देश र जनताको माया नभएकाको हातमा सत्ता पुग्न गएकोले मुलुक चिन्ताजनक अवस्थामा छ । देशका होनाहार युवालाई देशिसिन वाध्य यिनैले पारेका हुन् । देशमा उद्योगधन्दा, व्यापार व्यवसाय, आम्दानीका स्रोतहरू सुक्दै गएको अवस्था छ । देशमा उद्योग धन्दा नभएकाले शिक्षित जनशक्तिले आफूले सिकेका सीप स्वदेशमा प्रयोग गर्न पाएनन् । उनीहरूले आफ्नो योग्यता र अनुभव विदेशमा प्रयोग गर्न वाध्य भए । नेताहरू विदेशीको इशारामा चलिरहेका छन् । वैदेशिक नीति समान देखिँदैन ।
दलका प्रमुख नेताहरू विदेशीको दलाली गरेर पैसा आर्जन गर्ने धन्दामा लागेको देखिन्छ । विभिन्न सामाजिक संघ संस्था, अदालत, प्रहरी प्रशासन, विभिन्न कार्यालयहरूलाई मुठीमा राखेर प्रमुख नेताहरूले विभिन्न आफू अनुकूल निर्णय र हैकम चलाइरहेका छन् । सोझा जनतालाई विभिन्न प्रलोभनमा पारेर भोट बटुलीरहेका छन् । गरिब जनता आज खाए भोलि के खाउँ भन्ने अवस्थामा छन् ।
२ देशको तरुलको रूपमा बसेको सानो देशलाई ठुलाठुला देशले थिचोमिचो गरिरहेको अवस्था छ । राज्यका विभिन्न संयन्त्रहरू विचौलियाको हातमा पुगेका छन् । न्याय पाउने ठाउँमा आर्थिक चलखेल हुने गरेको छ । गरिब जनता न्यायिक क्षेत्रबाट विमुख हुनुपर्ने अवस्था छ । टोलटोलमा गुन्डागर्दी भइरहेको अवस्था छ । यदि राम्रो व्यवस्था पाएको भए नेपाल स्विजरल्यान्ड बन्ने थियो । खाली दलहरूले व्यवस्थाको नाममा जनतालाई ठगिरहेका छन् । अब पनि जनतालाई ठग्न गणतन्त्रको वकालत गरिरहेका छन् । त्यसैले अब जनता सधैँ झुक्किने छैनन् । हामी जनतालाई जगाइरहेका छौँ ।
राजाले अब राज्यको जिम्मेवारी सम्हाल्न अनिवार्य भयो । देशमा भ्रष्टाचार भइरहेको बेला, जनताले आँशु बगाइरहेको बेला, विचौलियाहरू अझ मजबुत भएको बेला, गरिब जनताले न्याय नपाएको बेला, विकास निर्माण ठप्प भएको बेला, विदेश सम्बन्ध बिग्रँदै गएको बेला राजा ज्ञानेन्द्र सक्रिय हुनु अनिवार्य भइरहेको थियो । अहिले सक्रिय हुनुभयो । यो जनतालाई चित्त बुझिरहेको छ ।
पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई जोडेर नेपाल निर्माण गर्नुभएको सर्वविदिदै छ । उहाँको आफ्नै दरसन्तान हुनुहुन्छ राजा ज्ञानेन्द्र । आफ्ना पुर्खाले आर्जन गरेको देश बिग्रिन लाग्दा राजा ज्ञानेन्द्र सक्रिय हुनु स्वभाविकै हो । अब नेताहरूको विदेशमा रहेको सम्पत्ति राष्ट्रियकरण गरी विकास निर्माणमा लगाउनु पर्छ । १५ जेठदेखि राजसंस्थावादीहरू निर्णायक आन्दोलनमा उत्रिँदै छन् यो स्वभाविक हो ।
अब गणतन्त्रका नेताहरूको हातबाट सत्ता खोस्ने दिन आउँदै छ । हाम्रो आन्दोलन निर्णायक रूपमा अघि बढ्दै छ । जनताले चाहे भने कुनै पनि बेला राजसंस्था फर्किने छ । राजसंस्था पुनःस्थापित नगरी हाम्रो आन्दोलन रोकिँदैन । राजाले इमानदारीपूर्वक जनधनको क्षति नहोस् भनेर त्यतिबेला राजगद्दी त्याग्नु भएको हो । अब त्यसरी नै शान्तिपूर्ण रूपमा दलहरूले राजालाई श्रीपेच फिर्ता दिनुपर्छ ।
युवा शक्तिलाई स्वदेशमै काम गर्न नसक्ने वातावरण निर्माण गर्ने दलका नेताहरू नै हुन् । सोझा निमुखा जनतालाई झुक्याएर भ्रष्टाचार गर्ने पनि यिनीहरू नै हुन् । कलकारखाना यिनैले बेचेका हुन् । जताततै अराजकता यिनैले गर्दा भएको हो । हरेक विभिन्न निकायहरूमा यिनै गणतन्त्रवादीले लुटिरहेका छन् । त्यो लुटेको सम्पत्ति मात्र विकास निर्माणमा खर्च गर्ने हो भने देशको समृद्धि निश्चित छ । जनतालाई सस्तो आश्वासनमा भुलाएर देशबाट लुटेको धन स्विजरल्यान्डमा राख्ने गरेको अब जनताले बुझिसकेका छन् ।
अवस्थामा जनता राजाको पक्षमा संगठित र आन्दोलित हुनुपर्छ । जबसम्म जनताले बुझ्दैनन् तबसम्म सधैँ देश र जनताको भलो चिताउने राजसंस्था फर्किंदैन । तबसम्म गणतन्त्रवादीहरूले देश यसरी नै लुटी नै रहनेछन् । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, रोजगारी क्षेत्रलाई मजवुत पार्न पनि राजासहितको व्यवस्था आवश्यक छ । अब सनातन हिन्दुहरू पनि आन्दोलित हुन आवश्यक छ । यदि उनीहरू आन्दोलित भए भने राजसंस्था र हिन्दुराज्य एकै पटक पुनस्र्थापना हुनेछ ।
देशमा आउने विभिन्न मेसिन, पार्टपूर्जा, कालिगढ तथा कच्चा पदार्थहरू नेपालको बोडरबाट भन्सार तिरेर आयात गरिन्छ । त्यही सामग्रीको बढी मूल्य पर्ने हुन्छ तर त्यहि मुख्य भन्दा सस्तोमा माल सामान छिमेकी राष्ट्रबाट चोरी निकासी भएर आउँदा सस्तोमा आउने भए पछि देशका उत्पादनकर्ताहरू धरासाही हुँदै टाट फल्टेको अवस्था छ ।
यसै गरी देशको कृषिमा काम गर्ने देशका युवा शक्ति विदेशी रहेका छन् । देशमा उत्पादन नभएपछि विदेशबाट ल्याउनु पर्छ । त्यसले मूल्य बढ्नु स्वभाविक हो । त्यसमाथि विदेशी खाद्यान्न नुन, तेल, चामल, फलफूलमा समेत केमिकलको प्रयोग गरेर मिसावट गरिएको पाइन्छ । त्यसको फलस्वरूप जनतालाई विभिन्न रोग लगाइरहेको छ । गरिब जनता नुन, तेल, चामल लगायतका वस्तु किन्न सक्ने अवस्था छैन । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्र मूकदर्शक भइरहेको देखिन्छ ।
युवा शक्तिको विदेश पलायन, विभिन्न क्षेत्रमा महँगो कर, नेताहरूलाई जनताप्रति माया नहुनु भ्रष्टाचार बढ्दै जानु, नेताका नातागोताले विभिन्न ठाउँमा पेवाको रूपमा सम्पूर्ण ठाउँमा कुकृत्य गर्नु, कुनै पनि ठाउँमा अनुगमन नहुनु जस्ता कारणले देश विकास नभएको हो ।
राम्रो शिक्षाका लागि विदेश जानुपर्ने र यही पनि निजी स्कुल क्याम्पसमा पढाउनुपर्ने वाध्यता रहेको छ । नेपालमा उत्पादन भएका जडीबुटीहरू सस्तोमा विदेश पैठारी हुनु तर विदेशबाट महँगोमा औषधि किन्न परिरहेको छ । त्यसैले स्वदेशमै औषधिजन्य नरम नीति ल्याउनुपर्छ । प्राकृतिक उपचार र प्राकृतिक शिक्षा नेपालमै हुनु आवश्यक छ । त्यसैले राजा नआई शैक्षिक नीति फेरिएला जस्तो देखिँदैन । किनकी हिजो राजाको शासनकालमा देशको अवस्था धेरै राम्रो थियो ।
१५ चैतदेखि हुन लागेको आन्दोलनको नेतृत्व राप्रपाले गरिरहेको छ । राप्रपा स्थापनाकालदेखि राजावादी र हिन्दुवादी पार्टी हो । हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना नभएसम्म राप्रपाले सडक र सदनबाट आन्दोलित जारी राख्नेछ । राप्रपाले सम्पूर्ण संयन्त्र आन्दोलनमुखी बनाइसकेको छ । अब राप्रपाको नेतृत्वमा जनताकै बलमा राजासहितको प्रजातन्त्र बहाली हुँदै छ । राप्रपाले टोल–टोल, वडा–वडा, क्षेत्र–क्षेत्र र जिल्ला–जिल्लाका जनतालाई राजसंस्थाबारे बुझाउँदै आएको छ ।
देश र जनताको माया गर्ने, शिक्षित व्यक्ति, अनुभवले परिपूर्ण भएको, स्थानीय जनताको समस्या बुझेको, निःस्वार्थ भावनाले देश बचाउनु पर्छ भन्ने असल भावना बोकेको व्यक्ति देशलाई आवश्यक छ । राप्रपाका नेताहरू यो सूचीमा पर्नुहुन्छ । देश बचाउनका लागि राजावादी सनातन हिन्दुवादी र राष्ट्रवादीहरूलाई राप्रपाको नेतृत्वमा हुने आन्दोलनमा सरिन हुन आह्वान गर्छु ।
(कार्की राप्रपाको केन्द्रीय सदस्य हुन् ।)
प्रतिक्रिया