म्याड्रिड । ब्राजिली फरवार्ड भिन्सियस जुनियरबारे बनेको नयाँ नेटफ्लिक्स डकुमेन्ट्रीमा भएको दाबीलाई लिएर स्पेनको फुटबल क्लब भ्यालेन्सिया र रियल म्याड्रिडबीच विवाद बढेको छ । भ्यालेन्सियाले कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ ।
क्लबले २ वर्षअघि आफ्नै घरेलु मैदान मेस्टाया स्टेडियममा भिन्सियसमाथि भएको जातीय दुव्र्यवहारको घटनालाई डकुमेन्ट्रीले ‘गलत ढंगले प्रस्तुत गरेको’ भन्दै आपत्ति जनाएको हो । भ्यालेन्सियाका अनुसार डकुमेन्ट्रीमा ठूलो संख्यामा क्लब समर्थकले भिन्सियस माथि जातीय टिप्पणी गरेको देखाइएको छ, जुन वास्तविकताभन्दा फरक छ । क्लबले डकुमेन्ट्री निर्माण कम्पनीसँग तुरुन्त लिखित रूपमा यो गलत कुरा सच्याउन माग गरेको छ ।
भिनिसियसका प्रतिनिधिले मंगलबार यो विवाद नेटफ्लिक्स र डकुमेन्ट्री निर्माण कम्पनीसँग भएको स्पष्ट पारेको छ । यसमा भिन्सियसको कुनै संलग्नता नरहेको उसको दाबी छ ।
डकुमेन्ट्रीमा सामाजिक सञ्जालबाट लिइएको एउटा भिडियो समावेश छ । सो भिडियोमा मेस्टाया स्टेडियममा समर्थकहरूको ठुलो समूह चिच्याइरहेको देखिन्छ । भिडियोलाई ‘मोनो’ (स्पेनी भाषामा बाँदर) भनेर सबटाइटल दिइएको छ । तर, भ्यालेन्सियाको दाबीमा समर्थकहरू वास्तवमा ‘टोन्टो’ (स्पेनी भाषामा मूर्ख) भनेर चिच्याइरहेका थिए ।
क्लबले ट्विटरमा लेखेको छ, ‘भ्यालेन्सिया समर्थकहरूमाथि लगाइएका अन्यायपूर्ण र झूटा आरोपका कारण क्लबले मेस्टायामा भएको घटनालाई लिएर डकुमेन्ट्री निर्माण कम्पनीसँग तुरुन्त लिखित माग गरेको छ । सत्य र हाम्रा समर्थकप्रतिको सम्मान कायम हुनुपर्छ । क्लबसँग कानुनी कारबाही गर्ने अधिकार सुरक्षित छ ।’
यद्यपि, सन् २०२३ मा भएको सो खेलमा भिन्सियसमाथि जातीय दुव्र्यवहार गर्ने केही समर्थक पक्राउ परेका थिए । ३ जना समर्थक जातीय दुव्र्यवहारमा दोषी ठहर भएका थिए । उनीहरूलाई ८ महिनाको जेल सजाय सुनाइएको थियो ।
अदालतमा उनीहरूको मुद्दा चल्दाको क्रममा उक्त भिडियो देखाइएको थियो । सो भिडियो वास्तविकतासँग मेल खाँदैन भन्ने प्रमाणको रूपमा पेस गरिएको थियो ।
सो खेलको क्रममा भिन्सियस भावुक हुँदै रोएका थिए । सुरुमा उनले खेल जारी राख्न चाहेका थिएनन्, तर पछि मैदान फर्किएर जातीय विभेदविरुद्ध लडिरहने संकल्प व्यक्त गरेका थिए । त्यसबेला रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भ्यालेन्सिया समर्थकहरूले भिन्सियसमाथि जातीय दुव्र्यवहार गरेको भन्दै आरोप लगाएका थिए । यद्यपि, पछि उनले माफी माग्दै भनेका थिए, ‘पूरै रंगशालामा उपस्थित समर्थक होइनन्, केही हुन् ।’
ब्राजिलियन स्टार भिन्सियस रियल म्याड्रिडमा आवद्ध छन् । रियल म्याड्रिडलाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउनसमेत उनको महत्वपूर्ण भूमिका थियो । यो वर्ष भने रियल म्याड्रिड सही लयमा छैन । यस सिजन रियल म्याड्रिड उपाधिहीन हुने लगभग पक्का भइसकेको छ ।
प्रतिक्रिया