‘हाइप्रोफइल केस’ बन्दै भिजिट भिसा प्रकरण

गृहमन्त्रीकै नाम जोडिएपछि धमाधम कर्मचारीको सरुवा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेतको नाम जोडिएसँगै यो विषयमा हाइप्रोफाइहरुसंग जोडेर हेर्न थालिएको छ । भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै रहेको केही तथ्य पनि बाहिरिएको छ । जसकारण पनि यसलाई अहिले हाइप्रोफाइल केसको रुपमा हेरिएको छ । भिजिट भिसा प्रकरणमा जाडिएका व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा हुनु, अख्तियारले छापा मार्ने सुइँको पाएपछि हतार हतार अध्यागमन विभाग प्रमुखको सरुवा गर्नु जस्ता विषयले पनि यो प्रकरणको जरा माथिसम्मै फैलिएको हुनुसक्ने अनुमान लगाउन सुरु गरिएको छ ।

भिजिट भिसामा सेटिङ गरी मानव तस्करसँग साँठगाँठ गरेर ठुलो मात्रामा रकम लेनदेन हुनेगरको सूचना पाएपछि गत बुधबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

यो प्रकरण बाहिर आएपछि विमानस्थल अध्यागमन कार्यालयबाट गहृमन्त्रालयले १५ जना कर्मचारीको सरुवा गरिसकेको छ । जसमा उपसचिव तीर्थराज भट्टराईसहित १५ जना अन्य कर्मचारीहरु छन् । भट्टराईलाई गत बुधबार नै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो भने सोहीदिन अन्य ६ स्थानमा अख्तियारले छापा मारेको थियो ।

यो प्रकरण बाहिरिएसँगै गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ भने सर्वाेच्च अदालतमा रिटसमेत परेको छ । अधिवक्ता युवराज सफलले गृहमन्त्री लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमासमेत उजुरी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस विषयमा आफू पहिले नै जानकार रहेको बताएका छन् । प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको आफूलाई जनकारी भएको एक सार्वजनिक कार्यक्रममा बताएको हुन् । ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौँ र करोडौँको घोटाला हुने गरेको छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया