कोको गफले जितिन् उपाधि

पेरिस । शनिबार भएको रोमाञ्चक फाइनलमा विश्व नम्बर १ आर्यना सबालेन्कामाथि उत्कृष्ट पुनरागमन गर्दै कोको गफले आफ्नो करियरको पहिलो फ्रेन्च ओपन महिला एकल उपाधि जितेकी छन् ।
अमेरिकी दोस्रो वरीयताकी गफले डब्ल्युटिए टुरका २ शीर्ष खेलाडीबीचको तनावपूर्ण प्रतिस्पर्धापछि ६–७ (५–७), ६–२, ६–४ को जित हासिल गर्दा इतिहास रच्न सफल भइन् ।

२१ वर्षीया गफको करियरको यो दोस्रो ग्रान्डस्लाम जित हो । यसअघि २०२३ मा उनले युएस ओपनको उपाधि जित्दा पनि बेलारुसकी सबालेन्कालाई नै पराजित गरेकी थिइन् ।
खेलमा खराब सुरुआत गरेकी गफ ‘डबल ब्रेक’ ले पछि परेकी थिइन् । तर, उनले अन्ततः आफ्नो लय समातिन् र २७ वर्षीया सबालेन्काले गरेका धेरै गल्तीको फाइदा उठाइन् ।

पहिलो २ सेटमा चलेको तेज हावाले सर्भिसमा निकै समस्या पारेको थियो, जसका कारण खेल उच्चस्तरीय नभए पनि मनोरञ्जनात्मक बन्यो र दुवै खेलाडीले कुल १२ पटक एकअर्काको सर्भिस ‘ब्रेक’ गरे ।

दर्शकदीर्घामा उनका आमाबुबा क्यान्डी र कोरी खुसीले नाचिरहँदा गफले सबालेन्कासँग आत्मीय अंकमाल गरिन् र त्यसपछि कोर्टबाट दौडिएर आफ्नो परिवारसँग खुसी साट्न गइन् ।

प्रतिक्रिया