काभ्रे । आगामी जेठ ३० र ३१ गते काभ्रेको पाँचखाल राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण पार्टी प्यालेस हुन लागेको ‘राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको आयोजकले आज सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
नेपाल सोतोकान कराते डो एसोसिएसन, काभ्रेको आयोजनामा हुने उक्त प्रतियोगिता हुन लागेको हो । पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको उद्देश्य, तयारी, सहभागी प्रदेश तथा खेलाडीको संख्या, निर्णायक व्यवस्थापनलगायत विविधबारे जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा संघका प्रतिनिधिहरूले प्रतियोगिताको मूल उद्देश्य देशभरका खेलाडीहरुबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नुका साथै कराते खेलप्रतिको जनचासो बढाउनु रहेको बताए । साथै, प्रतियोगिताले काभ्रे जिल्लालाई राष्ट्रिय खेलकुद नक्शामा स्थापित गर्ने उद्देश्य पनि लिएको छ ।
प्रतियोगितामा देशका विभिन्न प्रदेशबाट पुरुष तथा महिला खेलाडीहरू सहभागी हुने आयोजकको भनाइ छ । सोतोकान करातेको प्रवर्द्धन, नवप्रवेशी खेलाडीको पहिचान र भविष्यका लागि राष्ट्रिय स्तरको टिम तयार गर्ने लक्ष्य लिएको जानकारी पनि दिइयो ।
उक्त प्रतियोगिताको कार्यक्रममा १४ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । जसमा केही आर्थिक सहयोग पाँचखाल नगरपालिकाले गर्ने बाँकी खर्च सहयोगी र उद्योगीहरु बाट सहयोग उठाइने बताइएको छ । प्रतियोगितामा सहभागी खेलाडीलाई प्रवेश शुल्क ५ सय रुपैयाँ लाग्नेछ ।
विभिन्न २६ विधामा प्रतिस्पर्धा हुने र ७ जिल्लाका खेलाडीहरू सहभागी हुने बताइएको छ । जसमा प्रथम हुनेलाई रु १० हजार र मेडल, प्रमाणपत्र दोस्रोलाई ७ हजार र प्रमाणपत्र, तेस्रोलाई ५ हजार र प्रमाणपत्र पुरस्कार राखिएको सोतोकान करातेका राष्ट्रीय प्रशिक्षक धिर्जेमान तामाङले बताए ।
पत्रकार सम्मेलनमा आयोजक समितिका राजु दनुवार, गणेश बहादुर दनुवार राममणी काफ्ले, सम्मान श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, मोहन गजुरीयल लगायतले खेल क्षेत्रको भविष्य र यसलाई थप प्रोत्साहन गर्नुपर्ने विषयमा धारणा राखेका थिए । नेपाल सोतोकान कराते डो एसोसिएसन काभ्रेका अनुसार प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, खेलप्रेमी, अभीभावक, विद्यालय र सञ्चार माध्यमको सहकार्य अपेक्षित गरिएको छ ।
प्रतिक्रिया