काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । कार्यालयको तथ्यांकअनुसार ३ अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । चालु आवको १० महिनामा १३ हजार ८८६ दशमलव ७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिए । गत आव २०८०÷०८१ को सोही अवधिमा २ अर्ब ५२ करोड १० लाख १४ हजार बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३ दशमलव ६० प्रतिशतले घटेको छ । चालु आवको १० महिनामा ६ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०÷०८१ को सोही अवधिमा ६ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
भेनियर सिट ७९ प्रतिशत, फलामे पाता ७ दशमलव ७०, सिआरसिट ६२ दशमलव २० प्रतिशत र मोलासिस निर्यातमा ८४४ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यसैगरी सिमेन्ट क्लिंकर ३ दशमलव ९० प्रतिशत, छुर्पी १६ दशमलव २० प्रतिशत, अदुवा ५९ दशमलव ४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।
मेची भन्सारबाट झण्डै १३ अर्ब राजस्व संकलन
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँका अनुसार चालु आवको वैशाख महिनासम्म १४ अर्ब १४ करोड ४२ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो । उनले भने, ‘गत आव २०८०÷०८१ को सोही अवधिमा राजस्व १५ अर्ब ८ करोड ६४ लाख २० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ ।’
कार्यालयको तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात् ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट २४ करोड १० लाख ३० हजार, कफीबाट १९ करोड ३६ लाख ९० हजार, दलहनबाट २० करोड २९ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी हुमागाइँले जानकारी दिए ।
यहाँबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ । सोही अवधिमा ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया