कानुन व्यवसाय : केही प्राचीन कालीन सभ्यताहरू

एकपक्षिय एवं पासविक ढंगले होइन अर्को पक्षको कुरा पनि सुनी खुला पारदर्शी, वैज्ञानिक पद्धतीको प्रयोग गरी तर्क संगत तथा विधिसम्मत निर्णय गर्नु पर्छ । न्याय एवं कानुनको आधार तर्क र विवेक हुन्छ ।

रुद्रप्रसाद पाठक

न्याय र अन्याय छुट्याउँदा संयोगबस हुने खराबी वा गल्तीलाई रोक्न प्राचीनकालदेखि नै कानुन व्यवसायको विकास भएको पाइन्छ । न्याय सही ठाउँमा पार्न तथा न्यायको चक्षु जस्तै भएर सही सदमार्ग देखाउन सच्चा सिपाहीको रूपमा विद्वान कानुन व्यवसायीको भूमिका हुन्छ । न्यायिक मूल्य मान्यता आचार एवं विधिशास्त्रको सही व्याख्या विश्लेषण तर्क प्रस्तुत गर्ने विद्वान व्यक्तिलाई न्यायको आँखा हुन पनि भनिएको हो ।

हरेक बार एसोसिएसनको भवनको अगाडि दुइटा आँखाको मूर्ति कुदिनुको कारण पनि सायद कानुन व्यवसायीको यस्तै भूमिका भएर नै हुनसक्छ । यसकारण सिद्धान्त, विधि वा दर्शनको वर्णन गर्ने कुरा मात्र होइन अनुसन्धानको माध्यमबाट विधि सिद्धान्त वा दर्शनको प्रयोग एवं रचनाको इतिहास बताउनु पनि आवश्यक भएको हो । यसैले कानुन व्यवसायी कुनै विचारधारा र गलत समाजिक मान्यताको बन्दी हुँदैनन् ।

समाज सुधारक वा अभियन्त्रण गर्ने साधक हुन्छ । कुनै कालखण्डमा कानुन व्यवसायीलाई साधु वा सभासद, ऋषि भन्नुपर्ने कारण पनि सायद यही थियो होला । यसैले विषयगत तथा कार्याविधिगत विज्ञताका कारणबाट मात्र नभई न्यायको स्वतन्त्ररूपले नविनतम सृजना एवं आविष्कार गरी स्रष्ठा तथा सर्जकको रूपमा स्वतन्त्र सक्षम निष्पक्ष एवं निर्भिक न्यायालयको अस्तित्व बचाउन कानुन व्यवसायी संसारभर सफल भएका हुन् । न्यायपालिकालाई स्वतन्त्र भन्नुपर्ने कारण पनि यही हो । यसै कारणले संसारका अधिकांश उच्च एवं सर्वोच्च अदालतमा न्यायको नवीनता तथा सिर्जनशीलता उमार्न कानुन व्यवसायीको नियुक्ति अपरिहार्य मानिएको हो । मानवअधिकारका रक्षक, स्वतन्त्र न्यायालयका सृजनाकार र सामाजिक न्यायका लागि समाजको अभियन्त्रकका रूपमा कानुन व्यवसायी संसारभर चिनिएका हुन् ।

सदाचार, सदगुण, सुसंस्कार, पवित्रता, शुद्धता, निष्पक्षता स्वतन्त्रता, साहस, एवं सक्षमताको धरातलमा उभिएर न्यायको सिर्जनाकार वा आविष्कारका रूपमा अर्काको जीवन मर्यादा बचाउने पवित्र अनि स्दिग्ध सेवाभावबाट प्रोरित देवदूतले गर्ने पेसाको रूपमा प्राचीनकालदेखि कानुन व्यवसायलाई लिएको पाइन्छ ।


एकपक्षीय एवं पासविक ढंगले होइन, अर्को पक्षको कुरा पनि सुनी खुला पारदर्शी, वैज्ञानिक पद्धतीको प्रयोग गरी तर्क संगत तथा विधिसम्मत निर्णय गर्नुपर्छ । न्याय एवं कानुनको आधार तर्क र विवेक हुन्छ । तर्क चिकित्सा एवं विवेक चिकित्सारहित व्यवस्थालाई न्यायशील एवं न्यायोचित भन्न सकिँदैन भन्ने मान्यताको बिकास जब भयो, तबदेखि नै कानुन व्यवसायको सुरुआत भएको मान्न सकिन्छ । कानुन, न्याय मानवअधिकारका विश्वव्यापी सर्वस्वीकृत मान्यताको सैद्धान्तिक विकास र विस्तार प्राचीन कालदेखि नै भएता पनि कानुनको विश्लेषण गरी तर्क र विवेकको प्रस्तुतिको माध्यमबाट न्याय स्थापना गर्ने परिपाटीको विकास केही अपवाद बाहेक व्यावसायिक रूपमा भएको पाइँदैन ।

मानव सभ्यताको समग्र इतिहासको अवलोकन गर्दा कानुन व्यवसाय संगठनिक एवं व्यावसायिक रूपमा धेरैपछि मात्र देखा परेको छ । राज्यको गठन सँगसँगै उत्पत्ति भएको कानुनी व्यवस्थाभन्दा पहिला न्यायका सर्वकालीन मूल्य मान्यता सघन रूपमा विकसित भए पनि व्यावसायिक रूपमा ती मूल्य मान्यता, सिद्धान्त एवं दर्शनको प्रचलन भने धेरैपछि मात्र भएको देखिन्छ ।

यद्यपि वैदिक एवं प्राचीनकालमा वेदग्य, ऋषि, विप्र, नियोगी, धम्म पाणिकको नाम उल्लेख छ । मध्यम कालमा सभ्य, धर्माधिकार, प्राडविवाक, पण्डित, सभासद् वा साधु, प्रतिहार, दौवारिक, धर्मप्रवक्ताको नाम उल्लेख छ । आधुनिक कालमा आएर मात्रै क्रमशः बोकाहा, वकिल, कानुन विशेषज्ञ, तर्कचिकित्सक एवं कानुन व्यवसायी भनी सम्बोधन गरिएको पाइन्छ ।

वेदका वा धर्मशास्त्रका ज्ञाता भएकाले वेदग्य, ज्ञानको तपस्या गरेका ज्ञानी वा ऋषि, विधिको विशेष ज्ञान प्राप्त उत्तम चरित्र भएको विप्र, धम्म पाणिक भनेको धर्म पालनाका सूत्रहरू लिपिवद्ध गर्ने सिपाही भन्ने बुझिन्छ । शुक्रनीतिमा उल्लेख भएको नियोगी शब्दले सम्पूर्ण मानवीय सभ्यता जानेको सज्जन सभ्य, पक्ष विपक्षसँग सोधी निष्पक्ष विवेक प्रयोग गर्ने व्यक्ति जनाउँछ । सभामा बसेर असल एवं हितयोग्य कुरा गर्ने भएकाले वकिललाई सभासद वा साधु भनिन्थ्यो । निवेदकको कुरा टिपी परमाशनमा पेस गर्ने भएकोले प्रतिहार भनिन्थ्यो । शास्त्रको कुरा उल्लेख गरी राजा कहाँ जाहेर गर्नेलाई दौवारिक भनेर सम्बोधन गरिएको पाइन्छ । यसरी प्राचीनकालमा वकिल धम्म पाणिकका रूपमा रहेका थिए अर्थात न्यायका सिपाहीको रूपमा थिए ।

नेपालको कानुन प्रणाली प्रायः हिन्दु धर्मशास्त्रबाट प्रभावित छ । हिन्दु धर्मशास्त्रको मान्यता अनुरूप नै वैदिक एवं प्राचीनकालमा वेदग्य एवं धर्मग्यको रायलाई नै प्रमाणको रूपमा ग्रहण गरिन्थ्यो । किनकी मनुस्मृति एवं यज्ञवाल्क्य स्मृति समेतका ग्रन्थले पनि धर्म र न्यायको मूलग्रन्थ वेदलाई नै मानेको पाइन्छ । ‘वेदो उखिलो धर्ममुलम स्मृतिशिले चतहिद्धामः । आचारश्यैव साधुनात्मनः रन्तुष्ट्रि रवेचनः ।’ अर्थात् मनुले धर्मको स्रोतको रूपमा सम्पूर्ण वेद वेदक्यको परम्परा एवं व्यवहार सज्जन आचरणयुक्तहरूको आचार एवं आत्म सन्तुष्टिलाई लिएका छन् ।

उनले मुद्दामा गरिने कुनै पनि निर्णय धर्मशास्त्रको आधारमा मात्र होइन कि तर्कसंगत, विवेकसम्मत आधारमा पनि गर्नुपर्छ भनेका छन् । महाभारतकालीन युद्धमा अश्वस्थामाको बारेमा युद्धिष्ठिरसित जानकारी लिँदा सत्यवादी युद्धिष्ठिरले पनि ‘नरो वाः कुञ्जरो वा अश्वस्थामा हतोहतः’ भन्ने अष्पस्ट वाक्य बेले । जसका कारण युद्धिष्ठिरजस्ता सत्यवादीले पनि नरक देख्नुपरेको कुरा शास्त्रमा उल्लेख छ ।

न्याय सभासद भएर इजलासमा न्याय सम्पादनमा सहयोगीको भूमिका निर्वाह गर्ने व्यक्तिहरूले आफ्नो कर्तव्य एवं गरिमा शास्त्रमा उल्लेख भएअनुसार पूरा गर्नुपर्ने नियम थियो । ‘नसाःसभा यत्र न सन्ती वृद्धाः वृद्धाः नतेयनःवदन्ती धर्ममः धर्मो नबई यत्र चोनास्ती सत्यम्, सत्यमनः तदयच्क्षल नानु विधमः’ अर्थात धर्म पढेका, अनुभवले खारिएका वृद्ध व्यक्तिहरू नभएको सभा, न्यायसभा नै होइन । सत्य छैन भने त्यो धर्म होइन । यसरी सभामा बसेर धर्म स्थापनाका लागि सत्य बोल्नुपर्ने कुरा हिन्दु धर्मशास्त्रले निर्देश गरेको छ ।

न्याय दिँदा सन्देह उत्पन्न भएको अश्वस्थामा वेद एवं धर्मशास्त्र जानेकालाई सोधेर कार्य गर्न यज्ञवाल्यक्यले निर्देश गरेका छन् । वेदवेदान्त धर्मशास्त्रका ज्ञाताले जुन निर्णय दिन्छन् त्यो मान्य हुने बताएका छन् । सायद यसैकारण वर्तमान समयमा पनि भारतीय बार एसोसिएसनको भित्तामा ‘धर्म स्थापनार्थायः’ भन्ने शब्द कुदिएको हुन सक्छ ।

यसरी हिन्दु धर्मशास्त्रमा कानुन व्यवसायीसम्बन्धी उल्लिखित व्यवस्था प्राचीनकालदेखी नै भएको देखिन्छ । धर्म अधर्म छुट्याउँदा धर्मशास्त्रको गलत व्याख्या हुनबाट बचाउन वेदग्यको राय लिइन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ । ऋग्वैदिक कालमा अनेक ऋषि महिषर््ीिहरूले कठोर तपस्याको बलबाट वैदिक ज्ञानलाई स्वयं साक्षात्कार गरी सत्यको खोजीका लागि पुस्तौँ उत्सर्ग गरेका छन् । यसको कारण न्यायको पूर्णत्वका लागि विद्वानहरूको राय अनिवार्य एवं अकाट्य हुन गएको हो ।

नियुक्त नभएका कसैले पनि विवादास्पद मुद्दामा कुनै कुरा बोल्नु हुँदैन । नियुक्त भएकाहरूले बोल्नुपर्दा कुनै पनि पक्षतिर नलागी नझुकी ठिक ठिक कुरा मात्र बोल्नु पर्छ । राजाद्वारा अदालतमा सल्लाहकारको रूपमा नियुक्त भएका व्यक्तिको काम, कर्तव्य तथा नियुक्त नगरिएको तर आफ्नो राय मात्र व्यक्त गर्ने कानुन विशेषज्ञको रायमा भने भिन्नता पाइन्छ । न्यायाशनमा सल्लाहकारको रूपमा नियुक्त गरिएकोलाई वर्तमान सरकारी वकिलको रूपमा लिन सकिन्छ । भने पछिल्लोलाई आधुनिक अर्थमा अदालतको सहयोगी अर्थात एमिकस क्युरीको रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया