फेरि आँपले फूल खेल्यो

Ramkumar-Elanबारीको पाटामा ठिंग उभिएको बूढो आँप मख्ख छ, मौसम उसको पक्षमा छ र ढकमक्क छ । उसले फेरि एकपटक जवानी देखाएको छ । फूल खेलेको छ । थाहा पाएदेखि नै ऊ यसरी बर्सेनि ढकमक्क फुल्दै आइरहेको छ । गाउँघरमा फलफूलको पराग्सेचन हुनलाग्दा फूल खेल्यो भन्थे । हो, यसपालि पनि आँपले परागसेचनको माधुर्य पोख्दै छ । उसो त, चैतको तेस्रो सातामै गर्मी ख्याल बढेको छैन । हप्हपी भएको छ । बूढीले सिरक दराजमा थन्क्याइसकेकी छे । यसपालि पनि हिउँ परेन । तर, आँपले फूल खेल्न ढिला गरेन । ऋतु, समय र मौसमअनुसार बेलैमा आँपले फूल खेलेपछि मनमा तर्कनाका छालहरू भंगालो हालेर उर्लिन्छन् । उसले फूलेको आँप फल्नलाई हो । साउनसम्म त आँप स्वादिला भएर पाकिहाल्छ, आँपका फूल देखेर तर्कनाको भंगालो मडारिन जरूरी थिएन । तैपनि, थामिनसक्नुका तर्कना आएपछि मनभरि आँपको फूल फुलिरहेको छ । र, म त्यही पुरानो गाउँलाई ताजासँग सम्झिरहेछु ।
cat-and-reading-man-under-aआँपले फूल खेल्दै गर्दा गाउँमा किसान गहुँबाली भित्र्याउने चटारोमा हुन्थे । खेतालालाई भ्याइनभ्याई हुन्थ्यो । बिहान चार बजेदेखि राति १० बजेसम्म पनि खेतमै परिश्रम गरेको सम्झना ताजै छ । के गर्ने, गाउँका पुरूष ऋण काढेर मुग्लानी भएका छन् । खेताला नपाएपछि बिहानदेखि गहुँको चटारोले एकैदिनमा तीन खेतालाको पर्म तिर्नुको विकल्प थिएन । दुई/चार दिन दुख गरेपछि गहुँ पनि भित्रिन्थ्यो, पर्म तिरिन्थ्यो । आमाबुबा पनि छोराले काम गर्‍यो भनेर मख्ख पर्थे । हुन त चर्को घामले टाउको फुट्लाजस्तो गरी बल्किन्थ्यो । तैपनि, श्रम गर्नै पर्ने नेपालीको नियतिलाई छल्न कि त उष्ण गर्मीमा मलेसियामा भेडा चराउन जानु पथ्र्यो, या त धुसराङ पुगेर खेताला खोजेर ल्याउनुपथ्र्यो । धुसराङका चेपाङ पनि कहाँ गाउँमा छन् र ? सबै भारतमा गएका छन् । हिमाञ्चलमा बाटो खन्न । अस्ति भर्खर गाउँकै केदार स्याङ्तानले लिएर गएको हो । हो, सहरमा कोठाअगाडि फूलमान नेवार दाईको बगैँचामा फुलेको आँपका फूलले मलाई त्यही गाउँको मेलापर्मको क्षणमा भुलाइरहेको छ । रूखको फेदमा शीतलमा ओत लाग्दै आराम गर्दा हुने कुराकानी, ती अतीतका सखा र संगिनीहरू अनि गाउँमा गरिएको मिहिनेत । साँच्चै, किसानको छोरो हुनु बर्सेनि आँपको फूल खेल्नुसँग तारतम्य जोडिने पाटो रहेछ ।
आँपको फूलले अरू स्मृति पनि उग्राइरहेको छ । रातको दस बज्नै लागेको छ । निष्पट्ट अँध्यारोमा मोबाइलको सकिनै लागेको चार्जमा लोकल एफएममा कार्यक्रम स्मृतिका छालहरू गुन्जिरहेको छ । उसले संवेगात्मक बार्गेनिङ गरिरहेको छ मेरो मनसँग । काली ओच्छ्यानमा फुस्फुसाइरहेकी छे । लाइन भएको भए कम्प्युटरका किबोर्डमा औँला दाबिरहेको हुन्थेँ । फेसबुकमा गफिँदै हुन्थेँ । चिन्दै नचिनेको पुतली मैयासँग फेसबुकमा गफिन्थेँ । युटुब र गुगलमा रम्थेँ । गाउँमा सँगै गहँु काट्नेहरू लन्डन र सिंगापुर पुगेका छन् । कोही मलेसिया र कतारतिर छन् । उनीहरू पनि फेसबुकमा भेटिन्छन् र उनीहरूका बूढीहरू पनि फेसबुकमा जिस्कन्छन् । कहिलेकाहीँ बूढीले फेसबुकमा च्याटबक्स हेरेर घुर्छे पनि । के गर्नु बूढो आँप फुलेझैँ यो मन पनि भुल्छ फेसबुकमा लाहुरेका बूढीहरूसँग कहिलेकाहीँ । स्मृतिका छाल अचाक्ली उर्लिरहेको छ । सायद म उही बूढो आँपको ताजा फूलको कथा सुनाउँथे हुँला । आँपका चिचिला चोरेर मन्दिरभित्र लुकेर नुनखुर्सानीमा चोबेर खाएको सुनाउँथे हुँला । उनीहरू एकपटक हाँस्थे कि ? गाउँमा गहुँ काट्दा थुपै्रपटक औँला रेटेको सम्झिएँ । आमाले मायाले बिस्तारै काट्नु पर्छ, काम गर्न जान्दैन भनेर मक्किएको फरियाका धजाले बाँधिदिनुभएको सम्झिएँ । आमाको मन न हो, रगत देखेपछि पिल्पिल आँसु झारेर काम नगर भन्नुहुन्थ्यो । साथीहरू आराम गर् भनेर मेलो सघाइदिन्थे । सखीहरू पनि ठेला उठेका तर मायालु हातहरूले सुम्सुम्याइदिन्थे । निश्चल, बिल्कुल स्वार्थरहित त्यो मित्रता आज सहरमा कहाँ छ बूढो आँपको रूख ? जसरी तिमी फुल्दा फूलमान नेवार दाई यसपालि दसहजारको आँप बेचिने भइयो भन्दै चोकमा गफिन थालेको तीन साता भइसक्यो ।
यो लोडसेडिङमा सहरमा भेटिने मांशहारी मायालुहरूलाई गफ दिएर ब्यालेन्स घटाउनुभन्दा आँपका फूलसँग एक्लै तर्कना गर्दा कताकता मन निकै हलुका भएर आउँछ । जता जाउँ, मायाकै कुरा, मांशहारी प्रेम, मांशहारी मायाको मौसम, मांशहारी युगल जोडीकै खबर । गाउँको खबर पनि त्यस्तै आयो, गाउँमा सँगै गहुँ काट्ने साथी मलेसिया गएको छ । त्यहाँ पनि पैसा कमाउन नसकेको उ एसएमएस पठाउँछ । बेलाबखत फोनमा रून्छ । यता विचरी उसकी श्रीमती ६ महिना पनि नबसी अकैसँग पोइला गई । जमाना किन मांशहारी मायाको पछि दौडेको होला बूढो आँपको रूख ?
मोबाइलका क्प्यिाड थिच्छु । रात ढल्किँदै छ । उसो त लाइन राति २ बजे आउँछ र म बिहान उठ्न नपाउँदै गइसक्छ । रेडियोको सबै कलसाइन रात रंगीन बनाउने सूत्र फलाकिरहेका छन् । तर कसरी बस्तीमा रंगीनता छाउनु ? गाउँकै सखीको कुरा गरौँ, एउटी थिई खुशीमाया । आफैँले मन पराएर टाढाको केटोसँग प्रेमविवाह गरेकी । लोग्नेको कमाइ पनि राम्रै थियो । खोइ, के भयो, यसपालि लोग्ने अचानक बितेछ । फुंग उडेको अनुहार लिएर माइतीमा छे । उसँग काखको टुहुरो छोरो र खुसीमाया नामबाहेक अरू केही छैन । खुसीमायालाई के सान्त्वना दिउँ ? त्यतिखेर हाँसेर कुरा गर्ने खुशीमायाको जीवनमा आएको यो दशा र उर्लंदो उमेरमा खेप्नुपरेको दुर्दशा आमनेपालीको मनोदशा हो बूढो आँपको रूख । तैपनि, तिमी फुंग उडेका निरास मनको वस्ती र मांशहारी मायाको याममा नयाँ र स्वादिलो आँप फलाउन सकिनसकी फूल खेलेर निरास यो रातमा मलाई पनि ढाडस दिइरहेका छौ । किन मान्छेले पीपलको पूजा गरे ? मलाई पीपलभन्दा तिमी महान लागिरहेको छ आज । फल पनि दिन्छौ । ढाडस पनि दिन्छौ ।
स्नातक पास हुनु कम ठूलो कुरा थिएन । गाउँघरमा बूढापाका भन्थे, अब त सेक्सन अफिसर हुनेछ । बिहे पनि मज्जैले गरेछ । कुलघरानमै परेछ । गाउँघरमा कुरा चलेर के गर्ने, घरमा चुलो बल्न गाह्रो भएपछि त्यही बूढो आँपको रूख भएको गहुँ फल्ने पाटो बेचेर उ पनि मलेसिया जान काठमाडौंमा एमआरपी बनाउन गएको छ । ऊ अन्त नपाए मलेसिया पनि नगइ नछाड्ने रे । नेपाल बसेर पनि के गर्ने ? महिनामा ७ दिन चक्काजाम, ८ दिन बन्द, ९ दिन पनि श्रम गर्न पाइन्न । बाँकी दिन पनि तनाव, अभाव र महँगीको राप । अँगालोभरिका श्रीमती र काखका घुतुमुने छोरो छाडेर बिदेसिन लाग्दा उसको मन कति रोएको होला ? तैपनि सन्तानको भविष्यका लागि निधार मरिचझैँ खुम्च्याएर जाने तयारीमै छ । मन थामेर बूढाबा रातो अक्षता लिएर दैलोमा उभिँदै टीका लगाउन आतुर छन् । यता, श्रीमती डाँको छाडेर रोइरहेकी छे । उता, रातो देखेर लोग्ने गुमाएकी खुशीमाया पनि पिँढीमा घोप्टो परेर रोइरहेकी छे †
यस्तै कुरा सम्झेर आँपको फूलसँग मन बहलाउन खोज्छु । मन न हो, सबैको मन कहाँ उस्तै हुन्छ र ? कोहीकोही यी सब छाडेर सहरमै रमेका पनि छन् । पैसा कमाएर बसेका पनि छन् । तर, जसको मन खुशी हुन्छ, उ धनी पनि हुन्छ भन्थे । धेरै धनीसँग पनि संगत गरेको छु, उनीहरू अझै खुसी छैनन् । बैंकको ब्याजको पिरलो सुनाउँछन् । अरूकी श्रीमतीसँगको रमाइलोले घर उजाडिन लागेको सुनाउँछन् । धेरै मनसँग साउती
मारेको छु । उनीहरू कत्ति पनि सन्तुष्ट छैनन् । असन्तुष्टहरूको भिड बढिरहेको संसारमा मेरै मात्र सखा र सखीहरू, अनि गाउँ मात्र दुखमा परेको पनि त होइन बूढो आँपको रूख ।
यो आँप किन फूल खेल्छ यसरी ? वसन्त ऋतु आउन लागे पनि सबैको जिन्दगी कहाँ वसन्तमय छ र ? उजाड यो मौसमी र मांशहारी संसारमा खुरूखुरू यो बूढो आँप फुलिरहेको छ निस्वार्थ । तर्कनाहरूको जवाफ चैँ किन दिन्नौ बूढा आँपको रूख ? मध्यरातमा मलाई निदाउन नदिने तिम्रो सुवासिलो कर्तुतमै थुप्रै तर्कनाहरू आम नेपालीको समस्याको प्रतिनिधि बनाएर मलाई किन अरू तड्पाउँछौ प्रिय बूढो आँप ?

प्रतिक्रिया