कम उमेरमै चर्चामा आए क्रिकेटर रौनक

बुटवल । घरेलु प्रतियोगितामा पहिलोपटक दोहोरो शतक प्रहार गर्ने रौनक श्रीवास्तव अहिले चर्चामा छन् । कपिलवस्तुको कृष्णनगर–१ को मडाह गाउँको सामान्य परिवारमा जन्मेका १५ वर्षीय रौनक श्रीवास्तवले नेपालको घरेलु राष्ट्रिय क्रिकेटमा पहिलोपटक दोहोरो शतक हानेर चर्चामा आएका छन् । अहिले अन्डर–१६ को क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर खेलिरहेका छन् ।

आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका रौनकले सुरुआती दिनमा साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिकेका थिए । अहिले पनि उनका बुबाआमा गाउँमै सामान्य कृषि व्यवसाय गरेर बसेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुबा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।

स्थानीयका अनुसार उनको पारिवारिक अवस्थाबाट क्रिकेट खेलेर प्रगति गर्ने अवस्था नभए पनि रौनकको लगातारको मिहिनेत र साहसले त्यो प्रगति पाउन सकेका हुन् । उनलाई यस खेलमा लाग्नका लागि बसिर अहमदले प्रेरित गरिरहेका छन् ।

यसअघि पनि रोनकले उनी केही समयअघि भैरहवामा जारी नेपाल टेलिकम क्रिकेट प्रतियोगिता, पोखरामा आयोजना भएको पिएम कप, तौलिहवामा आयोजित टी–२० प्रतियोगितामा आफ्नो चमत्कारिक खेल देखाइरहेका छन् ।

श्रीवास्तव प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ बलमा १६ चौका र १ छक्काको सहयोगमा ११० रन बनाएर चर्चामा आएका थिए । यसैगरी, कोसी विरुद्धको खेलमा ७० रन बनाएका थिए । त्यो भन्दा बढी सुर्खेतमा जारी यु–१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।

२० जेठमा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्धको खेलमा २१७ रन प्रहार गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरेका थिए ।

रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो । नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सम्भवतः सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलोपटक दोहोरो शतक प्रहार भएको हो । दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।

उनको छिमेकीहरू समेत रौनकको यो सफलतामा खुसी छन् । अहिले कष्णनगरबासी नै सो सफलताका कारण खुसी बनाउन व्यस्त रहे ।

प्रतिक्रिया