कर्णाली । भर्खर १७ वर्षकी सुष्मा हमाल किशोरवयमै भए पनि क्षमता र विश्वासका दृष्टिले परिपक्व युवाभन्दा कम छैनन् । हिमाली जिल्ला जुम्लाको तिला गाउँपालिका–४ स्थित साँपुल्ली गाउँकी उनी अहिले स्थानीय सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । अलि चञ्चले र खुला स्वभावकी सुष्माको परिवार आर्थिक एवं शैक्षिक हिसाबले अवस्था कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्नबाहेक अरू खासै आउँदैन उनकी आमा कमला शाहीलाई । मेलापात र नानीहरूलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिँदा उनलाई सरकारी विद्यालयमा पढ्ने छोरीको पढाइ र अनुशासन दुवैका बारेमा बुझ्ने समय हुँदैन ।
मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमाललाई पनि सामान्य लेखपढभन्दा अरू आउँदैन । घरमा ३ महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवारलाई । बुबा मजदुरीका लागि कालापहाड (भारत) गइरहने भएकाले आमाले सुष्मालगायत सबै छोराछोरीको स्याहार गर्दै आएकी छन् । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्केका छैनन् ।
निम्नवर्गीय परिवारकी सन्तानका रूपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ । तथापि अक्सर कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरूबीच उनी फरक धारणा र प्रस्ताव प्रस्तुत राख्छिन् । अलि खरो स्वभाव भएकी सुष्मालाई श्री ज्योति फाउन्डेसनद्वारा यही २७ देखि २९ वैशाखसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर बन्यो । त्यहीँबाट अहिले उनी सामाजिक सञ्जालमा चर्चित बनेकी छन् ।
छोरी सम्मेलनमा उनले खस भाषामा एकल नाटक प्रस्तुत गरिन् । कुनै पूर्वतयारीबिना नै पहिलोपटक मञ्चमा उक्लेकी उनले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाउन सकिन् । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूसहित विशेष व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो ।
मञ्चमा पुगेर खस भाषामै उनले भनिन् ‘आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरूका कुडा सुन्दिने आखिर को थिए र ? हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई । यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो ।’ तथापि सम्मेलनका सहभागीहरूलाई उनले सके उड, उड्न सक्दैनौँ दौड, दौड्न सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जासमेत दिइन् ।
मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, संघीय संरचनाअनुरूप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरूको भूमिकालाई लिएर सिंगो नेपालको राजनीतिक प्रणालीमाथि व्यंग्य गरिन् । न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरूको न्याय सम्पादन कमजोर रहेको र कति त आफँै अन्यायमा परेको सवालसमेत उनले उठान गरिन् ।
उनको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरूको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरूको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सिंगो नागरिकले दुःख पाउँदै आएका छन् । गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो ।
मञ्चमा उभिएर उनी निर्धक्कका साथ भन्दै थिइन्, ‘भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ । जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन । कुर्सीमा बस्नेहरूले नै नागरिकलाई अपमान गर्दै आएका छन् । कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन ।’
उनको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरूभन्दा कम थिएन । सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो ।
दलहरूका घोषणा, संकल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उनको सुझाव थियो । स्वर नभए पनि भविष्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उनले गरिब, निमुखाहरूको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताइन् ।
सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल सुष्मा अन्य विद्यार्थीभन्दा फरक भएको बताउँछन् । ‘सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन् । समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ । गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ । यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ’, उनले भने ।
आर्थिकरूपले परिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको सुष्माको गुनासो छ । तैपनि उनको साहस कमजोर छैन । भन्छिन्, ‘बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ । हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दुःख एवं संघर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु ।’
प्रतिक्रिया