काठमाडौं । भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको प्रतिपक्षी दलले चल्न नदिएपछि प्रतिनिधिसभा बैठक पर्सी बुधबारसम्मको लागि स्थगित भएको छ ।
लामो समयदेखि यही प्रकरणमा अवरोध गर्दै आइरहेको प्रतिपष दलले आजको बैठक पनि अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित भएको थियो । तर पछि पनि सहमति नजुटेपछि बैठक नै नबसेर सभामुख देवराज घिमिरेले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ढिलो गरी सुरु भएको थियो । तर विपक्षी दलहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका थिए ।
प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन् । वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् ।
प्रतिक्रिया