतिक नियम पनि हो । फरक यति हो कि कहिले सुस्त त कहिल्यै तीव्र गतिमा समाज अगाडि बढिरहेको हुन्छ । विक्रम सम्बत ६० को दशकतिर नेपाली समाज तीव्र गतिका साथ परिवर्तनको मार्गमा हिँडिरहेको थियो । तर, वर्तमान अवस्थाको बारेमा चर्चा गर्नुपर्दा केही सुस्त गतिमा समाज अगाडि बढिरहेको देखिन्छ ।

वैचारिक र सैद्धान्तिक रूपमा मुलुक समाजवादको यात्रातर्फ संक्रमण भइरहेको कुरा आजको सच्चाइ हो । तर, अर्कातर्फ सतहमा व्यवस्था परिवर्तन भए पनि मुलुकको अवस्था परिवर्तन भएन भन्ने आवाजलाई भुल्न सकिँदैन । यस्ता कैयन् प्रकारका सवाल र समस्याका बीच समाजवादको यात्रा तय गर्नु प्रगतिशील शक्तिका निम्ति कम चुनौती भने छैन । अवस्थामा परिवर्तन नभएको कुरा पुरै सत्य होइन । यो आंशिक सत्य हो ।
तथ्यांक हेर्दा हाम्रो समाजले प्राप्त गरेको उपलब्धि ठिकठाक छ भन्ने अवस्था छैन । आजभन्दा ५० वर्ष, ३० वर्ष र १० वर्ष पहिलाको अवस्था र आजको अवस्थाबीच तुलना गर्दा आकाश जमिनको फरक छ । विकास, समृद्धि, बाटो, बिजुली, स्वास्थ्य, शिक्षा, रोजगारी, उत्पादनजस्ता महत्वपूर्ण क्षेत्रमा केही भइरहेको छ । यसको अर्थ यो होइन कि यो पर्याप्त छ । विद्यमान व्यवस्था, वर्तमान अवस्था र आगतमा हुन सक्ने केही सवालहरू छन् । जो सवालहरू ‘जेन जी’ पुस्तासँग जोडिएका छन् ।

१३ देखि २८ वर्ष उमेर समूहका मान्छेहरूको पुस्तालाई ‘जेन जी’ पुस्ता भनिएको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । यो पुस्ताको सोच, चिन्तन र बुझाइ यसअघिको पुस्ताको भन्दा निक्कै फरक छ । वास्तवमै यो पुस्ता हाम्रो मुलुक निर्माणका निम्ति अत्यन्तै आवश्यक पुस्ता हो । यो पुस्तालाई राज्य र जिम्मेवार भनिएका राजनीतिक दलहरूले कसरी लिन्छन् ? त्यो हेर्न लायक छ ।

यो पुस्ताले चाहेको गणतन्त्र के कस्तो हो ? हामीले ल्याएको गणतन्त्र कस्तो हो ? भन्ने सवालमाथि केही बहस सुरू भएका छन् । हालै (२३ जेठ २०८२) स्कुल अफ माक्र्सिजमले ‘आएको गणतन्त्र र चाहेको गणतन्त्र’ शीर्षकमा अन्तरक्रिया आयोजना गरेर ‘जेन जी’ पुस्ता आसपासका युवाहरूका आवाजहरू सुनाउने काम गरेको थियो । त्यो मञ्चमा गुञ्जिएका अधिकांश युवाहरूले मुुलुकको समस्या र आफ्ना आकांक्षा सुनाएका थिए । त्यस्तै रातोपाटी अनलाइनले ‘जेन जी’ पुस्ताको रोजाइमा नेता भन्ने शीर्षकमा तथ्यांक संकलन गरेको छ ।

१२औँ वार्षिकोत्सवका अवसरमा तयार पारेको रातोपाटीको रिर्पोटले पनि माथि चर्चा गरिएको मञ्चकै जस्तो तथ्य देखाएको छ । उनीहरूले पहिलो पुस्ताका नेताहरूसँग कुनै पनि अपेक्षा राखेका छैनन् । युवाहरूले देश छोड्नुपरेको पीडा, वर्तमान समस्या, भ्रष्टचार, बेथिति, गैरजिम्मेवारीपन, विकासको नाममा विनास, बेरोजगारी, हिंसा, विभेदजस्ता तमाम कुराहरूका बारेमा यो पुस्ता जिज्ञासु छ । अर्थात ‘जेन जी’ पुस्ता प्रश्न गर्ने पुस्ता हो । प्रश्न गर्ने सामथ्र्य राख्ने पुस्ता हो । यो सबैभन्दा राम्रो कुरा हो । यस प्रकारका सवालहरूको ठोस जबाफ गणतन्त्रवादी नेता तथा राजनीतिक दलहरूले दिनुपर्छ ।

‘जेन जी’ पुस्ता के चाहन्छ ?

पछिल्लो समय भइरहेका बहस र सतहमा सुनिने आवाजलाई दृष्टिगत गर्दा नयाँ पुस्ता रोजगारी चाहन्छ । पढ्दै कमाउँदै गर्ने अवसरको खोजीमा छ । हातमा काम र गोजीमा दाम चाहन्छ । जेन जी पुस्ताले स्थानीय तहका जनप्रतिनिधिहरूले काम गर्न नसकेको भनिरहेका छन् । उनीहरूले वर्तमान राजनीतिक दलका नेताहरू सुध्रिनुपर्छ भन्ने सुझाव दिइरहेका छन् । यो पुस्तालाई नेतृत्व गर्ने नेता ५० काटेको व्यक्ति हुनै सक्दैन । ७० काटेका नेताहरूबाट यो पुस्ताले अपेक्षा राख्ने कुरै छैन ।

यो पुस्ताले उच्च शिक्षा नेपालमै हासिल गर्ने वातावरण हुनुपर्छ भन्ने चाहिरहेको छ । आधुनिक प्रविधिको विकाससँग जोडिएको नयाँ पुस्ताले विश्वका विकसित देशको अवस्था मोबाइलमै हेर्छ । अनि विकसित देशसँग हाम्रो मुलुकलाई तुलना गर्छ । साथै वर्तमान राज्य सत्तामा रहेका नेताहरूका गैरजिम्मेवार अभिव्यक्ति सुन्छ । के कसो गरौँ भन्नेमा पुग्छ । ‘१२ पास, विदेश टाप’ भन्ने भाष्यहरू युवाहरूका कानमा पुग्छन् । हो कि क्या हो ? भन्ने पर्छ ।

जेन जी पुस्तालाई आग्रह

हल्ला र सतही कुरामा लाग्नु हुँदैन । माथि भनिएझैँ मुलुकको भावि नेता, इन्जिनियर, डाक्टर, पाइलट, कृषक, सबैथोक यही पुस्ता हो । यति महत्वपूर्ण भूमिका लिएर जन्मिएका मान्छेहरूले अरूको टाउकोले होइन, आफ्नो विवेकका आधारमा विचार बनाउनुपर्छ । हल्लाको पछि नलागेर वास्तविकताको खोजी गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा सूचना र जानकारीको स्रोतको रूपमा सामाजिक सञ्जाललाई मात्रै बनाउनु वा निर्भर रहनु नयाँ पुस्ताका निम्ति सोचनीय विषय हो । नयाँ पुस्ता पुस्तकबाट टाढा हुनु राम्रो होइन । प्रश्न गर्ने र त्यसको जवाफ सुन्ने, खोज्ने, विचार उत्पादनको काममा आफूलाई क्रियाशील बनाउने पनि गर्नुपर्छ ।

धैर्यताको खाँचो

नयाँ पुस्तासँग अरू धेरै थोक छ । तर, धैर्यता कम देखिन्छ । आशावाद कम छ । निराशा धेरै छ । सत्य कुरा पत्ता लगाउने भन्दा पनि अरूले भनेको कुरालाई आधार मानेर विचार बनाउने काम नयाँ पुस्ताले गर्नुहुन्न । आजको जमना भनेको नवप्रवर्तकको जमना हो । खोज, अनुसन्धान, आविष्कारको समय हो । त्यसैले नयाँ पुस्ता लहडमा लाग्ने होइन ।

जस्तो नयाँ पुस्ताको रोजाइमा बालेन, हर्क, रविहरू परेका छन् । बालेन, रविहरूले बोकेको विचार र सिद्धान्तले मुलुकको दीर्घकालीन हित हुन्छ ? यसका बारेमा अध्ययन नगरिकन जेन जी पुस्ताले आफ्नो नेता छान्न मिल्छ ? यस्ता रिपोर्ट हेर्दा केही कुरा स्मरण गर्नुपर्छ भन्ने लाग्छ । नयाँ पुस्तालाई रवि यतिबेला सहकारी ठगी प्रकरणमा जेलमा छन्, भन्ने कुरा थाहा छ कि छैन ? यदि थाहा भएर पनि उनैलाई रोजिरहेका छन्, भने पुराना राजनीतिक दलहरूले रविमाथि प्रतिशोध साँधेको भन्ने भ्रम पो परेको छ कि ? वा नयाँ पुस्ता राज्यको अड्डा, अदालत र अख्तियारप्रति विश्वस्त छैन ? वा सतहमा जो चर्चामा आउछ, उसैले सबैथोक गर्छ भन्ने भ्रममा नयाँ पुस्ता परेको हो कि ? वा के भएको छ त ? भन्ने सवाल जन्मिन्छ । साथै नयाँ पुस्ताले विचार, सिद्धान्त, कार्यक्रम, निष्ठा, त्याग, बलिदान र संघर्षको राजनीतिका बारेमा बुझ्न नचाहेको हो ? या पढ्न नचाहेको हो ? कि स्टन्ट र सत्यबीचको भेद छुट्याउन जानेन ? पक्कै पनि यसमा केही न केही समस्या जरूर छन् ।

यो पुस्ताले वर्तमान व्यवस्थाको खातिर केही संघर्ष र दुःख गर्नु परेको होइन । तर, प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै मुलुकलाई समृद्ध बनाउने भूमिकामा भने यो पुस्ता आइपुगेको छ । यो गहन जिम्मेवारी र दायित्व जेन जी पुस्ताको काँधमा आएको छ । त्यसैले पनि जसले राज्यको विरूद्धमा चर्को स्वरले बोल्छ उही व्यक्तिलाई मन पराउने कुरालाई जायज मान्न सकिँदैन । यो पुस्ताले विगत ७० वर्षको इतिहासका पानाहरू पल्टाउनै पर्छ । यस अर्थमा उनीहरूमा धैर्यताको खाँचो छ ।

वर्तमान समयमा एउटा होइन, अनेकौँ समस्या छन् । जेन जी पुस्ताले यी वर्तमान समस्यालाई भयंकर समस्याका रूपमा बुझ्न आवश्यक छैन । आज हाम्रो मुलुक र समाजले भोगिरहेका समस्याहरू समाधान गर्न सकिन्छन् । पुराना र स्थापित राजनीतिक दलको पहिलो पुस्ताको नालायकी, असफलतालाई देखाएर व्यवस्था नै खत्तम हो कि ? भन्ने खालको बुझाइ राख्नु हुँदैन । पार्टीभित्र र बाहिर दलहरूको पारदर्शिता खोज्ने काम भइरहेको छ । राजनीतिक दलका नेताहरू जिम्मेवार हुने हो र मुलुकको निम्ति काम गर्ने हो भने आशावाद जन्मिन्छ । खासगरी सुशासन र रोजगारीका पक्षमा राज्य र राजनीतिक दलहरूले काम गर्नुपर्छ । यस अभियानमा जेन जी पुस्ताको सक्रिय सहभागिता, साथ र सहयोग अपरिहार्य छ ।

प्रतिक्रिया