अतितकै भ्रममा बाँचेर लखेटिने कि समयमै सुध्रिने ?

राजनीतिज्ञहरूको हार्ड पावर र सफ्ट पावर कसरी सकिन्छ भन्ने कुराको उदाहरण हो शरदचन्द्र शाहको सिंगापुर पलायन र ज्ञानेन्द्रको नागार्जुन प्रस्थान । मैले यसलाई सन्दर्भ बनाउन किन प्रयत्न गरिरहेको छु भने हाम्रा नेताहरूले जनताको आक्रोश कसरी अभिव्यक्त हुन्छ र त्यसले कस्तो परिणाम ल्याउँछ भन्नेतिर ध्यान दिएको म देख्दिनँ । राजनीतिक कार्यकर्ताहरूबाहेक आमजनतालाई राजनीतिक व्यवस्था कस्तो ठिक हुन्छ र कस्तो बेठिक हुन्छ भन्ने कुरासँग उति धेरै चासो रहन्न । किनभने दैनिक समस्यासित जुध्दैमा फुर्सद नहुने जनतालाई यस्ता कुरामा अल्झिने समय पनि हुन्न । उनीहरूको सरोकार भनेको रोजीरोटी, शिक्षा, र स्वास्थ्यजस्ता सवालहरूमा केन्द्रित रहेको हुन्छ्र ।

घटनाक्रम

कान्छाराम तामाङलाई पदच्युत गरियो किनभने उनी बिजुलीको बक्यौता उठाउनुपर्छ भन्नेमा थिए । यो माफियाहरूको हित विपरीत थियो । विद्या भट्टराईको गोप्य राजिनामालाई सुनियोजित तरिकाले सार्वजनिक गरेर बाहि¥याउने काम भयो किनभने उनले तिनीहरूको इच्छा मुताविक काम गरिरहेकी थिइनन् र शिक्षकको माग पूरा गराउनु पर्छ भन्ने पक्षमा थिइन् । कुलमान घिसिङलाई पनि बर्खास्त गरियो किनभने उनले पनि कांग्रेस र एमालेको स्वार्थअनुसार काम कहिले पनि गरेनन् । अनेक तिकडम गरेर कतै चर्चामा नै नरहेका मानिसलाई गभर्नरमा नियुक्त गरिएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमार्फत दैनिक ५० लाख असुली गरेर नेपाली कामदारहरूलाई बाहिर पठाउने नेटवर्क नै चलाइएको छ र त्यसमा गृहमन्त्रीकै संलग्नता रहेको छ भन्नेकुरा समाचारमा आएको छ्र । केही दिन पहिले प्रधानमन्त्रीले ‘आइ एम दि स्टेट’को भंगीमामा, सपथ खानेहरू राज्य (मेरा)का दास हुन् भनेजस्तो गरी बसीबसी सपथग्रहण गराएर देशको ऐन, नियम, कानुन परम्परा, मर्यादा, नागरिकको आत्मसम्मानको खुल्लमखुल्ला धज्जी उडाउने काम गरे । यसबाट सिंगो देश आहत, मर्माहत र अपमानित हुन पुगेको छ ।

काग कागतिर, बकुल्ला बकुल्लातिर भन्छन् । कांग्रेसको निम्ति गोरखाका राजा फेरि दयालु भएर प्रकट भएछन् । हृदयेन्द्र राजा भए मान्य हुने भनेर प्राइममिनिस्टर इन वेटिङले आफूलाई कागको कित्तामा खडा गरिसके । सरकार प्रमुखको कित्ता कुन हो, कागकै हो कि छुट्टै बकुल्लाको कित्ता छ ? कि सहमतीय कित्ता हो ? राजाका मान्छेहरू सडकमा उत्रिन तम्तयार भएर बसेका छन् । राजेन्द्र लिंग्देनले त आउने १५ गते भाग्नलाई हेलिकोप्टरकै जोहो गरिदिने भनेर भनिरहेका छन् । नवराज सुवेदीले राजनीतिक दल, नागरिक समाज आदिलाई उनीहरूको आन्दोलनमा सहभागी हुन चिठी लेखिरहेका छन् । जनता पनि यो भन्दा त हिजोकै व्यवस्था पो ठिक हो कि भनेर चिया पसल, बसभित्र, विवाह समारोह, भेटघाट, अन्तरक्रियामा, पारिवारिक जमघटमा खुलेर चर्चा गर्न सुरु गरिसकेका छन् । हामीजस्तालाई पो ज्यान जोगाउन मुस्किल हुनेजस्तो देखिँदै छ्र ।

सामाजिक राजनीतिक यथार्थ

हिजोका दिनमा मोटरसाइकलले चक्काजाम जस्तै गराएर ‘आइ लब यु केपी बा, वि वान्ट केपी ओली’जस्ता गगनभेदी नारा लगाउँदै हिँड्नेहरू अहिले बाटोमा देखिन छोडेका छन् । हिजोआज प्रधानमन्त्री सहभागी भएका औपचारिक कार्यक्रमहरूमा एकातर्फ जनसहभागिता न्यून देखिन थालेको छ भने अर्कोतर्फ तिनै सहभागीहरूले उनकै सामुन्नेमा अत्यन्तै अनपेक्षित खराब र तानाशाही प्रवृत्तिका नेताहरूको विरुद्धमा लाग्ने नाराहरू लगाएको सुनिन थालेको छ । यो संयोग त पक्कै नहोला । यो भनेको सिंगो एमाले पार्टी र व्यक्तिगत रूपमा प्रधानमन्त्रीको हार्डपावर र सफ्टपावर गुमिरहेको भन्ने कुराको संकेत हो । प्रधानमन्त्रीका धारणालाई, उहाँका आशयको सप्रसंग व्याख्या गर्ने काम सारथीहरूको हो तर तिनीहरूप्रति पनि विश्वास गरेको देखिन्न ।

जनता उठेपछि केही लाग्दैन

सीमित ठुला व्यापारी, ठेकेदार, बिचौलिया कारोबारी र नेताहरूको बीचको गठबन्धनले कसरी देशको संसाधनमाथि ब्रम्हलुट गरिरहेको छ भन्ने कुरा कसैबाट छिपेको छैन । देशको एक मात्र दूरसञ्चार संस्थान बिचौलियाको जिम्मामा छ्र । सेयर मार्केट, राष्ट्र बैंक उनीहरूकै जिम्मामा छ । शिक्षा, स्वास्थ्य उनीहरूकै जिम्मामा छ । वैदेशिक रोजगार, कर्मचारीको सरुवा उनीहरूकै जिम्मामा छ । जलस्रोत उनीहरूकै नियन्त्रणमा छ । सडकलगायत अन्य ठुला परियोजनाहरूको ठेक्कापट्टा उनिहरूकै कब्जामा छ । देशको स्रोत–साधनमाथि यिनै सीमित मानिसहरूको एकक्षत्र कब्जा छ्र । टेरामक्स कान्ड हुन कसरी सम्भव भयो ? एयरपोर्टमा दैनिक ५० लाख उठाउने सेटिङ कसरी सञ्चालन हुन सक्यो ? ५ प्रतिशत कमिसन माग्ने सिइओ कसको स्वार्थमा नियुक्ति गरियो ? जम्मा ४ महिना कार्यकाल बाँकी भएकालाई हताएर नयाँ ल्याउने खण्डखातिर किन आइलाग्यो ? पौडेललाई गभर्नर किन बनाएको हो भनेर जनता जान्न चाहान्छन् । तर चित्तबुझ्दो जबाफ दिनसक्ने कोही छैनन् ?

जनता किन छुब्ध छन् ?

जनताले चाहेको सुखसयल होइन । जनताका मागहरू साधारण छन् । खान लाउन पुग्ने अवस्था छैन । छोराछोरीलाई पढाउन सक्ने अवस्था छैन । महँगीले बजारमा पस्नै सकिन्न । जवान छोराछोरीहरू काम नभएर कुबाटोमा लाग्ने हुन् कि भन्ने चिन्ता थपिएको छ । कुटोकोदालो गरेर उब्जाएको सागसब्जी बेच्न लग्यो बजारमा मूल्य पाइन्न । सडकपेटीमा बसेर बेच्न पाए केही मूल्य पाइन्थ्यो तर राज्यले त्यसो गर्न दिन्न । अरू त अरू जनतालाई बिहानमा चिनी हालेकोे कालो चिया खान पनि सकस छ । केटाकेटीको जुत्ता, मोजा, विद्यालयको ड्रेस किन्न पनि नसक्ने अवस्था छ तर अर्कोतिर हे¥यो भने आफैँले भोट दिएर चुनेर पठाएका मान्छेहरूको अवस्थामा असामान्य उन्नति देखिन्छ । जनताको अगाडि उनीहरूको फूर्तिफार्ती नै बेग्लै हुन्छ । उनीहरूको पहिरन, चालढाल, जीवनशैली, बोलीवचन, व्यवहार आदि कुराहरूलाई हेर्दा तिनीहरू जनताबाट धेरै टाढिएका पाइन्छन् । जनताप्रति संवेदनशील, उनीहरूको अवस्थाप्रति चिन्तित र उनीहरूको हित हुने काम गर्नुपर्छ भन्ने सोच पाइन्न । कोही पनि देश र समाजप्रति जिम्मेवार छन् भनेर मान्न सकिन्न । यस्तो भएपछि जनताले किन विरोध गर्दैनन् त ? अथवा यस्ताको पक्षमा किन रहिरहन्छन् ? पुरानै व्यवस्था नै पो ठिक हो कि अथवा पुरानै मानिसहरू नै पो ठिक थिए कि पो त भन्ने मनोविज्ञान यसरी बनिरहेको छ ।

यी यस्ता सवालहरू हुन् जसले एकातिर राजावादी तथा दक्षिणपन्थीहरूलाई यो व्यवस्था नै खराब हो भनेर भन्न सजिलो पारिदिएको छ्र । ललिता निवास, गिरीबन्धु टि स्टेट, टेरामक्स, कुलमान, कान्छा तामाङ, विद्या भट्टराई, गभर्नर जस्ता मुद्दा पेस गरेर यो व्यवस्था र व्यक्ति दुवै खराब हुन् भन्ने भाष्य बनाउन केही हदसम्म सफल बनिरहेका छन् । जनतालाई यस्तो परिस्थितिले यी मान्छेहरू पनि खराब नै हुनेरहेछन् भनेर मान्न कर लगाइरहेको छ । जनता उठेपछि सेना र पुलिसले पनि केही गर्न सक्दैनन् । सरकारका सबै अंगहरूले काम गर्न छोडछन् । पञ्चायत कसरी ढल्यो भनेर नबुझ्ने को होलान् र यो नेतृत्वमा ? प्रधानमन्त्रीले अराष्ट्रिय तत्व भनेर गालिगरेको भोलिपल्टै पञ्चायत ढलेको थियो ।

बालेनको एक ट्विटले मिनेटमै लाखौँको प्रतिक्रिया बटुलिरहेको छ । हर्क र अरूहरूले पनि सानो हर्कत गर्दा पनि ठुलो प्रतिक्रिया उत्पन्न भइरहेको छ । यो भनेको यिनीहरूको राजनीतिमा हार्ड र सफ्ट पावर बढ्दै गरेको संकेत हो । रंगीन क्रान्ति कसरी सम्पन्न गराइन्छ भनेर बताउनु पर्ला र ? युक्रेन, श्रीलंका, बंगलादेशका उदाहरण अगाडि नै छन् । एक्लो बालेन र एक्लो हर्कले राजनीतिक डिस्कोर्स बदल्नसक्ने हैसियत बनाइसकेको कुरा सहजै अनुमान गर्न सकिन्छ । परिस्थिति फेद कुहिएको कुभिन्डोको जस्तो बन्दै गइरहेको अवस्थामा अदृश्य तागतले राजनीतिक समीकरण नै फेरबदल गराइदियो भने के होला ? भारतले एकपक्षीय युद्धविराम गर्न किन बाध्य भयो भनेर बुझ्ने हो भने अन्तर्राष्ट्रिय गतिशीलता बुझ्न सकिन्छ ।

यसरी चल्दैन

अबको राजनीति खोक्रो सिद्धान्त र कहिल्यै पूरा नहुने नाराहरू फलाकेर, घोषणापत्रमा लेखेर चल्दैन । कांग्रेस र बामपन्थीहरूको ३० वर्ष लामो भ्रष्ट राजनीतिले सबैलाई वाक्कदिक्क पारेको छ । अबको राजनीतिलाई इनोभेसनसित नजोडी, रोजगारसित नजोडी, आम्दानीको सुरक्षाको ग्यारेन्टी नगरी, राम्रो सडक नबनाई, इन्टरनेट र एआईमा पोख्त जनता तयार नपारी, न्याय र स्रोतमा समान पहुँचजस्ता कुराहरूको सुनिश्चिता नगरी चल्दैन । तर आजको विडम्बना के हो भने राजनीतिले यो सबै कुराहरूबाट युवा पुस्तालाई, फ्युचर जेनेरेसनलाई एकदमै टाढा राखेको छ । देशमा कामको ठुलो समस्या छ । आममान्छेको जिन्दगी रोकिएको अवस्थामा छ । महँगीले जनताको कम्मर भाँचेको छ । राज्यका सबैजसो निकायमा भ्रस्टाचार चरम छ । आफ्नो भविष्यप्रति भरोसा हुने कुनै आधार नपाएर नै हो युवाहरू देशबाट पलायन भइरहेको । यो वर्ग नै देश विकासको संवाहक शक्ति हो र देशको दिशा र दशा यिनीहरूमा अडेको छ । यो शक्ति भड्किन गयो भने देशले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । अहिलेको कुनै पनि दलहरूसँग राजनीतिक लफ्फाजीबाहेक देशको बिकास गर्ने आशालाग्दो रोडम्याप छैन । १ जना नागरिकलाई आफ्नो परिचय खुलाउन ८–८ वटा परिचयपत्र भिडाउने शासक र प्रशासकहरूबाट देशले आशा गर्नु पनि खासमा मुर्खता नै हो ।

अन्तमा,

हिन्दीमा एउटा भनाइ छ ‘जब जागा तब सबेरा ।’ अतितको जनमतको भ्रममा बाँचेर लखेटिने र सक्किने कि समयमै सुध्रिएर आफ्नो र आन्दोलनको, जनताको सपनाको रक्षा गर्न मूल मार्गमा फर्किने ?

प्रतिक्रिया