झण्डै ७३ प्रतिशतले बढ्यो नेपालको निर्यात

१० महिनामा २ खर्ब १७ अर्बको नेपाली वस्तु निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपाली बस्तु निर्यात दर बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) को तुलनामा चालु आवमा ७२ दशमलव ७१ प्रतिशतले निर्यात दर बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको हो । अघिल्लो वर्षको १० महिनाको अवधिमा भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यी हुन धेरै निर्यात भएका बस्तु

१० महिनाको अवधिमा सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । ७८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको ३७ करोड ४० लाख ८५ हजार लिटर तेल भारतमा निर्यात भएको छ । त्यस्तै, दोस्रोमा सनफ्लावर तेल निर्यात भएको छ । १० अर्ब ९ करोड ४९ लाख रुपैयाँ बराबरको ५ करोड ५७ लाख ७९ हजार लिटर भारतमा निर्यात भएको छ ।

यस्तै अलैँची ६ अर्ब ६६ करोड २५ लाख रुपैयाँ बराबरको ३६ लाख ८० हजार किलो भारतमै निर्यात भएको छ । त्यस्तै १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको ३९ लाख ५३ हजार लिटर पाम आयल भारतमा निर्यात भएको छ । त्यस्तै ५ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ बराबरको २७ लाख १७ हजार स्क्वायर मिटर विभिन्न प्रकारको कार्पेट अमेरिकामा निर्यात भएको छ ।

आयात दर १३ दशमलव ११ प्रतिशतले वृद्धि

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको १० महिनामा आयात दर पनि १३ दशमलव ११ प्रतिशतले बृद्धि भएको छ । यो अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु नेपालमा आयात भएको छ । अघिल्लो वर्षको यही अवधिमा भने १३ खर्ब ३ करोड ३५ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यी हुन धेरै आयात भएका वस्तु

धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । विभागका अनुसार वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्ब ८४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको हो ।

यसैगरी तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । चौथोमा ब्बाइलर मेसिन तथा उद्योग सामग्री १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिकजन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।


त्यत्स्तै, २३ अर्ब १० करोड ५७ लाख रुपैयाँका ९ हजार ८५९ वटा विद्युतीय कार, जिप तथा भ्यान (इभी) आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा इभीहरूमध्ये अधिकांश चीनबाट आएका छन् । यस अवधिमा चीनबाट ७ हजार ३५३ वटा इभी आयात भएका हुन् ।

व्यापार घाटा १२ खर्ब ५६ अर्ब

चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिमा करिब ७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०÷०८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया